विज्ञ भन्छन्- यही अवस्था रहे काठमाडौँमा ‘महामारी’ फैलन सक्छ-Sutra News

विज्ञ भन्छन्- यही अवस्था रहे काठमाडौँमा ‘महामारी’ फैलन सक्छ

मंगलबार, २४ जेष्ठ २०७९

मंगलबार, २४ जेष्ठ २०७९

केही सातादेखि काठमाण्ठू महानगरपालिकासहित उपत्यकाका विभिन्न स्थानको फोहोर व्यवस्थापन नहुँदा कतिपय ठाउँमा दुर्गन्ध फैलिन थालेको गुनासो आइरहेका बेला त्यसले जनस्वास्थ्य समस्या निम्तिने र “महामारी” फैलिन सक्ने विज्ञहरूले बताएका छन्।



फोहोरका कारण विभिन्न खालका कीटाणु र जीवाणु फैलिने सम्भावना बढ्ने ‍जनस्वास्थ्यविद् तथा चिकित्सकहरू बताउँछन्।

स्वास्थ्यका हिसाबले संवेदनशील समूहका व्यक्तिहरूमा स्वास्थ्यसम्बन्धी जोखिम बढी भएको उनीहरूको भनाइ छ।

सहरमा थुप्रिएको फोहोर व्यवस्थापन हुन नसकिरहेका बेला चिकित्सकहरूले विशेष सतर्कता अपनाउन उपत्यकावासीलाई आग्रह गरेका छन्।

यद्यपि अधिकारीहरूले सोमवार एउटा सहमति भएको र त्यसअनुरूप उपत्यकाभित्र कैयौँ सातादेखि उठ्न नसकेको फोहोर अब केही दिनमै व्यवस्थापन गरिने बताएका छन्।

तर उपत्यकाको फोहोर व्यवस्थापन गरिने क्षेत्रमा पुन: अवरोध उत्पन्न भएको भन्ने विवरणहरू पनि आइरहेका छन्।

अस्पतालमा बिरामी

उपत्यकाका केही अस्पतालका चिकित्सकहरूसँग बीबीसीले गरेको कुराकानीका आधारमा पछिल्ला साताहरूमा कतिपय सरुवा रोगका बिरामीहरू ती अस्पतालमा बढेको पाइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. किजन महर्जनका अनुसार केही सातादेखि उक्त अस्पतालमा झाडापखाला, रुघाखोकी र ज्वरो भएका बिरामीको सङ्ख्या बढेको देखिएको छ।

उनले भने, “केही दिनदेखि त्यस्ता बिरामीको सङ्ख्या बढेको देखिन्छ। यो मौसम बदलिएको कारणले पनि हुन सक्छ।”

उनले बिरामी भएर आएका कतिपयको परीक्षण गर्दा आउँको समस्या देखिएको जानकारी दिए।

उनका अनुसार वर्षा मौसममा फोहोरका कारण हुने रोगका बिरामी प्राय: बढ्ने गर्छन्।

साथसाथै लामो समयदेखि फोहोर नउठेकाले पनि फोहोरका कारण सर्ने रोगहरू बढेको हुनसक्ने कतिपय चिकित्सकको भनाइ छ।

काठमाण्डूको एउटा प्रमुख बाल अस्पताल कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. जगत्‌जीवन घिमिरेले पनि त्यस्तै सङ्केत गरे।

उनले भने, “काठमाण्डूमा प्रदूषण निकै छँदैछ, त्यसले हुने समस्या छँदैछन्। फोहोर नउठ्दा र पानी पर्दा फोहोरबाट हुने सङ्क्रमण निकै बढ्न सक्ने देखिन्छ।”

उनका अनुसार केही सातादेखि उक्त अस्पतालमा पनि श्वासप्रश्वास र भाइरल झाडापखालाका बिरामीको सङ्ख्या बढिरहेको छ।

त्यसको एउटा कारण पनि फोहोर हुनसक्ने उनको भनाइ छ।

 

‘महामारी फैलिन सक्छ’

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी फोहोर व्यवस्थापन नहुँदा त्यसले धेरैखाले सङ्क्रमण फैलाउन सक्ने बताउँछन्।

“यस्तो अवस्थाले त झाडापखाला, रगतमासीजस्ता सङ्क्रमण बढेर महामारी पनि फैलिन सक्छ,” उनले भने।

“फोहोर थुपारेर राखेको स्थानमा गन्ध फैलिन्छ, त्यसबाट पनि कीटाणुहरू फैलिन्छन्। फोहोर नजिकै फलफूल/तरकारी पसलहरू छन्। अन्य पसलहरू पनि छन्। ती पसलका खानेकुरा र सामानबाट कीटाणुहरू घरघरमा पुग्न सक्छन्।”

उनका भनाइमा झिँगा, साङ्ला, मुसा, काग आदिका माध्यमबाट पनि फोहोरमा रहेका कीटाणुहरू फैलिन सक्छन्।

जोगिन के गर्ने?

मरासिनी फोहोरबाट हुने सङ्क्रमणबाट बच्नका लागि पहिलो सर्त भनेको त फोहोरको व्यवस्थापन नै हुनुपर्ने बताउँछन्।

तर अहिले चाँडै व्यवस्थापन हुने जस्तो नदेखिएकाले उपत्यकावासीहरू पनि सतर्क हुनुपर्ने उनको भनाइ छ।

“बच्नका लागि मानिसहरूले पनि सतर्कता अपनाउनुपर्‍यो। घरमा राम्ररी बोरामा वा प्लास्टिकमा बाँधेर राख्ने तथा पानी नपस्नेगरी राखेर उठ्न थालेपछि मात्र बाहिर निकाले हुने हो,” उनले भने।

बालरोग विशेषज्ञ घिमिरे बालबालिकालाई फोहोरबाट सर्न सक्ने रोगबाट जोगाउन उनीहरू बाहिर गएर आएपछि साबुनपानीले हात धोइदिनुपर्ने बताउँछन्।

उनले भने, “खानाबाट सर्ने रोगबाट बच्नका लागि खेलेर आएपछि आमाबाबुले राम्ररी साबुनपानीले हात धुन लगाउनुपर्छ।”

“खानेपानी पनि बाहिर नखाने र घरमा पनि उमालेर खाने, बाहिर राखिएका खानेकुरा नखाने तथा बालबालिकालाई दुर्घन्धित स्थानमा खेल्न नदिने गर्नुपर्छ।”

भिडिओ क्याप्शन सुरु हुँदैछ,

घरमै फोहोर व्यवस्थापन कसरी गर्ने?

फोहोर व्यवस्थापनका लागि कस्तो प्रयास

काठमाण्डू महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार नुवाकोट जिल्लामा पर्ने फोहोर व्यवस्थापन क्षेत्रका बासिन्दाहरूले विभिन्न माग राख्दै अवरोध गरेपछि करिब एक महिनादेखि काठमाण्डूको फोहोर त्यहाँ विसर्जन गर्न समस्या उत्पन्न भएको छ।

उनका अनुसार यसबीचमा केही दिन फोहोर त्यस क्षेत्रमा पठाउन सकिएको भए पनि लगभग एक महिनादेखि नै अवरोध कायम रहेको उनको भनाइ छ।

पछिल्ला दिनहरूमा नवनिर्वाचित महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले फोहोर व्यवस्थापनका लागि विभिन्न पहल गरेको महानगरले जनाएको छ।

त्यसै क्रममा सोमवार विभिन्न सरोकारवालाबीच एउटा विस्तृत सहमति भएको र त्यसले फोहोर व्यवस्थापन सहज बनाउने साहको दाबी छ।

उनले मङ्गलवार आफ्नो फेसबुक पेजमा उक्त सहमतिपत्रलाई सार्वजनिक गर्दै अब “फोहोर उठ्ने” जनाएका छन्।

फोहोर छुट्ट्याउन आग्रह

बालेनले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि सहयोग गर्न पनि महानगरवासीलाई आग्रह गरेका छन्।

उनले उक्त पोस्टमा लेखेका छन्, “फोहोर उठ्नु मात्रै यसको समाधान होइन। अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ। हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुदैन।”

उनले महानगरवासीलाई स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्ट्याउन आग्रह गरेका छन्।

त्यसो गर्नका लागि महानगरले सहयोग गर्ने तथा फोहोर उठाएपछि दुईखाले फोहोरलाई कहिल्यै नमिसाउने त्यसमा उल्लेख गर्दै स्रोतमा फोहोर नछुट्ट्याइए त्यस्तो फोहोर नउठाइने चेतावनी पनि दिएका छन्।

शाहले फेसबुकमा लेखेका छन्, “… नछुट्ट्याएको फोहोर महानगरले सङ्कलन गर्ने छैन र फर्काइदिने छ। यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर सङ्कलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ।” बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट