वर्षा राउत भन्छिन्- ‘महाजात्रा’मा परिवार, मित्रता र समाजको जात्रा छ-Sutra News

वर्षा राउत भन्छिन्- ‘महाजात्रा’मा परिवार, मित्रता र समाजको जात्रा छ

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । अभिनेत्री वर्षा राउत सफल अभिनेत्रीमा पर्छिन् । म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी वर्षा दिन प्रतिदिन व्यस्त बन्दै छिन् । विषेशगरी ‘छक्का पञ्जा’ अभिनयका कारणले चौतर्फी चर्चा बटुल्न सफल भएकी उनी सफल ब्यानरका फिल्ममा काम गर्ने हिरोइन मध्य एक रहँदै आइरहेकी छिन् ।



दर्शक तथा निर्माताको रोजाइमा पर्न सफल भएकी उनले निर्वाह गरेका धेरैजसो भूमिका दर्शक माझ लोकप्रिय छन् । सन् २०१६ मा उनले तीन हिट फिल्ममार्फत दर्शकलाई मनोरञ्जन दिइन् । उक्त वर्ष उनले ‘नाईं नभन्नु ल ४’,‘छक्का पञ्जा’ र ‘जात्रा’ मा काम गरेकी थिइन् ।

यसरी एक पछि अर्को फिल्म बक्स अफिसमा हिट भएसँगै फिल्म र म्यूजिक भिडियो दुवैमा उनको खोजी अझ ज्यादा बढ्न थाल्यो । यसरी डिमान्ड बढ्ने क्रममा उनले थुप्रै फिल्ममा काम गरिन् तर वर्षाको अहिले सम्म धेरै सफल फिल्मको लिस्टमा ‘जात्रा’ शृङ्खला छ ।

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’बाट दर्शकको औधी माया पाएकी वर्षा अब फेरी सोही टिमको साथमा ‘महाजात्रा’ मार्फत आउँदै छिन् । यही चैत्र ११ गतेबाट फिल्म ‘महाजात्रा’ देश तथा विदेशमा एक साथ प्रदर्शनमा आउँदै छ ।

यति वेला महाजात्रा टिम नै प्रचारप्रसारको लागि भाग दौडमा व्यस्त छन् । यस्तैमा वर्षा विभिन्न मिडियासँग अन्तरवार्ता दिनमा व्यस्त देखिन्छिन् ।

सुरुवातमा फिल्म ‘जात्रा’मा थिएटरबाट आएका विपिन कार्की र वर्षा जोडीको रूपमा देखिएसँगै काम गर्न कतिको सहज भयो भन्ने प्रश्नमा वर्षा यसो भन्छिन्, ‘सुरुमा मैले पनि कसरी काम गर्ने होला ? भन्ने नसोचेकी होइन । तर, फिल्मको लागि भेटघाट भयो । हामीले वर्कसप गर्‍यौँ । प्रेम विवाह गरेको क्यारेक्टर भएकाले हामी बीचमा कुराहरू शेयर गर्न लजाउनु हुँदैन भनेर त्यही अनुसार वर्कसप गर्‍यौँ । त्यसले गर्दा मलाई सेटमा निकै सहज भयो । अहिले त हामी फिल्मी परिवार नै भइसकेका छौँ’, उनी भन्छिन् ।

त्यसतै गरी फिल्ममा तपाईँको प्रेम विवाह भयो तर प्रेम प्रसङ्ग निकै कम छ नि भनेर सोधिएको प्रश्नमा वर्षा भन्छिन्, ‘हाम्रो प्रेम कथालाई ‘जात्रै जात्रा’मा देखाइएको थियो । यसलाई दर्शकले पनि रुचाउनुभयो । हाम्रो परिवार नै सङ्घर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटोलाई चित्रण गर्नुपर्ने छ । फेरी मूल कथा नै जात्राको हो । त्यस कारण यसमा चाहिने जति प्रेम छ ।’

पहिलो फिल्ममा हिरोइन भन्नु भएपछि दोस्रोमा श्रीमती र तेस्रोमा आमा बन्नु भयो नि भनेर सोधिएको प्रश्नमा उनी भन्छिन्, ‘त्यस्तै भयो । तर, मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित नै आएकी थिएँ । म हिरोइन मै सीमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न की भन्ने नै लागेन ।’

वर्षाको बुझाइमा ‘महाजात्रा’ के हो भनेर प्रश्नमा ‘महाजात्रा’ को एउटा पारिवारिक र सामाजिक फिल्म हो । हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिङ्गो नेपालको प्रतिनिधित्व गर्छ । यो स-परिवार हेर्नुपर्ने फिल्म हो’, उनी भन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट