नहर अलपत्र पारेर ठेकेठार अलप-Sutra News

नहर अलपत्र पारेर ठेकेठार अलप

मंगलबार, १ कार्तिक २०७९

मंगलबार, १ कार्तिक २०७९

कुन्दुरटार–पालुङटार सिँचाइ आयोजनाको नहर निर्माण जिम्मा लिएका निर्माण व्यवसायी (ठेकेदार) सम्पर्कविहीन भएका छन्। काम अलपत्र पारेर अलप भएका ठेकेदारलाई आयोजनाको कार्यालयले तीव्र रूपमा खोजी गरिरहेको छ। मुहानदेखि ३४ सय मिटरसम्मको पहिलो खण्ड र त्यसदेखि ६३ सय मिटरसम्मको दोस्रो खण्डको अन्नपूर्ण कन्ट्रक्सनले जिम्मा लिएको हो। अलप भएका ठेकेदार राजेन्द्र सुनार हुन्। सुनारले २ करोड ११ लाखमा नहरका दुई खण्ड निर्माणको ठेक्का सम्झौता गरेका थिए।



‘निर्माण पूरा नभएको आयोजनाको म्याद २०८० असार मसान्तसम्म थप्ने सरकारले निर्णय गरेको छ,’ कुन्दुरटार पालुङटार सिँचाइ आयोजनाका सब इन्जिनियर विकल विनोद चौधरीले भने, ‘म्याद थपका लागि कागजात माग्न निर्माण व्यवसायीलाई खोजी गर्‍यौं तर सम्पर्कमा छैनन्।’ असारयता नहरमा काम नभएको र ठेकेदार पनि सम्पर्कमा नआएको उनले बताए। २०७८ जेठ १० गते यो प्याकेजको काम सक्नुपथ्र्यो। पहिलो प्याकेजको २८ र दोस्रोको २१ प्रतिशत मात्रै भुक्तानी भएको छ। पहिलोको करिब ४५ र दोस्रोको २८ प्रतिशत भौतिक प्रगति भएको सबइन्जिनियर चौधरीले बताए।

६३ सयदेखि ७८ सय मिटरसम्मको निर्माण जिम्मा रुद्रेश्वर कन्ट्रक्सनले लिएको छ। करिब १ करोडको ठेक्का लागेको उक्त खण्डमा ४५ प्रतिशत काम सकिएको छ। २०७९ वैशाखमा ठेक्का सम्झौता भएको यो खण्डको म्याद २०८० वैशाखसम्म रहेको सब इन्जिनियर यादवले बताए। ‘तेस्रो प्याकेजको गति तीव्र छ तर पहिलो र दोस्रोमा काम नभएपछि तेस्रो प्याकेज मात्रै बनेर पानी चलाउन सकिँदैन,’ उनले भने। पहिलो र दोस्रो प्याकेजमा काम हुने हो भने छेपेटारसम्म पानी चलाउन सहज हुने उनले बताए।

सम्पर्कविहीन भएका निर्माण व्यवसायीबारे जिल्ला प्रशासन कार्यालयमा पनि पत्राचार गरिएको र विभागमा पनि जानकारी गराइएको कुन्दुरटार पालुङटार सिँचाइ आयोजनाका प्रमुख दिनेश आचार्यले बताए। ‘काम गराउन निर्माण व्यवसायीलाई खोजी गर्दा सम्पर्कमा आउँदैनन्, हामीले धेरै प्रयास गर्‍यौं तर काम सन्तोषजनक हुन सकेको छैन,’ उनले भने। काम लामो समय रोकिए कारबाहीको प्रक्रियामा जाने उनले बताए।

निर्माण कम्पनीले भने नहरसम्म सडक पहुँच नभएको, कामदारका लागि बस्नेखाने ठाउँको समस्या रहेको, बजार र बस्तीबाट नहर टाढा भएकाले कामदार टिक्ने नसकेको बताउँदै आएको छ। दरौंदी नदीबाट पानी ल्याएर ५ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण सुरु भएको कुन्दुरटार सिँचाइ आयोजना थालिएको २० वर्ष भयो। गोरखा नगरपालिका–१०, ११ र १२ मा पर्ने खेतीयोग्य जमिन सिँचाइ गर्ने गरी २०५९ सालमा सुरु भएको उक्त आयोजनाको काम २०६२ सालबाट रोकियो। २०७६ सालमा गोरखामा आयोजना कार्यालय स्थापना गरेर काम सुरु भएपछि पनि कामको गति सुस्त छ।

२०५९ सालमा प्राविधिकहरूले करिब ५ करोड लागतमा नहर निर्माण सम्पन्न गर्न सकिने स्टमेट गरेका थिए। अहिले आयोजना सम्पन्न गर्न ५० करोड लाग्ने अनुमान कार्यालयले गरेको छ। आयोजनाको नहर स्थलमा घर, टहरालगायत संरचना बनेकाले पूरा गर्न चुनौती रहेको स्थानीय बताउँछन्। बनेको संरचना भत्काउँदा मुआब्जा दिनुपर्ने, सडक, जग्गाको संरक्षण गरेर मात्रै नहर बनाउनुपर्ने माग स्थानीयले राख्दै आएका छन्। सिँचाइ आयोजना सञ्चालन नहुँदा अहिले छेवेटार, दसकिलो, कुन्दुरटारलगायत ठाउँका जमिन बाँझो छ। खेतीयोग्य जमिनलाई इँटाभट्टा र व्यावसायिक पशुपालन, कुखुरापालनमा प्रयोग गरिएको छ भने केही जमिन बाँझो बस्दा चौर बनेको छ। नागरिक दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट