दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान-Sutra News

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानले दैनिक ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् ।



चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरूले सो मात्रामा दूध बिक्री गर्न नपाएको संघले जनाएको छ । संघका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दूध नउठ्दा किसानले समस्या झेल्नु परेको हो ।

उनले दूध नउठ्दा समस्या भएको बताए । साउन यताको भुक्तानी ५२ करोड पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ ।

दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दूध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दूध बिक्री हुन नसकेको हो ।

सरकारले किसानको पैसा दिने सहमति गरे पनि अहिलेसम्म किसनाले पैसा नपाएको र दूध समेत उठ्न छाडेको उनले गुनसो गरे । “सहमति भएको छ । तर कार्यान्वयनमा आएको छैन,” उनले भने, “सहमतिअनुसार आइतबारबाट दूध उठ्नु पर्ने भए पनि आजसम्म दूध उठेको छैन ।”

दूध लैजाने उद्योगहरुले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उनले उपभोक्ताले महंगो मूल्यमा दूध खानु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट