टिकट काटेर बसेको एमालेलाई प्रचण्डले देखाउलान् त भ्रष्टाचारीलाई कारवाही गरेको ‘फिल्म’?-Sutra News

टिकट काटेर बसेको एमालेलाई प्रचण्डले देखाउलान् त भ्रष्टाचारीलाई कारवाही गरेको ‘फिल्म’?

आइतबार, २४ बैशाख २०८०

आइतबार, २४ बैशाख २०८०

संसदको जारी अधिवेशनमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेले भुटानी शरणार्थी प्रकरणमा कारवाही अगाडि बढाएर आफूले भ्रष्टाचारीलाई कारवाही गर्न ट्रेलरमात्र देखाएको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले ट्रेलर होइन, पूरै फिल्म देखाउन भनेको छ।



एमालेले आफूहरू प्रधानमन्त्रीको फिल्म हेर्न टिकट काटेर बसेको बताएको छ।

आइतबार संसद बैठकमा बोल्दै नेकपा एमालेका प्रमूख सचेतक पदम गिरीले प्रचण्डलाई फिल्म देखाउन भनेका हुन्।

शनिबार एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिलेको घटनाक्रम ट्रेलरमात्रै भएको फिल्म देखाउन बाँकी रहेको बताएका थिए।

‘अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँडिरहनुभएको छ। हामीले यो भ्रष्टाचारका सवालमा, यो ट्रेलरमात्रै हो फिल्म त आउन बाँकी नै छ भनेर,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्नका निम्ति आतुर छौं। हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौं। टिकट काटेर बसेका छौं फिल्म देखाउनुस्’, गिरीले भने।

संसदमा थप बोल्दै गिरीले गत भदौ २२ गते नै एमाले सांसद पार्वती रावलले राष्ट्रियसभामा भुटानी शरणार्थीको विषय उठान गरेको र त्यतिबेला पनि गठबन्धन सरकारले कुरा नसुनेको दाबी गरे।

‘हामी भन्न चाहन्छौं। जुनसुकै हिसाबले जुन सुकै क्षेत्रमा भएका भ्रष्टाचारहरू हुन्। अनियमितताहरू हुन्। कानुनलाई हातमा लिने कुराहरू हुन्। यी सबै विषयलाई छानविनको दायरामा ल्याउनुपर्छ, कानुनको दायरामा ल्याउनुपर्छ। र एउटा निष्पक्षता कायम गर्नुपर्छ। मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा हामी दृढताका साथ हिजो देखिनै उभिएका छौं,’ उनले अगाडि भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट