ज्ञानेन्द्र शाह राजाबाट हटेको झन्डै डेढ दशकपछि ‘राष्ट्रनिर्माता’को सालिकमा माल्यार्पण गर्न किन गए-Sutra News

ज्ञानेन्द्र शाह राजाबाट हटेको झन्डै डेढ दशकपछि ‘राष्ट्रनिर्माता’को सालिकमा माल्यार्पण गर्न किन गए

मंगलबार, २७ पौस २०७८

मंगलबार, २७ पौस २०७८

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूलद्वारबाहिर अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलवार अपराह्ण माल्यार्पण गरेका छन्।



त्यहाँ पूर्वराजाका शुभेच्छुक साथै राजतन्त्रलाई समर्थन गर्ने दलका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।

उनले यस पटक सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको जानकारी शाहको सचिवालयले सोमवार नै दिएको थियो।

पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा शाहले एक विज्ञप्ति जारी गर्दै “नेपाल विदेशीहरूको खेलमैदान बनेको” टिप्पणी गरेका थिए।

तत्कालीन गोरखा राज्यमा विक्रम संवत् १७७९ साल पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका थिए।

गणतन्त्रकालमा शासनसत्ता सञ्चालनमा राजनीतिक दलका नेताहरूले त्रुटि कमजोरी कायम राख्दा आफ्ना पुर्खाको जन्मजयन्तीको अवसर पारेर पूर्वराजाले व्यवस्थाप्रति प्रश्न उठाउने मौका पाएको कतिपय राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

ज्ञानेन्द्र शाहको धारणाको महत्त्व कस्तो

त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक लोकराज बराल ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई महत्त्व दिन नहुने बताउँछन्।

उनले भने, “पूर्वराजालाई आफ्नो संस्था फ्याँकिएकोमा एउटा द्वेष छ। पूर्वराजाले भने भन्दैमा महत्त्व दिनुपर्ने कुरा होइन। यहाँ हाम्रो प्रणाली विफल भएकोभन्दा पनि राजनीतिज्ञहरूले प्रणालीलाई विफल बनाइराखेकाले पूर्वराजा र उनकै जस्तो विचार राख्नेहरूले बोल्न पाएका हुन्।”

प्रणालीले काम नगरिरहेको भन्ने पूर्वराजाको भनाइ साँचो भए पनि एक पटक बिदा भइसकेको राजतन्त्र अब फेरि नेपालमा विकल्प बन्न नसक्ने तर्क बरालले गरे।

बराल थप्छन्, ‘पहिला पनि नेपालमा विदेशीको प्रभाव नभएको होइन। अमेरिकीहरू यहाँ आएकै थिए। भारतीयहरू र चिनियाँहरू पनि आएकै हुन्। पहिला अरू हुन्थे तर अहिले यहाँको राजनीतिमा चिनियाँहरू र अरू अलि बढी सक्रिय देखिन्छन्। त्यो पनि यहाँका नेताहरूको कमजोरीले सम्भव भएको हो। एउटा प्रणाली राम्रोसँग चले त्यो रोक्न सकिन्थ्यो।”

गणतन्त्र स्थापना भएसँगै नेपालमा चिनियाँ प्रभाव बढेको र पछिल्ला वर्षहरूमा वैदेशिक लगानी, सुरक्षा, पूर्वाधार र राजनीतिक सम्बन्ध लगायतका विविध क्षेत्रमा प्रकट भइरहेको बताउने गरिन्छ।

अझ अघिल्लो साल तत्कालीन सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तरसङ्घर्ष चुलिएको समयमा उक्त दल भित्रको एकता कायम राख्न अन्तिम समयसम्म बेइजिङले प्रयास गरेका विवरण सार्वजनिक भएका थिए।

चीनको संवेदनशील तिब्बत क्षेत्रसँग सीमा जोडिएको नेपालमा अमेरिका र अरू पश्चिमा देशका चासो पहिले देखि नै प्रकट हुने गरेका कतिपय परराष्ट्र मामिलाविज्ञहरूले बताउने गरेका छन्।

राजनीति शास्त्रका अर्का पूर्वप्राध्यापक कृष्ण पोखरेल पूर्वराजाको पछिल्लो सोच अतिरञ्जित ठान्छन्

उनी भन्छन्, “जस्तो खालको हाम्रो भौगोलिक अवस्थिति छ, त्यसका कारण भारत र चीनको या तिब्बतको नेपालसँग सिमानामा जोडिएको हुनाले युरोपेलीहरूको या अमेरिकीहरूको राडारबाट नेपाल न हिजो बाहिर थियो न आज छ। फरक यति मात्रै हो – जति बेला लोकतन्त्र थिएन यी कुराहरू गुपचुप रहन्थे। अहिले बाहिर आए र जनताले धेरै कुराहरू थाहा पाए।”

“आफ्नो सत्ता गुमेकाले ज्ञानेन्द्रको एउटा एजेन्डा छ। त्यसैलाई भजाउनका लागि उनले यस्ता कुरा गरेको मलाई लाग्छ।”

पोखरेलका भनाइमा यी चुनौतीहरूलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने हुन्छ।

उनले नेपालका अहिलेका शासकहरू राष्ट्रहितभन्दा बाहिर जान्छन् भन्ने आफूलाई नलागेको बताए।

नेपालमा अहिले रहेको शासन व्यवस्थाको नतिजा ‘आजको भोलि नआउने’ भन्दै उनले शासक वर्गले जनतालाई एउटा सपना देखाएर त्यसको विपरीत व्यवहार देखाएकाले असन्तुष्टि प्रकट भइरहेको धारणा राखे।

ज्ञानेन्द्र शाहले विगतमा पनि विभिन्न सन्दर्भहरू पारेर राजनीतिक विषयवस्तुमा टिप्पणी गर्ने गरेका छन्।

पछिल्लो राजनीतिक परिवर्तनमा भूमिका खेलेका सत्ताधारी र विपक्षी दलका नेताहरूले बेला बेलामा उनलाई निवासबाट राजनीतिक अभिव्यक्ति दिनुका सट्टा दल खोलेर चुनावमा भाग लिन चुनौती दिने गरेका छन् । बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट