गोर्खा वारियर : प्रिमियर गर्नुअघि तडकभडक, रिलिज हुने बेला ओझेलमा !-Sutra News

गोर्खा वारियर : प्रिमियर गर्नुअघि तडकभडक, रिलिज हुने बेला ओझेलमा !

सोमबार, २२ माघ २०८०

सोमबार, २२ माघ २०८०

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ आगामी फागुन ११ गतेबाट देशव्यापी प्रदर्शन हुँदैछ । फिल्ममा दोस्रो विश्व युद्धअन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलताको कथा विषय बनाइएको छ ।



‘गोर्खा वारियर’ नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन गरी चार भाषामा निर्माण गरिएको छ । फिल्मको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अङ्ग्रेजी संस्करणको निर्माण पनि अन्तिम चरणमा रहेको बताइएको छ ।

‘गुरिल्ला युद्ध’को नामले चर्चित ‘मलाया युद्ध’ सन् १९४८ मा सुरु भएर १९६० मा अन्त्य भएको थियो । यो फिल्मले पनि त्यस मलायाको जङ्गलमा नेपाली गोर्खाली सेनाले देखाएको वीरताको कथालाई प्रस्तुत गरिएको भनिएको छ ।

हुन त, यो फिल्मको केही महिनाअघि बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियरसमेत गरिएको थियो । साथै, प्रतिष्ठित ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डस्मा यो फिल्मले ‘इन्ट्री’ गरेपछि अन्तर्राष्ट्रिय जगतमै चर्चा कमाएको समेत बताइन्छ ।

यता, नेपालमा भने चर्चासँगै ओझेलमा पनि धेरै भएको पाइन्छ । यस्तो भन्नुको पछाडि फिल्मका बारेमा जति सुनिएका थिए, ती सबै ओझेलमा परेका छन् ।

निर्देशक चाम्सको यतिबेलाको गतिविधि हेर्ने हो भने उनले गोर्खा वारियर हेरिदिनु भन्दै सबै तिर हारगुहार गरेर हिँड्नु परेको देखिन्छ । फिल्म ‘गोर्खा वारियर’ हेर्नुप¥योदेखि हेर्नु होला भनिदिनुप¥यो भन्दै देशका ओहोदा पदका व्यक्तिहरू र विभिन्न सरकारी निकायका उच्च पदाधिकारीहरूसँग गुहार मागिरहेका छन् ।

वीर गोर्खाको जीवन, उनीहरूको गाथा, इतिहास कस्तो रहेछ भनेर बुझ्नका लागि भन्दै उनले ठूलो तिगडम लगाउँदै आव्हान गराइरहेका छन् । चाम्सले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, राजनीतिक दलका नेतादेखि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई भेटेर फिल्म हेरिदिन आव्हानको शंख फुक्न लगाइरहेका छन् ।

केही समयअघि बेलायतमा रेड कार्पेट प्रिमियर शो गरिँदा निर्देशक चाम्सले त्यसबाट प्रचार प्रसारमा ठूलै मध्त हुने भन्दै आधा दर्जन पकेट पत्रकारहरूलाई बेलायतसम्मको निमन्त्रणा गरेका थिए । उनको निमन्त्रणा पाउन साथ उफ्रिँदै बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा भएको प्रिमियरमा पुगेका उनीहरूले फिल्म हेरेर कुनै शब्द खर्चिन सकेनन् । त्यहाँ भएको भव्य कार्यक्रमका बारेमा पकेट पत्रकारबाट चाम्सले प्रचारको ठूलै हुङ्कार हुने र धमाकादार बिगुल बज्ने अपेक्षा राखेका थिए ।

बरु, फिल्मका बारेमा निर्देशक चाम्सले लण्डनमै हुँदा विश्व प्रख्यात टेलिभिजनदेखि प्रिन्ट मिडियामा समय दिँदै अन्तरवार्ता दिए । तर, नेपालबाट गएका पकेट पत्रकारहरू मार्फत उनले स्वदेशमा कुनै जानकारी दिन पाएनन् । जुन कुरा आजभोलि निर्देशक चाम्स आफैले यसो भयो, त्यसो भयो, फिल्मका बारेमा त्यहाँ मिडियाले यस्तो भने, लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा भएको प्रिमियरमा यति जना व्यक्ति आए भन्दै जानकारी दिनु परिरहेको छ ।

यस्तै, निर्देशक चाम्सले फिल्म चलाउनकै लागि भनेर नेपालका विभिन्न शहरहरुमा ऐतिहासिक प्रिमियर हुने भन्दै यति बेला अर्को प्रचारबाजी थपिरहेका छन् । करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गराएको फिल्मको प्रेसर उनीमाथि थोपरिएको छ ।

माघ ११ गते ओएसआर डिजिटलबाट सार्वजनिक भएको ट्रेलरको दुई साता पुग्दा हालसम्म ६ लाख ५७ हजार ६ सय ३० जनाले हेरेका छन् । यो फिल्मको अर्ग्यानिक भ्युज भने हैन । सुरुमा यसलाई एक्सन क्राईम तथा हिस्टोरीकल जनरामा निर्मित फिल्म भएकाले ट्रेलरलाई बुष्ट गर्न नमिल्ने बताएको थियो । तर, सामाजिक सञ्जाल हेर्दा फिल्मको ट्रेलर बुष्ट गरी गरी भ्यूज बढाएको देख्न सकिन्छ ।

फिल्मको प्रिमियर गर्नुपूर्व निकै चर्चा थियो । हाल आएर प्रचार नै न्यून भएको छ । फिल्म निर्माणमा जति रकम खर्च गरिएको छ त्यसको ५ प्रतिशत पनि प्रचार प्रसारमा छुट्याउन सकेका छैनन् ।

बलिउड र हलिउड फिल्मकै उदाहरण हेर्ने हो भने उनीहरूले निर्माणमा गरिएको खर्चको करिब १५ प्रतिशत रकम प्रचारमा छुटाएका हुन्छन् । चाम्सकै हकमा करोडौँ खर्च लगाएर बनाएको फिल्मले राम्रो व्यापार गर्नका लागि प्रचार प्रसार गर्नै पर्छ । यदि प्रचार राम्रो भएन भने फिल्मले राम्रो व्यापार गर्न सक्दैन यसमा उनी चुकेका देखिन्छन् । युट्युबको भ्यूज र हलहरूले आफ्नो साइटमा राखिदिएको पोस्टर हेरेर मख्ख भएका उनले हलसम्म दर्शकलाई तान्ने माहोल भने सिर्जना गर्न सकेका छैनन् ।

यस्तो खाले प्रचारले उनलाई भ्यागुतो जत्ति उफ्रिए पनि कुवाकै भित्र भने जस्तै हुने छ । त्यसो त, निर्देशक चाम्स फिल्मको प्रचार नै सोचेअनुरूप नभएपछि आक्रोशित देखिन्छन् ।

केही दिनअघि ‘गोर्खा वारियर’को ट्रेलर रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा फिल्ममा रितेश नै किन भन्ने प्रश्नमा चाम्स आफ्ना नव–नायक रितेश चाम्सको प्रशंसा गर्दा गर्दै अरू स्टारहरुहरुमाथि आक्रोश पोख्दै ‘मैले त अनुभव गरेको छु नि । सुटिङ हुँदा बाथरुममा गएर सोसल मिडियामा नै हराउने स्टारहरू पनि यहाँ छन् । वार जनराको फिल्ममा त कलाकारको धैर्यता चाहिन्छ, त्यस्तो धैर्य गर्न सक्ने को छ हाम्रामा कलाकार’ भन्दै आक्रोशित र रूखोसमेत भएका थिए ।

निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहेको यो फिल्ममा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । जसमा हिमाल केसीको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन रहेको छ ।

फिल्मको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन् । यो फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट