Logo

के दलितहरूले धेरै पैसा कमाउन थालेपछि भारतमा टिकटक बन्द गरिएको हो ?



बन्द भएको एक वर्ष कटिसक्यो, अहिले के गर्दैछन् भारतका टिकटक प्रयोगकर्ताहरू ?

सावित्री र सनातन महतो एक दिदीभाइको जोडी थियो, जो विहारको झारखण्डको एक गाउँमा रहन्थे र टिकटक ‘इन्फ्लुएन्सर’ बनेका थिए । उनीहरूले सन् २०१८ मा टिकटक प्रयोग गर्न शुरू गरेका थिए । उनीहरूलाई लागेको थियो यसबाट पैसा पनि राम्रो कमाउन सकिन्छ र नाम पनि ।

गाउँले तरिकाले उनीहरूले गर्ने नाच टिकटकमा भाइरल हुन्थ्यो । वाट कन्सल्ट नामक एक इन्डियन डिजिटल एजेन्सीका अनुसार उनीहरूले ब्राण्ड पार्टनरशिप गरेर प्रत्येक महिना डेढ लाखसम्म कमाउने गर्दथे । जबकी खेतीपातीबाट जम्मा १० हजार मात्र आउने गर्दथ्यो ।

यदि टिकटकको कन्टेन्टका बारेमा कुरा गर्ने हो भने धेरै जसोले यसलाई ‘क्रिन्ज’ भन्ने गर्छन् । क्रिन्ज टिकटक भनेर गूगलमा खोज्ने हो भने टिकटकमा आउने कन्टेन्टलाई धेरैले हेप्ने गरेको भिडियो र आर्टिकल पाइन्छ । भारतमा टिकटकलाई लिएर सन् २०२० तिर धेरैले आपत्ति जनाएका थिए, कन्टेन्ट कमजोर गुणस्तरको भयो भनेर ।

सन् २०२० मा भारतमा टिकटक प्रयोगकर्ता २० करोड पुगिसकेका थिए । टिकटकले त्यस्ता व्यक्तिहरूलाई प्लेटफार्म दियो जो हेपिएका वर्गमा पर्दथे ।

तर २०२० को जुन महिनामा भारतीय सरकारले टिकटकलगायत कैयौं चिनियाँ एप्लिकेसनहरूलाई बन्द गरिदियो ।

लद्दाखको गलवान उपत्याकामा चिनियाँ र भारतीय सैनिकबीच बढ्दो तनावको बदला लिने बहानामा नरेन्द्र मोदीको सरकारले यस्तो कदम चालेको थियो ।

कैयौं कथित सेलिब्रेटीहरूले सरकारको यो कदमलाई स्वागत गरे । कमसेकम अब ‘क्रिन्ज कन्टेन्ट’ देख्न त नपाइएला भन्ने उनीहरूको भनाइ थियो । टिकटक बन्द भएपछि इन्स्टाग्रामले टिकटकलाई प्रतिस्थापन गर्न खोज्यो तर इन्स्टाग्राम टिकटकजस्तो थिएन ।

जातीप्रथा विरोधी अभियन्ता दिव्या कन्दुकुरीले भनेकी थिइन् की टिकटक एक क्यान्टिन हो भने इन्स्टाग्राम एक क्याफे हो । क्यान्टिनमा सस्तो र धेरै खाना पाइन्छ भने क्याफे महँगो र सामान्य मान्छेले खान नसक्ने ठाउँ हो ।

टिकटक बन्द गरिएपछि प्रयोगकर्ताहरू के गरिरहेका छन् त ? हामीले यो जान्ने कोशिस गर्नेछौं ।

२०१९ मा द प्रिन्टको एक रिपोर्टर भारतको राजधानी दिल्लीस्थित कर्नाट प्लेसमा गएर एक सामग्री तयार पारेका थिए । त्यहाँ उनले देखे, केटाहरू एउटा समूह एउटा शो रूम अगाडि उभिएर टिकटक भिडियो बनाइरहेको थियो । उक्त समूह भन्दा केही टाढा रिपोर्टरले केटाहरूको अर्को समूह देखे, उनीहरू टिकटक बनाउनेहरूलाई हेरेर हाँसिरहेका थिए ।

उक्त समूहका एक व्यक्तिले रिपोर्टरलाई भने – ‘यी जोकरहरू तल्लो जातिका हुन् । कोही पनि माथिल्लो जातिका केटाकेटीहरू यस्तो भिडियो बनाउँदैनन् ।’

कृष्ण नामका अर्का एक व्यक्तिले एउटा ट्वीट गरेका थिए त्यतिबेलै । उनले लेखेका थिए, ब्राम्हण – इन्स्टाग्राम र युट्युब, क्षेत्रीय – ट्वीटर, वैश्य – फेसबूक, शुद्र – टिकटक । उनको यो ट्वीटलाई १४ सय रीट्वीट मिलेको थियो भने ८ हजार भन्दा बढीले लाइक गरेका थिए ।

भारतमा टिकटकलाई लिएर धेरैले यस्तो सोच राख्ने गरेका थिए । सबै सामाजिक सञ्जालहरूले सबै वर्ग, धर्म, जाति, लिंग र क्षेत्रलाई समेट्ने आफ्नो मार्केटिङ पोलिसी रहेको बताउँछन् । तर टिकटकको सन्दर्भमा व्यवहारमा त्यस्तो देखिएन ।

भारतमा टिकटकका बारे यस्तो विभेदयुक्त दृष्टिकोण कसरी बन्यो त ? पहिलो कारण त टिकटक भिडियोको पृष्ठभूमिमा देखिने चीजहरू हुन सक्छ । खरले छाएको घर, माटाले लिपेको भित्तो, हिलो आँगन जस्ता कुराहरूले मान्छेहरूलाई यस्तो सोच्न बाध्य बनाएको हुनुपर्छ ।

टिकटकको एउटा भिडियोमा सावित्री र सनातन फोहोरो पानीमा समेत नाचिरहेका थिए । यस्तै विषयलाई लिएर भारतमा एउटा इन्टरनेट वारसमेत भएको थियो, टिकटक भर्सेज युट्युब । युट्युबमा प्रख्याती कमाएका कतिपय युट्युबरहरूले टिकटकको कन्टेन्टको मात्र आलोचना गरेनन्, टिकटक बनाउनेहरूलाई नै निशाना बनाए ।

एउटा प्रश्न उठ्छ, सामाजिक सञ्जालमा यो वर्ग विभाजन किन देखिन्छ त ?

सन् २०१९ को ‘लोकनीति सीएसडी’ले गरेको एउटा अध्ययनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको जातको प्रतिशत देखाइएको थियो । उपल्लो जातिको ४६ प्रतिशत, ओबीसी अर्थात् (अदर ब्याकवार्ड क्लास)को ३५ प्रतिशत, सूचीकृत जातिमध्ये २९ प्रतिशत र सूचीकृत आदिवासीमध्ये जम्मा २५ प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्ने गर्दथे । सामाजिक सञ्जाल भन्नाले फेसबूक, ट्वीटर, इन्स्टाग्रामलगायत सबैलाई एक ठाउँमा राखेर अध्ययन गरिएको थियो ।

तर टिकटक आएपछि यो आँकडा फेरियो । टिकटक आएपछि उपल्लो जातिले भन्दा धेरै सामाजिक सञ्जालको प्रयोग अन्य जातिले गर्ने गरेको अध्ययनले देखायो ।

टिकटक बन्द भएपछि भारतमा खैलाबैला मचियो । धेरैले टिकटक पुनः फिर्ता आउँछ भन्ने ठानेका थिए । तर त्यस्तो भएको छैन । हामीले यो जान्न जरुरी छ कि टिकटक आएपछि भारतको सामाजिक सञ्जाल प्रयोग गर्ने व्यवहारमै कसरी परिवर्तन आयो त ?

‘कालागाटो’ नामको एउटा मार्केट इन्टेलिजेन्ट फर्मका अनुसार टिकटक आएको १८ महिनामै भारतमा प्रयोग हुने स्मार्ट फोनमध्ये ३० प्रतिशतमा टिकटक एप्लिकेसन डाउनलोड भएको थियो ।

उक्त फर्मका बिजनेश अफिसरले भनेका थिए, ‘टिकटकका धेरै प्रयोगकर्ता टियर-२ र टियर-३ शहरबाट थिए । भारतका शहरहरूलाई टियर-१/२/३/४ मा बाँडिएको छ । टियर १ विकसित शहरलाई भनिन्छ भने २/३/४ क्रमश विकाशशील, अल्पविकसित र अविकसित शहरहरू हुन् ।’

उनका अनुसार ट्वीटर र इन्स्टाग्रामका प्रयोगकर्ताहरू भने विकसित शहरका मान्छे हुन्छन् । ५२ प्रतिशत टिकटक प्रयोगकर्ताहरूको आम्दानी महिनाको २५ हजार भन्दा कम थियो ।

घरमा गरिबी र हातमा कम क्षमताको फोन भएपनि टिकटक बनाउन सजिलो थियो । फेसबूक र ट्वीटरले आफ्नो इन्टरफेसमा सहज तरिकाले कम गुणस्तरकै भएपनि भिडियो बनाउने सुविधा दिँदैनन् । फेसबूक र ट्वीटरले साथी र फलोवर बढाउने रणनीतिमा काम गरिरहेका थिए भने टिकटकले फ्यान बढाउने रणनीतिमा काम गरिरहेको थियो । १५ देखि ६० सेकेन्डकै भिडियोमा मान्छेहरूको ध्यानाकर्षण गर्न सकेदेखि जो पनि सेलिब्रेटी बन्न सक्थ्यो टिकटकमा ।

टिकटकमा भाषाको अवरोध त थिएन नै, आफ्नो कन्टेन्टमा संगीत राख्न पनि कुनै दुख थिएन । अरमान राठोड जसले गुजरातमा गाडी धुने काम गर्दथे, उनको टिकटकमा करीब २७ लाख फलोवर थिए । उनले आफ्नो भिडियो बनाउन एउटा फुटेको ओप्पो फोन प्रयोग गर्थे । टिकटककै कारण उनले डान्सर बन्ने आफ्नो सपना पूरा गरे ।

सोनी च्यानलको एउटा प्रख्यात शोमा समेत भाग लिन उनी पुगेका थिए ।

टिकटकको लाइब्रेरीमा कैयौं भाषा र क्षेत्रका गीतहरू पनि छन्, जसलाई मुख्य शहरहरूमा कहिल्यै सुनिएन । जसै टिकटक प्रसिद्ध हुँदै गयो, तब ठूला कर्पोरेट हाउसहरूले पनि यसलाई प्रायोजन गर्न थाले । यसबाट टिकटकरलाई आर्थिक फाइदा हुने नै भयो ।

वाट कन्सल्टका म्यानेजिङ पार्टनर साहिल शाहले भनेका छन् – ‘टिकटकले सामाजिक सञ्जालको अर्थतन्त्रलाई लोकतान्त्रिकरण गरिदियो र हेपिएका कतिपय समुदायले समेत आय आर्जन गर्न सके ।’

टिकटक बन्द भएपछि मुख्य प्रतिस्पर्धीका रूपमा इन्स्टाग्राम रील अगाडि आयो । भारतमा २० करोड भन्दा बढी यसका प्रयोगकर्ता छन्, उनीहरूले दैनिक करीब ६० लाख भिडियो अपलोड गर्ने गर्छन् ।

तर टिकटकका क्रियटरहरूलाई यसले प्रभावित पार्न सकेको छैन । बरू यसले महँगो ब्राण्ड, सुन्दरता जस्ता विषयलाई प्रमोट गरिरहेको छ । कतिपय विशेषज्ञहरू भन्ने गर्छन् कि इन्स्टाग्राम रील एउटा महँगो रेस्टुरेन्ट हो, जहाँ तपाईंलाई तपाईको कपडा र बोलीचालीकै आधारमा व्यवहार हुने गर्छ ।

इन्स्टाग्राममा भिडियो अपलोड गर्न कडा नियम पालना गर्नुपर्छ । इन्स्टाग्राममा कमजोर गुणस्तरको भिडियो अपलोड गर्न मिल्दैन । सामान्य प्रयोगकर्ताहरूलाई प्रवेश निषेधजस्तै छ इन्स्टाग्राममा । यस्तै युट्युबमा पनि देखिन्छ ।

टिकटकजस्तै अन्य एपहरू पनि छन् भारतमा । जस्तै मोश र चिंगारी । धेरै टिकटकरहरू यी एप्लिकेसनसँग परिचित छैनन् ।

युट्युब र इन्स्टाग्राम प्रयोग गरेर सनातन र सावित्री महतोले जेनतेन आफ्नो कमाइ त धानिरहेका छन् तर उनीहरूको भ्यूज निकै कमजोर छ । ‘टिकटककै कारण त्यति धेरै मिडियाले कभरेज गरेको थियो, अन्तर्वार्ता आएको थियो तर पनि आज मान्छेहरूले भन्ने गर्छन् – यिनीहरूको केही हुन सक्दैन,’ सनातन महतोले दुखी हुँदै आफ्नो कुरा यसरी सुनाउँछन् ।

  • भारतीय रिसर्चर तथा युट्युबर मोहक मंगलको सहयोगमा

टिकटक नरेन्द्र मोदी

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १०:२७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला