Logo

‘एड होमिनेम फ्यालासी’मा टिकेका नेताहरूको नाममा…



कसैसँग राजनीतिक या अन्य विषयमा बहस शुरू गर्नु भन्दा अगाडि तपाईंको विपक्षीले तेरो अनुहार मसँग बहस गर्न लायक नै छैन भनिदियो भने तपाईंलाई कति रिस उठ्ला ? अथवा हेर्दै भिखारीजस्तो कपडा लगाएर आएको छ, म जस्तासँग कुरा गर्न तलाईं सुहाउँदैन भनिदियो भने ?

देशको विकास किन भएन नेताज्यू भनेर सोधेको प्रश्नको जवाफमा तपाईलाई कुनै नेताले ‘कति पढेको छस र तैंले यस्तो प्रश्न गरेको’ भनिदियो भने ? अथवा मेरो अगाडि तलाईं यस्तो सोध्ने हिम्मत कसरी गरिस भनेर तपाईंमाथि नै प्रतिप्रश्न आयो भने त्यसलाई कसरी जवाफ दिनुहुन्छ ?

आज हामी यस्तै भ्रमपूर्ण व्यक्तिगत गालीगलौज प्रयोग गरेर राजनीतिक नेताहरूले आफ्नो लोकप्रियता कसरी हासिल गरिरहेका छन् भन्ने विषय उदाहरणसहित जान्नेछौँ ।

१ वर्ष अगाडि भारतीय टिभी च्यानल आजतकमा भारतीय कांग्रेसकी प्रवक्ता सुप्रिया श्रीनेतसँग बहसका क्रममा भारतीय जनता पार्टीका प्रवक्ता डाक्टर संवित पात्रा शुरुमै व्यक्तिगत गाली गलौजमा उभिए । बहसको विषय थियो कोरोनाका कारण घटेको जीडीपी अर्थात् कूल गाह्रस्थ उत्पादन । २०२० मा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी नेतृत्वको सरकारका पालामा जीडीपी माइनस २४ प्रतिशतसम्म तल किन झर्यो भन्दै अन्यत्र पनि बहस भइरहेको अवस्था थियो ।

श्रीनेतलाई शुरूमा बोल्न दिइएको थियो, उनले सिधै सरकारको आलोचना गर्दै भनिन्, ‘सरकारले कोभिड १९ राम्रोसँग व्यवस्थापन गर्न सकेन । सरकारले राम्रो गर्न सकेको भए देशको जीडीपी यसरी संसारमै सबैभन्दा तल गिर्ने थिएन ।’

उनले बोलेपछि पालो आयो पात्राको । पात्रा अब सिधै व्यक्तिगत गालीगलौजमा उत्रिए । उनले भने, ‘मैले चीनका विषयमा कविता सुनाउँदा निम्नस्तरको बहस भनियो । अहिले यिनले यसरी कविता सुनाइरहेकी छिन्, यिनलाई पद्मभुषण मिल्नुपर्छ ।’

लेखक अर्याल सुत्रन्यूजका प्रबन्ध सम्पादक हुन् ।

पात्राले निरन्तर व्यक्तिगत स्तरमा आएर बोल्न थालेपछि श्रीनेतले अर्थव्यवस्थामाथि जवाफ दिन आग्रह गरिन् । पात्रा यहीं रोकिएनन् । उनले भने, ‘कांग्रेका प्रवक्ताहरू चीनका एजेन्ट हुन् । यी चाइनीजलाई यहाँ छिर्ने अनुमति कसले दियो, यिनीहरूलाई छिटो शोबाट निकाल्नुहोस् ।’ बहस अर्थव्यवस्थाबाट शुरू भएर व्यक्तिगत टिकाटिप्पणीमा सकियो ।

पात्राको अनौठो स्वभाव छ । उनीसँग बहस गर्नेहरूलाई उनले सिधै व्यक्तित्वमाथि आक्रमण गर्छन् । बहस गर्नेले लगाएको कपडामाथि नकारात्मक टिप्पणी गर्छन् अथवा प्रश्न सोध्ने तरिका नै ठीक भएन भनेर पूरै बहसलाई डाइभर्ट गरिदिन्छन् । उनको व्यक्तित्वमाथि आक्रमण गर्ने शैली यति कडा छ कि त्यसैकारण लामो समयसम्म बीजेपीले उनलाई प्रवक्ताको जिम्मेवारी दिइरहेको छ ।

यदि सरकारले गरेको क्रियाकलापमा प्रश्न उठ्छ, देशको जीडीपी घट्छ अथवा सरकार कुनै प्रकारले असफल भएको बहस चल्छ भने प्रश्न कसले गरिरहेको छ भनेर नसोधिनुपर्ने हो । जो कोहीले सोधेको भएपनि त्यसको जवाफ तथ्यमा दिइनुपर्छ । प्रश्नको जवाफ दिनुभन्दा पहिला प्रश्न सोध्नेमाथि गरिने आक्रमणलाई भनिन्छ ‘एड होमिनेम फ्यालासी’

यसको परिभाषा दिनुभन्दा पहिला म अर्को उदाहरण पनि राख्न चाहन्छु ।

गत कात्तिक ४ गते बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा एकजना पीडितसँग झोक्किएर कुरा गरे । साँझ पाँच बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भएका देउवाले ‘सुनिएन, चर्को बोलिदिनुपर्यो’ भनेर गरिएको गुनासोलाई लक्षित गर्दै पीडितलाई हप्काएका हुन् ।

प्रधानमन्त्री बोल्न शुरू गरेपछि ती युवाले भने, ‘सुनिएन प्रधानमन्त्री ज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न !’ त्यसपछि देउवा जंगिए र भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् ।’ देउवाले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसे ।

बीजेपी प्रवक्ता पात्रा र नेपालका प्रधानमन्त्री देउवाको बोलीमा खासै भिन्नता छैन । प्रश्न या अनुरोध गर्ने व्यक्तिलाई सिधै व्यक्तिगत तवरमा आएर हप्काउने र नियन्त्रणमा लिने उनीहरू दुवैको शैली देखिन्छ । केही वर्षअघि बीबीसी नेपालको साझा सवाल कार्यक्रममा पनि तत्कालीन प्रधानमन्त्री देउवाले प्रश्नकर्तालाई यसै गरेर हप्काएका थिए ।

एड होमिनेम फ्यालासीका बारेमा थप व्याख्या गर्नुभन्दा पहिला म एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि उदाहरण दिन चाहन्छु ।

गत कात्तिक ९ गते एमाले अध्यक्ष ओलीले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरे । त्यहाँ उपस्थित पत्रकारहरूमध्ये एकजनाले उनलाई ‘गिनिजमा लेखिनुपर्ने तर नलेखिएका त्यस्ता के काम हुन् ? बताइदिनुस्’ भनेर प्रश्न गरे । जवाफमा ओलीले पात्रा र देउवाकै शैली फलो गरे । उनले भने, ‘तपाईंले एमालेले गरेको काम देख्नुभएको छैन ? कति वर्ष भो पत्रकारिता गरेको ? यति धेरै काम देख्नुभएन ?’

त्यसको केही दिनअघि ओलीले भाषण गर्दै गिनिज बूकको आधा पाना त आफूले सरकारको नेतृत्व गर्दा गरेका कामले नै भरिने दाबी गरेका थिए । उनको दाबीपछि पत्रकारले उनलाई यस्तो प्रश्न सोध्नु स्वाभाविक थियो । तर ओलीले सोधिएको प्रश्नको जवाफ नदिएर उल्टै पत्रकारमाथि व्यक्तिगत आक्रमण गरे । ओलीले गरेको दाबीका आधारमा केके काम भए भनेर सोध्ने पत्रकारले चाहे जतिसुकै वर्ष पत्रकारिता गरेको होस् त्यो प्रश्न गौण हुनुपर्थ्यो र ओलीले इमान्दारिताका साथ आफूले गरेका कामहरू बताउनुपर्थ्यो ।

प्रश्नको जवाफ दिनुभन्दा पहिला प्रश्न सोध्नेमाथि आक्रमण गरेर उपस्थितहरूको ध्यान अर्कैतिर खिच्ने कामलाई ‘एड होमिनेम फ्यालासी’ भनिन्छ । एड होमिनेम ल्याटिन भाषाबाट लिइएको शब्द हो । यसको अर्थ अंग्रेजीमा ‘टु द पर्सन’ भन्ने हुन्छ भने नेपालीमा ‘व्यक्तिमाथि’ अथवा ‘व्यक्तिलक्षित’ जे भनेपनि भयो । फ्यालासी अंग्रेजी शब्द हो । यसको सिधा अर्थ भ्रम हुन्छ । यद्यपि हामीले प्रयोग गर्ने ‘भ्रम’ सब्द भन्दा कैयौं गुणा वजनदार शब्द हो फ्यालासी । त्यसैले लेखमा फ्यालासी शब्द प्रयोग गरिएको हो । मुख्य मुद्दामा बहस गर्नुभन्दा पनि कुनै विशेष व्यक्ति या संस्थामाथि भ्रम सिर्जना गर्ने काम नै एड होमिनेम फ्यालासी हो ।

नेपाल मात्र होइन, विश्वभरि नै यस्ता भ्रमहरू छरेर समर्थकको ताली खाने काम नेताहरूले गरिरहेका छन् । लोकप्रिय नेताहरूलाई यस्तो भ्रम छर्न अझ बढी सजिलो छ । यस्तो भ्रम छर्ने भएपनि नेताहरूको लोकप्रियतामा खासै कमी भने आउँदैन । जहाँ विरासतको राजनीति हुन्छ, जहाँ व्यक्तिको क्षमता भन्दा बढी चुनाव चिह्नलाई महत्व दिइन्छ, जहाँ सामाजिक सञ्जालको अधिकांश हिस्साको नियन्त्रण कुनै एउटा शक्तिसँग छ, जहाँ शक्तिको पूजा गरिन्छ त्यहाँ एड होमिनेम फ्यालासी खुल्लम खुल्ला देख्न पाइन्छ ।

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भएपनि भारतमा दिनदहाडै हुने धार्मिक र साम्प्रदायीक दंगाहरू यिनै फ्यालासीहरूको नतिजा हुन् । यो निकै न्यून मात्रामा भएपनि नेपालमा समेत कहिले काहीं देखिन्छ । प्रश्न सोध्ने पत्रकारलाई नै निशाना बनाउने चलन अमेरिका, भारत, रुस र नेपालमा समेत छ । यसबारे नागरिक आफैं सचेत हुनुपर्ने देखिन्छ । नेताहरूलाई के सोधियो, उनीहरूले उत्तर के दिए भन्ने कुराले धेरै अर्थ राख्छ । लोकतन्त्रमा लोकतान्त्रिक आवरणमै आउने यस्ता भ्रमपूर्ण तर्कहरू चिन्न सके सबैलाई फाइदा होला कि !

 

एड होमिनेम फ्यालासी

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १३:४५

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल