Logo

कांग्रेसमा महरको बढ्दो राजनीतिक ‘चार्म’ : यी एजेण्डा जसले कांग्रेस मात्र होइन, देशकै मुहार फेर्न सक्छन्



सत्तारूढ दल नेपाली कांग्रेस यतिबेला सरकार संचालनसँगै आफ्नै पार्टीको कुम्भमेला महाधिवेशनमा होमिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पटक-पटकका असंवैधानिक गतिविधिलाई सर्वोच्च अदालतले अंकुश लगाउँदै ५ वर्षका लागि प्रतिपक्षमा रहन तयार देखिएको कांग्रेसलाई सत्तारूढ गराइदिएको थियो ।

नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रका बारेमा पटक-पटक चर्चा चल्दै आएको छ । कांग्रेसभित्र युवाको नेतृत्वलाई लिएर धेरै पटक गम्भीर बहस पनि हुने गरेका छन् । एकसे एक सक्षम युवा हुँदाहुँदै पनि उमेर पुगेका पाका नेताहरूको नेतृत्वबाट कांग्रेस बिमुख भइसकेको छैन । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा धेरै  युवाहरूले नेतृत्वमा दाबीसमेत गरिसकेको अवस्था छ ।

२०४८ सालमा बुटवलमा आयोजित नेपाल विद्यार्थी संघको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेर सक्रिय विद्यार्थी राजनीतिमा आफ्नो उपस्थिति जनाएका नैनसिंह महर उच्च राजनीतिक  महत्त्वाकांक्षा बोकेका सक्षम र सवाल युवा हुन् । २०७३ सालमा नेविसंघको निर्वाचित अध्यक्ष बनेका महर अहिले ‘स्कूल अफ डेमोक्रेसी’ स्थापना गरेर त्यसको संस्थापक अध्यक्षका रूपमा देशभित्र र बाहिर आफ्नो राजनीतिक ‘चार्म’ हुर्काउँदै छन् । कांग्रेसको राजनीतिक र वैचारिक आधारशीला बन्दै गरेको स्कूल अफ डेमोक्रेसीमा देशभित्र र बाहिर गरेर ८८ हजार सदस्य आबद्ध छन् ।

आफू आबद्ध कांग्रेसमा एजेण्डाका सन्दर्भमा पटक-पटक बहस हुने तर कार्यान्वयनको पाटो फितलो भएकोमा महरलाई पटक्कै चित्त बुझेको छैन । त्यसैले आगामी १४ औं महाधिवेशनमा उनले एजेण्डा र कार्यान्वयनको छुट्टाछुट्टै कार्यतालिका हुनुपर्ने धारणासमेत राख्ने गरेका छन् ।

किशोर अवस्थामै राजनीतिमा लाग्ने हुटहुटी

महाकाली किनारको केही पर धनाघाटसँग जोडिएको महरको बेफिक्री बालापन वस्तुभाउसँग लडिबुढी गर्दै हुर्कियो । डाँडाकाँडासँग पागुर काड्दै उड्यो । उनी भन्छन् – ‘कुनै लक्ष्य थिएन भविष्यको, कुनै योजना थिएन जीवनको । थियो त केवल बेप्रवाह बालापन । त्यो उमेर नै त्यस्तै । स्कुल जाने, बचेको समय जंगलमा बस्तुभाउ चराउन जाने । बस ! यस्तै यस्तै…।’

२०३१ साउन १४ गते डडेलधुराको भागेश्वर- ३ लामिकाडेमा पिता तुला महर र माता ललीता महरको कान्छो सुपुत्रका रूपमा जन्मिएका हुन् महर । परिवारको कान्छो छोरो । सबैको आसाको केन्द्र ।

पहाडीया जीवन । मध्यमवर्गीय परिवारका समान्य सपना थिए उनको । महरको परिवार चाहन्थ्यो छोराले पढेर राम्रो सरकारी जागिर खाओस् र हामीहरूलाई सुखसँग पालोस् ।

तर स्वरललिता तारादेवीले गएको गीतको हरफ ‘सोचेजस्तो हुन्न जीवन’ महरकै जीवनमा लागू भयो । समयको ज्वारभाटाले महरलाई अर्कै बाटोमा डोहोर्याइदियो । माध्यामिक शिक्षा ग्रहण गर्दै गर्दा महरको दिमागमा राजनीति चेत पस्यो । गाउँका जनताका दुःखहरूले पिरोल्न थाल्यो उनलाई, उनी यसको कारण र निवारण खोज्ने अठोटमा लाग्न थाले ।

२०४८ सालको आम निर्वाचनपछि देउवा गृहमन्त्री बने । राष्ट्रिय राजनीतिमा देउवाको इमेजले पारेको प्रभावले महरलाई झनै तान्यो । उनलाई लाग्यो जीवनमा एक पटक अवश्य राष्ट्रिय राजनीति गर्ने छु ।

उनी समाजका बारेमा सोच्न थाले । देशको अवस्थाले गिजोल्न थाल्यो । के त्यो समस्या समाधानका लागि कुनै सरकारी जागिरे वा औसत मान्छे भएर सम्भव छ त ? पक्कै थिएन । त्यसो भए समस्या समाधानको बाटो के ? उनको मनमा यी यस्तै कुराहरू खेल्न थाले ।

‘त्यसपछि म राजनीतिमा होमिने निर्णय गरें,’ महरले त्यतिबेलाको अवस्था सम्झिदै भने, ‘मेरो बुबा आमाले चाहेजस्तो मैले सरकारी जागिर खाएर जनताका समस्या हल हुँदैन भन्ने मलाई लागेपछि निकै सोचेर र सम्झेर म राजनीतिमा आउने निर्णय गरेको हुँ ।’

उनलाई थाहा थियो देशको नीति फेर्ने भनेको राजनीतिले हो । राष्ट्र सेवाको सर्वश्रेष्ठ बाटो पनि त्यही हो । भोली राज्यका निकायमा पुगियो भने जनताको पक्षमा काम गर्न सकिन्छ भनेर नै आफूले राजनीति रोजेको महर बताउँछन् ।

उनी अभाव देखेर आएका नेता हुन् । महरलाई बिहान बेलुकी चुलो बाल्न नसक्ने अवस्थाका जनताहरूको पीडा थाहा छ । दिनभर भोकभोकै ज्यालामजदुरी गर्ने समाजका पीडा नजिकबाट महसुस गरेका छन् उनले । समाजमा जनताको सेवा गर्ने हुट्हुटीले उनी राजनीतिमा होमिए । जसले उनलाई छोटो समयमा नै राष्ट्रिय राजनीतिमा स्थापित गर्न सहयोग पुर्यायो ।

उनलाई थाहा थियो, राष्ट्रिय राजनीतिमा स्थापित हुन त्यति सजिलो छैन । नेपाल जस्तो अस्वस्थ राजनीतिक प्रतिस्पर्धा भएको मुलुकमा त झनै आफूलाई स्थापित गर्नू ठूलो चुनौतिको विषय हो ।

‘म सामान्य परिवारको मान्छे हुँ । नेपालको राजनीति निकै महंगो छ । तर पनि मलाई राष्ट्र सेवा गर्नु थियो । त्यसैले मैले राजनीति रोजें,’ उनले भने ।

महर आठ कक्षा पढ्दै गर्दा नेविसंघको राजनीतिमा आवद्ध भएका हुन् । उनी डडेलधुराको असीग्राम माध्यामिक विद्यालयमा पढ्थे । त्यहाँ पढाउने तीन जना शिक्षक त्रिभुवन विश्वविद्यालयमा पढेर गएका थिए । ‘गुरूहरूमा पनि राजनीतिक चेत थियो । उहाँहरू शेरबहादुर देउवासँग सामिप्यता भएका र जेल जीवन बिताएका व्यक्ति हुनुहुन्थ्यो,’ महर भन्छन् ।

गाउँमा उत्पीडित जनताका दुःख देखेर हल्लिरहेको बाल मथिङ्गललाई गुरूहरूको प्रजातान्तिक विचारधाराले प्रभावित पार्दै । राजनीतिक चेत भएका शिक्षकहरूकै सामिप्यतामा शिक्षा ग्रहण गरेका महर बिस्तारै नेविसंघको राजनीतिमा आकर्षित हुँदै गए ।

२०४७ सालमा १६ वर्षकै उमेरमा महर असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भइसकेका थिए । कार्तिक १६ गते विद्यालयमा पार्टीको कार्यक्रम थियो । कार्यक्रम सम्बोधनका लागि शेरबहादुर देउवा, तारणीदत्त चटौत र एनपी साउदलगायत कांग्रेस नेताहरू त्यहाँ पुगेका थिए । सो कार्यक्रममा त्यति ठूलो मासमा नेविसंघ इकाई अध्यक्षको रूपमा महरले भाषण गर्ने अवसर पाए । एउटा विद्यार्थीले दिल खोलेर भाषण गर्दा कार्यक्रममा आएका स्थानीयले ताली पिटे । शीर्ष नेताहरूले गुड भन्दै धाप मारे । र महरको झनै आत्मबल बढ्यो । ‘त्यति ठूलो मासमा गरेको भाषण र मैले पाएको प्रतिक्रिया मेरो राजनीतिक जीवनको अर्को प्रेरणा बन्यो,’ उनले भने ।

पछि उनको गाउँकै रामचन्द्र चटौत डडेलधुरा कांग्रेसको जिल्ला सभापति बने । उनको सामिप्यताले महरलाई कांग्रेसको राजनीतिमा झनै रोष पस्यो । २०४८ सालको आम निर्वाचनपछि देउवा गृहमन्त्री बने । राष्ट्रिय राजनीतिमा देउवाको इमेजले पारेको प्रभावले महरलाई झनै तान्यो । उनलाई लाग्यो जीवनमा एक पटक अवश्य राष्ट्रिय राजनीति गर्ने छु ।

हाइ स्कूलको परीक्षापछि महरले केही समय गाउँकै गोबिन्दपुरी माविमा पढाउने अवसर पाए । निजी स्रोत र साधनबाट चलेको थियो गोबिन्दपुरी मावि । उनले विद्यालयको आर्थिक स्थिति नाजुक देखेपछि पारिश्रमिक नलिने निर्णय लिए । ‘खाजा खर्च पनि गोजीमा नहुने स्थिति थियो त्यतिबेला, तर मैले पारिश्रमिक लिइन । मेरो भन्दा बढी स्कूलको अवस्था नाजुक थियो,’ महरले भने ।

पत्रकारिता हुँदै यसरी शुरू भयो नेविसंघको केन्द्रीय राजनीति

नेपाल विद्यार्थी संघको बुटवल महाधिवेशनमा महर नेविसंघ महाधिवेशन प्रतिनिधि भएर आए । निर्वाचन भयो । एनपी साउदले चुनाव जिते । ‘त्यहाँको माहोलले मलाई झनै नेविसंघको केन्द्रीय राजनीति गर्ने महत्त्वाकांक्षा पलायो । ‘मैले मनमा त्यही समयमा नेविसंघको केन्द्रीय अध्यक्ष हुन्छु भन्ने अठोट लिएको थिएँ,’ उनले भने, ‘त्यो बेला म १७/१८ वर्षको हुँदो हुँ ।’

महरले आफ्नो सफलताको कडी सबैभन्दा ठूलो संघर्ष र इमान्दारितालाई ठान्छन् । उनको त्यही सक्रियताले महर २१ वर्षको उमेरमा २०५२ सालमा नेपाल विद्यार्थी संघ डडेलधुरको कार्यवाहक जिल्ला अध्यक्ष भए । २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भए ।

उनी नेविसंघको राजनीति गर्दै थिए । राजनीतिले मात्र जीविको चल्दैन भन्ने उनलाई थाहा थियो । उनले आफूलाई उद्यममा विश्वास गर्ने मान्छे ठान्छन् । सानैदेखि महरलाई लेखनमा रुची थियो । त्यही रुचीले उनी २०५३ सालमा कान्तिपुर दैनिकको रिपोर्टर बनायो । त्यो समयमा जिल्लामा पत्रकारको संख्या थोरै हुन्थ्यो । उनी राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा पनि समाचार पठाउन थाले । तीन मिडियामा काम गर्दा उनको थोरै भए पनि आम्दानी हुन थाल्यो ।

‘नेविसंघमा सक्रिय राजनीति गरिरहँदा विद्यार्थीकै मुद्दा हामीले उठाउनुपर्थ्यो । त्यसका लागि मैले बालबालिका शिक्षासम्बन्धी धेरै विषयहरूमा रिसर्च गरें । उनीहरूलाई जस्तो आकार दियो त्यस्तै बनाउन सकिन्छ । बाल स्वभाव जिज्ञासु हुने भएकाले ८५ प्रतिशत दिमाग वृद्धि ६ वर्षसम्म हुन्छ । अहिले पनि ८० प्रतिशत भन्दा बढी बालबालिका स्तरीय बालशिक्षा प्राप्त गर्नबाट वञ्चित छन् । त्यसैले बाल शिक्षामा सरकारले एथेष्ट लगानी गर्नुपर्छ ।’

उनको पत्रकारिता यात्रा पनि रोचक छ । पत्रकार कसरी बन्नुभयो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म पत्रकार हुँदाको कथा निकै रोचक छ । मेरो मित्र नीरज ठकुराठी इन्स्पेक्टर बन्न भनेर काठमाडौं आउनु भएको थियो । शंखमूलमा उहाँको कोठा थियो । उहाँको साथी टेकबहादुर ठकुराठी पनि सँगै बस्नुहुन्थ्यो । कान्तिपुरले रिपोर्टर मागेको थियो टेकबहादुरले रिपोर्टर हुने इच्छा व्यक्त गर्नु भयो । मैले उहाँलाई तपाई ब्याचलर गरेको म इन्टर पढ्दै गरेको तपाई अन्त पनि जागिर पाउनु हुन्छ । कान्तिपुरमा म गर्छु भने । उहाँले पनि मान्नु भयो । त्यसरी मेरो पत्रकारिता सुरु भएको हो ।’

महरले पत्रकारिता शुरू गरिसकेपछि २०५६ सालमा नेपाल पत्रकार महासंघको डडेलधुराको संस्थापक अध्यक्ष बने । उनी आफूलाई राजनीतिमा लाग्नुको आधारशीला पत्रकारीता र कान्तिपुर दैनिकसँगको सहयात्रालाई पनि ठान्छन् । ‘मैले जीवन जगत सिकेको पत्रकारिताबाटै हो । राजनीतिलाई अगाडि बढाउन र सुरुवाती दिनमा पत्रकारिताले मलाई आर्थिक सहजता पनि प्रदान गरेको हो,’ महरको भनाइ छ ।

उनले २०५३ देखि ०५७ सम्म छोटो समय जम्मा चार वर्ष मात्रै पत्रकारिता गरे । तर त्यही समयमा उनी पत्रकार महासंघ डडेलधुरा शाखाको स्थापना गरेर संस्थापक अध्यक्षसमेत बने । ‘त्यतिबेला पत्रकारको संख्या थोरै हुन्थ्यो । सुदू्रपश्चिममा सबै पहाडी जिल्लाको प्रतिनिधित्व हुने गरी पत्रकार महासंघ डडेलधुरा शाखा गठन गरेका थियौं,’ उनले भने ।

पछि महरले २०५४ सालमा पार्टीको डडेलधुरा प्रचारप्रसार विभाग उपप्रमुखको रूपमा काम गरे । २०५७  सलामा चितवन महाधिवेशनबाट निर्वाचन जितेर महर नेविसंघको केन्द्रीय सदस्य भए । केन्द्रीय सदस्य भएकै दिनबाट उनले पत्रकारिता त्यागे । सक्रिय राजनीतिमा लागिसकेपछि पत्रकारिताको निष्पक्ष धर्म नमरोस् भनेर आफूले पत्रकारिता त्यागेको उनी बताउँछन् ।

महरले भने, ‘मैले राजीनामा दिँदा युवराज घिमिरे कान्तिपुरको सम्पादक हुनुहुन्थ्यो । उहाँले मलाई राजीनामा नदिन भन्नु भएको थियो तर मैले प्रत्युत्तरमा अब म समाचार लेख्ने होइन दाइ, समाचार बन्छु भनेर राजीनामा दिएँ ।’ केन्द्रीय सदस्य हुँदा उनले संगठन विभाग प्रमुखसमेत भएर काम गरे ।

पछि उनी २०६४ सालमा नेविसंघको निर्वाचित उपाध्यक्ष भए । २०७३ सालमा निर्वाचित अध्यक्ष भए । उनले नेविसंघको राजनीतिक इतिहासमा कहिले चुनाव हारेनन् । सधैं अत्याधिक र लोकप्रिय मत प्राप्त गरे ।

नेविसंघमा रहँदा उनले गरेका सुधारका प्रयासहरू

उनले नेपाल विद्यार्थी संघको केन्द्रीय बागडोर सम्हालिसकेपछि थुप्रै सुधारका काम गरेका छन् । विद्यार्थीलाई सर्टिफिकेट धितो राखेर ऋण दिने प्रवन्ध गर्नुपर्छ भन्ने उनको पहिले देखिकै सोच थियो । नेविसंघको नेतृत्व सम्हालेपछि उनले त्यो आवाजलाई जोडतोडका साथ उठाए । आफ्नो उक्त विचारलाई सार्थक तुल्याउन उनले अन्य विद्यार्थी संगठनसँग पनि परामर्श गरे र अहिले त्यो सम्बोधनको चरणमा छ ।

‘सबै तहमा सेमिस्टरको आधारमा अध्यायापन हुनुपर्छ भन्ने मेरो अर्को एजेण्डा थियो । शिक्षाका लागि कूल बजेटको २० प्रतिशत बढी रकम छुट्याउनुपर्छ भन्ने प्रमुख माग थियो । कार्यान्वयन नभए पनि अहिले त्यो सबै पार्टीको घोषणापत्रमा समेटिएको छ,’ महरले खुशी व्यक्त गर्दै भने । महरले आफ्नो प्रस्तावमा टियुमा स्ववियु आचारसंहिता बनाएर तत्कालीन विद्यार्थी राजनीतिमा लाखौं खर्च गरेर चुनाव लड्नुपर्ने अवस्थाको अन्त्य गर्न मापदण्ड तयारी पारिएको बताए । त्यही मापदण्डका कारण अहिले २०/२५ हजार पनि खर्च नगरी चुनाव लड्न सकिने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

नेविसंघको अध्यक्ष हुँदा महरले १६ वर्ष मुनीका विद्यार्थीलाई कुनै पनि विद्यार्थी संगठनको सदस्यता दिन नहुने प्रस्ताव केन्द्रीय समितिको बैठकबाट पारित गराएका थिए । तर त्यो धारणामा उनले रामशरण महत बाहेक पार्टीमा अरु नेताहरूको साथ पाएनन् ।

त्यो मात्रै होइन नेता महर शिक्षा र स्वास्थ्य राज्यको पूर्ण स्वामित्वमा हुनुपर्ने आफ्नो राजनीतिको प्रमुख एजेण्डा बनाएर अगाडि बढेका छन् । उनी यस्तो गर्न सकेमात्रै मुलुकमा दुई खाले नागरिक उत्पादन रोकिने बताउँछन् । ‘यो मेरो राजनीतिको मूल एजेण्डा हो । म राष्ट्रको कार्यकारी प्रमुख भएको दिन शिक्षा र स्वास्थ्यालाई राज्यको पूर्ण स्वामित्वमा ल्याउन काम गर्ने छु । आज नैतिकतामा आधारित मानवतावादी शिक्षाको आवश्यकता छ । त्यो कुनै दिन हामीले पुरा गर्नेछौं भन्ने ममा विश्वास छ । २० वर्ष पहिले विद्यार्थी राजनीतिमा होमिँदा नै मेरो दिमागमा शिक्षा र स्वास्थ्य पूर्ण (निःशुल्क) सरकारी स्वामित्त्वमा हुनुपर्छ लाग्थ्यो,’ नेता महरले भने ।

विद्यार्थी राजनीति गरिरहँदा महरले बालबालिकाको शिक्षा सम्बन्धमा धेरै रिसर्च गरेका छन् । उनी भन्छन् – ‘नेविसंघमा सक्रिय राजनीति गरिरहँदा विद्यार्थीकै मुद्दा हामीले उठाउनुपर्थ्यो । त्यसका लागि मैले बालबालिका शिक्षासम्बन्धी धेरै विषयहरूमा रिसर्च गरें । उनीहरूलाई जस्तो आकार दियो त्यस्तै बनाउन सकिन्छ । बाल स्वभाव जिज्ञासु हुने भएकाले ८५ प्रतिशत दिमाग वृद्धि ६ वर्षसम्म हुन्छ । अहिले पनि ८० प्रतिशत भन्दा बढी बालबालिका स्तरीय बालशिक्षा प्राप्त गर्नबाट वञ्चित छन् । त्यसैले बाल शिक्षामा सरकारले एथेष्ट लगानी गर्नुपर्छ ।’

किताब लेखनदेखि अन्तर्राष्ट्रिय अवार्डसम्म

समस्याको जरो पत्ता लागेको भएपनि त्यसको समाधानमा राज्यको यथेष्ठ ध्यान जान नसकेकोमा भने महरलाई सधैं सताइरहन्छ । ‘राजनीतिमा नैतिकता ह्रास भएको छ । नैतिकवान व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ,’ उनले भने, ‘राजनीतिमा सबै कुरा सम्भव छ भन्ने पञ्चायतकालीन परिभाषा बदलेर राजनीति असल कामका लागि मात्र हो भन्ने सबैले बुझ्न आवश्यक छ । अहिले हामी २१औं शताब्दीमा बाचिरहेका छौं । जनभावना अनुसार र समय सापेक्ष राजनीति गर्न सकिएन भने त्यो कुनै हालतमा जनताको पक्षमा हुनसक्दैन ।’

उनी नेता कार्यकर्ताको आर्थिक स्थिति र हैसियतको पार्टीमा अभिलेखिकरण हुनुपर्ने धारणा राख्छन् । नेता आफू पारदर्शी भए उसले व्यवस्थालाई पारदर्शी रूपमै अगाडि बढाउन सक्ने उनी बताउँछन् । त्यसका साथै उनी राजनीतिमा एक व्यक्ति, एक पद, एक पटकको अवधारणा अवलम्बन हुनुपर्ने बताउँछन् । ‘विकास, राजनीति, राष्ट्रियता, अन्तर्राष्ट्रिय सम्बन्ध पालना गर्नुपर्ने नैतिक आचरण र काम कर्तव्यका बारेमा सिक्न र सिकाउन युवा कांग्रेसको गठन हुनुपर्छ,’ उनी भन्छन् ।

सधै सुख, दुःखमा नेता जनतासँगै हुनुपर्ने महरको धारणा छ । उनी वर्षको दुई पटक हिउँदे र बर्षे बालीमा कम्तिमा एक/एक हप्ता सामूहिक अथवा व्यक्तिगत खेतीको समयमा अनिवार्य श्रम गर्नुपर्ने बताउँछन् । यसले उत्पादन बढ्नुका साथै श्रमप्रतिको सम्मानमा वृद्धि हुने महरको धारणा छ । कृषि र कृषकको मात्रै सम्मान गर्न सके नेपाल कृषिबाटै समृद्ध हुने उनको धारणा छ । यसका साथै नेता महर पार्टीभित्र स्थानीय तहदेखि केन्द्रीय महाधिवेशनसम्म गुट र समूह निर्माण गरेर चुनाव लड्न नपाउने आचारसंहिता लागू हुनुपर्ने धारणा राख्छन् । यसो गर्नसके पार्टीभित्रको गुट उपगुट आफैं समाप्त हुने महरको दाबी छ ।

पार्टीको निर्वाचन मितव्ययी बनाउन डिजिटल प्रविधि अवलम्बन गर्न उनको सुझाव छ । युवालाई सीप र क्षमता अभिवृद्धि गर्ने तथा बेरोजगार युवालाई जीवनयापन गर्न उद्यमशीलता भत्ताको व्यवस्था गर्नेलगायत काम गर्नसके आफ्नो पार्टीले ठूलो जनमत बटुल्नेमा नेता महर विश्वस्त छन् ।

‘पछिल्लो तथ्यांक अनुसार ८० लाख हाराहारीमा नेपाली युवाहरू विदेशमा पसिना बगाइरहनु भएको छ । विदेशमा बसेका नेपालीहरू सीप, क्षमता, प्रविधि र स्रोतसाधनले पोख्त छन् । देश निर्माणका लागि चाहिने चिज पनि यही हो । यसको सदुपयोग नेपालभित्रै गर्न सके समृद्ध नेपालको सपना साकार हुनसक्छ,’ महरले भने, ‘विदेशमा हुनेहरूले पनि नेपालको निर्वाचनमा मतदान गर्न पाउनुपर्ने व्यवस्था आवश्यक छ । त्यहाँको सोच र भिजनलाई नेपालका कार्यान्वयन गर्ने यो भन्दा अर्को राम्रो उपाय हुन सक्दैन ।’

‘माओवादीको मिसन कांग्रेसको प्रचार गर्न पाइँदैन नैनसिंहले गाउँ छोड्नुपर्छ भन्ने थियो । मैले गाउँ छोडिन त्यसैले मैले मरणासन्न हुने गरी कुटाइ खाएँ । पछि नैनसिंह मर्यो भनेर हल्ला फैलाए । तर म नभागेर चुनावी गतिविधिमा सक्रिय रहें । डराएर भाग्नु त कायरता होनी । जनताको सेवा गर्न चाहने मान्छेले मृत्युसँग डाउनु हुँदैन ।’

महरले त्रिभूवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नाकोत्तर र एलएलबी गरेका छन् । उनले पार्टीमा बौद्धिक र जुझारु युवा नेताको छवि बनाएका छन् । महरका ६ ओटा पुस्तकसमेत प्रकाशन भएका छन् । उनका शिक्षाका चुनौतीहरू (२०६६), नेपाली कांग्रेस र भातृ संगठन (२०६४), अबको काग्रेस (२०७२), संकल्प (२०७३), काण्डैकाण्ड (२०७५), महाकाण्ड (२०७८) प्रकाशित पुस्तक हुन् ।

उनी राजनीतिक भ्रमणकै क्रममा थुप्रै देशमा समेत पुगेका छन् । भारत, मलेशीया, सिंगापुर, अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड, बेल्जियम, पोचुगल, डेनमार्क, स्वीडेन, फिनल्याण्डलगायत युरोपियन मुलुकका साथै महरले थुप्रै देशको भ्रमण गरेका छन् । राजनीतिक भ्रमणका क्रममा विभिन्न मुलुक पुगेका महरले त्यहाँको राजनीतिक स्थिति र विकास मोडेलका बारेमा सुक्ष्म अध्ययनसमेत गरेका छन् ।

२०६२/६३ सालको जनआन्दोलनमा तीन महिना जेल जीवन विताएका महर विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट विभुषितसमेत भएका छन् । उनी दैविक प्रकोप उद्धार पदक-२०५६ र कन्स्ट्रक्टिभ स्टुडेन्ड लिडर अवार्ड २०१० जिएनएससी बेलायतबाट सम्मानित भएका छन् ।

‘स्कूल अफ डेमोक्रेसी’को यात्रा

‘जहाँ सिक्न र सिकाउन पाइन्छ, स्कुल अफ डेमोक्रेसी’ भन्ने नाराका साथ स्थापना भएको स्कुल अफ डेमोक्रेसीका महर संस्थापक अध्यक्ष हुन् । अहिले स्कुल अफ डेमोक्रेसीका सात प्रदेश र ७७ समिति छन् । त्यसका साथै विश्वका ३३ देशमा समेत स्कुल अफ डेमोक्रेसी फैलिएको छ । स्कुल अफ डेमोक्रेसीमा अधिकारीकर्मी, राजनीतिकर्मी, डाक्टर, वकील, शिक्षक, व्यापारी, श्रमिक, किसान र समाजसेवालगायत क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरू सहभागी रहेका छन् ।

तत्कालीन संविधानसभाका ३० भन्दा बढी सदस्य स्कूल अफ डेमोक्रेसीमा क्रियाशील रहेका छन् । स्कुल अफ डेमोक्रेसीले थालेको अभियानले सम्भावना बोकेका युवाहरूलाई राजनीतिमा आउन प्रेरित गरिरहेको छ । त्यत्ति मात्र नभएर नैतिकता ह्रास हुँदै गएको राजनीतिलाई नैतिक मूल्य मान्यतामा आधारित राजनीतिमा परिणत गर्ने र राष्ट्र निर्माणमा दूरगामी प्रभाव पार्ने अभियानसमेत सञ्चालन गरेको उनको दाबी छ ।

‘राजनीतिका अलावा अर्थतन्त्र, विकास, शुसासन, राष्ट्रियता, लोकतन्त्र, प्रजातान्त्रीक समाजवादप्रतिको संकल्पको आधारशीला स्कुल अफ डेमोक्रेसीले सिकाउँछ,’ नेता महरले भने । उनी अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीमा ८८ हजारभन्दा बढी सदस्य गोलबद्ध भएका छन् ।

तत्कालीन माओवादीको भौतिक आक्रमणपछि राजनीतिमा झनै कटिबद्ध

२०६४ सालको चैत्र २८ गते संविधान सभाको चुनाव हुँदै थियो । चुनाव प्रचार प्रसार गर्ने क्रममा २४ गते राति साढे ११ बजे करीब ८० जना माओवादीको हतियारधारी समूहले महरको घर घेर्यो । उनलाई अपहरण गरेर लगियो ।

‘मलाई डेढ घण्टाको ओरालोमा पर्ने नानीगाड नदीको किनारमा उनीहरूले लगे । त्यतिबेला मेरो भर्खर बिहे भएको थियो । म तत्कालीन समयमा नेविसंघको केन्द्रीय उपाध्यक्ष थिएँ । अपहरणकारीले मेरो साथमा भएको मोबाइल, सिक्री र पैसा लुटे । मलाई मरणासन्न हुनेगरी कुटपिट गर्न थाले,’ महरले आफ्नो विगत याद गर्दै भने । चार घण्टापछि होस आउँदा उनी नदी बगरमा एक्लै थिए । जीउभर निलडाम मात्रै । मध्यराति के गर्ने कसो गर्ने ? ज्यान उभिनै नसक्ने गरी दुखिरहेको थियो । उनी जसोतसो घर पुगे ।

सांसदहरू मन्त्री बन्न नपाउने, राज्य प्रशासनका सबै अंगमा स्वचालित सिस्टम राख्नुपर्ने जसले सोर्स फोर्समा काम गर्नुपर्ने अवस्थाको अन्त्य गरोस्, शिक्षा र स्वास्थ्य राज्यको पूर्ण स्वामित्वमा हुनुपर्ने, युवालाई उद्यमशील बनाउन उद्यमशीलता भत्ता दिनुपर्ने, समावेशिताको पूर्ण कार्यान्वयन, विदेशमा रहेका नेपालीहरूसँग भएको ज्ञान, सीप र प्रविधिको सदुपयोग गर्ने संयन्त्र बनाउनुपर्ने र उनीहरूलाई मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने, नेताहरूलेसमेत वर्षको हिउँदे र वर्षे बाली लगाउन कम्तीमा एक हप्ता श्रम गर्नुपर्ने, खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायतका क्षेत्रलाई सम्बोधन हुने गरी नीति निर्माण गर्नुपर्ने उनका राजनीतिक एजेण्डाहरू हुन् ।

उनी थप्छन्, ‘माओवादीको मिसन कांग्रेसको प्रचार गर्न पाइँदैन नैनसिंहले गाउँ छोड्नुपर्छ भन्ने थियो । मैले गाउँ छोडिन त्यसैले मैले मरणासन्न हुने गरी कुटाइ खाएँ । पछि नैनसिंह मर्यो भनेर हल्ला फैलाए । तर म नभागेर चुनावी गतिविधिमा सक्रिय रहें । डराएर भाग्नु त कायरता होनी । जनताको सेवा गर्न चाहने मान्छेले मृत्युसँग डाउनु हुँदैन ।’ उनले आफ्नो यो अनुभवले आफूलाई राजनीतिमा लाग्न झनै कटिबद्ध बनाएको स्मरण गर्छन् ।

जेजे भयो छोडौं, अब समृद्ध नेपालको अभियानमा जुटौं

‘अहिलेसम्म जेजे भयो–भयो अब हामी समृद्ध नेपालको अभियानमा जुट्नुपर्छ,’ महर भन्छन्, ‘कोरोना महामारीले संसार आक्रान्त छ । यो रोगले संसारलाई व्यथा मात्र नदिएर भोक पनि दिएको छ । थुप्रै मानिस बेरोजगार छन् । अब राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ । नेपाल जस्तो कृषिप्रधान देशमा राजनीतिलाई उत्पादनसँग जोड्दा समृद्धिमा टेवा पुग्ने छ ।’

महरलाई खाद्य भित्रको कमजोर गुणस्तरियताप्रति पनि चित्त बुझेको छैन । राज्यले जनताको ज्यू धनमा विषेश ख्याल पुर्याउनुपर्ने उनको तर्क छ । त्यसका लागि समय–समयमा गुणस्तर चेकजाँच हुनुपर्ने उनी बताउँछन् । ‘जलवायु परिवर्तनले संसारलाई ध्वस्त पार्ने अवस्था छ । हामीसँग प्रयाप्त सम्भावना छ । हामीले त्यसका लागि पनि दूरगामी रणनीति अगाडि बढाउन सकिरहेका छैनौं,’ महर भन्छन् । अबको राजनीति यिनै सकारात्मक परिवर्तनमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

‘एक व्यक्ति, एक घर, एक समाज र एउटा देश मात्र समृद्धशाली भएर पुग्दो रहेनछ भनेर त हामीले कोरोना महामारीकै पालामा थाहा पायौं,’ महरले भने, ‘अमेरिका जस्तो सबैले राम्रो ठानेको देशले पनि केही गर्न सकेन । सबैसँग मिलेर मात्र हामीले अबका दिनमा आइपर्ने महामारीसँग लड्न सक्छौं । महामारी र महाविपत्तीले शक्तिशाली र कमजोर देश भन्दैन । विश्वका ठूला नेताहरूले यतातिर पनि ध्यान दिनुपर्छ ।’

त्यति मात्र नभएर नेपालका उत्तर र दक्षिणमा रहेका दुई विशाल छिमेकी मुलुकबाट पनि नेपालले पर्याप्त फाइदा लिनसक्ने उनको भनाइ छ । दुई छिमेकी मलुक र अन्य देशसँग राम्रो सम्बन्ध बनाउन सके नेपालले पर्यटन क्षेत्रबाट मात्रै पनि मनग्य आमदानी गर्नसक्ने तर्क गर्छन् महर । जलस्रोतको धनी देशमा राज्यको ध्यान त्यता मात्रै केन्द्रीत हुने हो भने पनि भारत र चिनमा विजुली बेचेर नेपालले राम्रो आम्दानी गर्न सक्ने महर बताउँछन् ।

‘जटिबुटीको सदुपयोग मात्रै गरे पनि हामी समृद्ध हुन्छौं । तर हामी कुहिरोको कागजस्तै हराइरहेका छौं । आफ्नै शरीरबाट निस्केको सुगन्ध थाहा नपाएर जंगलभर भौतारिरहेको कस्तुरी जस्तै भइरहेका छौं,’ महर भन्छन् ।

कृषिमा आधुनिकीकरण अहिलको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ । दुई खर्बभन्दा बढी कृषिजन्य उत्पादन अहिले आयात भइरहेकोमा कृषिमा आधुनिकीकरण गर्दा त्यो विस्थापित हुने उनी बताउँछन् । यसका साथै ४० प्रतिशत भन्दा बढी रहेको युवा जनशक्तिको सदुपयोग राष्ट्र निर्माणमा लाग्न अब विलम्ब गर्न नहुने महरले बताए ।

यी हुनुपर्छ अबको राजनीति एजेण्डा

राजनीति खालि दिमागले हुनै नसक्ने महरको धारणा छ । ‘राजनीति गर्नका लागि कमसेकम विचार, सिद्धान्त र जनतालाई डेलिभरी दिनसक्ने भिजन हुनुपर्छ,’ महरले भने, ‘मैले त्यही भएर फोरम पाउनासाथ मेरो राजनीतिक एजेण्डा भन्ने गर्छु । माथि नै भनिसकें, यदि म कार्यकारी प्रमुख बनेर आएँ भने मैले अहिले प्रस्तुत गरेको भिजनअनुसार अघि बढ्नेछु ।’

पार्टी राजनीति र समग्र देशकै लागि दर्जन भन्दा बढी एजेण्डा अघि सारेका छन् । पहिलो हो, एक व्यक्ति एक पोस्ट र एक पटक । पार्टी भित्रको धमिलो राजनीतिलाई संग्लो बनाउन उनले अधिवेशन र महाधिवेशन सबै तहमा व्यक्ति चुनाव लड्नका लागि कुनै पनि समूह बनाउन नपाइने अवधारणा उनले अघि सारेका छन् ।

कांग्रेसभित्र युवा कांग्रेसको गठन उनको अर्को महत्त्वपूर्ण एजेण्डा हो । युवा कांग्रेसले विकसित सूचना र प्रविधिलाई प्रयोग गर्दै बढी भन्दा बढी जनतालाई कांग्रेससँग जोड्न सक्ने उनको भनाइ छ । त्यस्तै अहिले एजेण्डामा मात्र बहस गर्ने नभई महाधिवेशनलाई एजेण्डा कार्यान्वयन गर्ने थलोसमेत बनाउनुपर्ने उनको माग छ ।

सांसदहरू मन्त्री बन्न नपाउने, राज्य प्रशासनका सबै अंगमा स्वचालित सिस्टम राख्नुपर्ने जसले सोर्स फोर्समा काम गर्नुपर्ने अवस्थाको अन्त्य गरोस्, शिक्षा र स्वास्थ्य राज्यको पूर्ण स्वामित्वमा हुनुपर्ने, युवालाई उद्यमशील बनाउन उद्यमशीलता भत्ता दिनुपर्ने, समावेशिताको पूर्ण कार्यान्वयन, विदेशमा रहेका नेपालीहरूसँग भएको ज्ञान, सीप र प्रविधिको सदुपयोग गर्ने संयन्त्र बनाउनुपर्ने र उनीहरूलाई मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने, नेताहरूलेसमेत वर्षको हिउँदे र वर्षे बाली लगाउन कम्तीमा एक हप्ता श्रम गर्नुपर्ने, खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायतका क्षेत्रलाई सम्बोधन हुने गरी नीति निर्माण गर्नुपर्ने उनका राजनीतिक एजेण्डाहरू हुन् ।

नेपाली कांग्रेस नैनसिंह महर

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार ०५:०५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला