Logo

आउँदो बैशाखमा निर्वाचन गर्ने तयारीमा देउवा, प्रचण्ड र नेपालले भने ‘नो’



प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०७९ सालको वैशाखमा आम निर्वाचन गर्ने गरी तयारीमा लागेका छन् । विश्वस्त स्रोतले सूत्रन्यूजलाई दिएको जानकारीअनुसार देउवाले आफूनिकट नेता कार्यकर्तालाई वैशाखमा चुनाव हुने र त्यसको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

गठबन्धन सरकार लामो समयसम्म टिक्न नसक्ने निष्कर्षका साथ देउवाले अर्ली इलेक्सनको तयारी गरेका हुन् । देउवानिकट नेताहरूले यसको पुष्टि गरेका छन् ।

‘गठबन्धनको सरकार लामो समय टिक्दैन, टिक्यो भनेपनि झमेलाहरू आइरहन्छन्,’ देउवानिकट एक कांग्रेस नेताले भने, ‘त्यसैले वैशाखमै आमनिर्वाचन गर्ने गरी हामीले नेतृत्वलाई सुझाव दिएका छौं । सभापतिले पनि हामीलाई त्यसको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।’

उनले संघीय निर्वाचन वैशाखमा गर्ने र त्यसपछिको मङ्सिरमा स्थानीय निर्वाचन गर्न उपयुक्त हुने बताए ।

तर सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी दल भने अर्ली इलेक्सनका लागि तयार छैनन् । देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वैशाखमै चुनावमा जान नसकिने स्पष्ट पारेका हुन् ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि देउवालाई अर्ली इलेक्सनमा जान आफ्नो तयारी नपुग्ने भएकाले संसदले पूर्ण कार्यकाल चल्न पाउनुपर्ने धारणा राखेको स्रोतको दाबी छ ।

प्रचण्ड, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको सहयोगमा प्रधानमन्त्री बनेका देउवाले अर्ली इलेक्सनका लागि कन्भिन्स गर्न खोजिरहेका छन् भने आफ्ना नेता कार्यकर्तालाई त्यसको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

‘हामी अर्ली इलेक्सनको पक्षमा छैनौं,’ नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले सूत्रन्यूजसँग भने, ‘त्यसबारे गठबन्धनमा कुनै सल्लाह र सहमति भएको छैन । तर कतिपय कांग्रेसका नेताहरूले हामीसँगको छलफलमा अर्ली इलेक्सनमा जानु उपयुक्त हुने बताउनु भएको छ । हामी पक्ष या विपक्षमा भएपनि छलफल चलाउन त पाइयो नि !’

नेकपा एकीकृत समाजवादी पनि अर्ली इलेक्सनको पक्षमा छैन । ‘संविधानमा अर्ली इलेक्सनका बारेमा केही लेखिएको छैन,’ अध्यक्ष नेपालनिकट एक नेताले भने, ‘सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दा संसदले पूर्ण कार्यकाल चल्न पाउनुपर्ने फैसला गरेको थियो । त्यसैले अर्ली इलेक्सनको बहस संवैधानिक दायराभित्र छैन ।’

उनका अनुसार नेकपा एस भर्खरै बनेकाले संगठित हुन समय लाग्नेछ । अर्ली इलेक्सन भइहालेमा आफूहरूलाई घाटा पुग्ने नेकपा एसको विश्लेषण छ ।

गत असार २९ गते प्रधानमन्त्री देउवाको नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको थियो । सरकार बनेको तीन महिनापछि मात्र मन्त्रिपरिषदले पूर्णता पाएको थियो ।

सरकार संचालनको विषयलाई लिएर गठबन्धनभित्र खटपट शुरू भइसकेको अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ । मन्त्रालय बाँडफाँड, राजनीतिक नियुक्ति, राजदूत नियुक्ति र अन्य कतिपय कामहरूमा देउवाले एकलौटी गर्न थालेको गठबन्धनका अन्य दलका नेताहरूले बताउन थालेका छन् ।

यही कारण पनि कांग्रेस गठबन्धन सरकार लामो समयसम्म चलाउन नसकिने निष्कर्षमा पुगेको हो । अर्ली इलेक्सनका लागि नेकपा एमाले भने तयार छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मंचबाट नै अर्ली इलेक्सनमा जानुपर्ने बताउँदै आएका छन् । केही दिनअघि आफ्नो गृहजिल्ला झापामा आयोजित चियापान कार्यक्रममा ओलीले अर्ली इलेक्सन घोषणा हुनसक्ने अनुमान गरेका थिए । त्यसका लागि आफ्नो पार्टी तयार रहेको उनको भनाइ थियो ।

आफू प्रधानमन्त्री रहँदा ओलीले पुस ५ र जेठ ८ गते दुवैपटक प्रतिनिधि सभा भंग गरेर चुनावको घोषणा गरेका थिए । दुवैपटक सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएको थियो । पछिल्लो पटक असार २८ गते सर्वोच्च अदालतले ओलीको सरकार बिस्थापित गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत दिएको थियो ।

अर्ली इलेक्सनलाई लिएर नै सत्तारूढ गठबन्धनबीच खटपट शुरू हुन थालेको छ । कांग्रेसमा भने अर्ली इलेक्सनमा प्रायः सबै शीर्ष नेताहरू सहमत देखिन्छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने वैशाखमा नभई आउँदा २०७९ सालको मङ्सिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने प्रस्ताव देउवासामु राख्ने गरेका छन् । तर देउवाले त्यसमा सहमति भने जनाईसकेका छैनन् ।

प्रचण्ड माधव नेपाल शेरबहादुर देउवा

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार ०९:४२


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला