sutra news logo

आइतवार, कार्तिक ७ गते २०७८

images
images

चलचित्रकर्मी युवराज लामाको होटल प्रहरी नियन्त्रणमा, नक्कली नोटको कारोवारमा संलग्न भएको प्रहरीको अनुमान

चलचित्रकर्मी युवराज लामाको होटल प्रहरी नियन्त्रणमा, नक्कली नोटको कारोवारमा संलग्न भएको प्रहरीको अनुमान

सूत्र न्यूज

२७ भाद्र २०७८
  • 2.0K
    SHARES
  • चलचित्रकर्मी युवराज लामाको होटल प्रहरी नियन्त्रणमा, नक्कली नोटको कारोवारमा संलग्न भएको प्रहरीको अनुमान

    राष्ट्रिय खेलकुद परिषदको पूर्व सदस्यसचिव समेत रहेका चलचित्र निर्देशक युवराज लामाको निजगढस्थित होटलबाट नक्कली नोट कारोबारीहरू पक्राउ परेका छन् । शनिवार राति करीब ८ बजेतिर ४ नेपाली र अन्य केही भारतीयलाई प्रहरीको विशेष कार्यदलले नियन्त्रणमा लिएको हो । तर आइतवार अपराह्नसम्म पनि होटल लाई ठूलो संख्यामा प्रहरीले घेरेर राखेको छ ।

    images

    निजगढस्थित तारा इन् नामको होटल मा विगत ४/५ महिनादेखि शंकास्पद गतिविधि हुँदै आइरहेको र प्रहरीले विशेष तयारीका साथ छापा मारेर केही नेपाली र भारतीयलाई पक्राउ गरेको प्रहरी स्रोतले सूत्रन्यूजलाई जानकारी दियो ।

    'हामीले चार महिनादेखि वाच गरिरहेका थियौं । जग्गा कारोवार गर्ने नाउँमा नक्कली नोटको कारोबार भइरहेको सूचना प्राप्त भएको थियो । त्यसलाई भेरिफाई गरेपछि हिजो हामीले रेड हानेका हौँ,' प्रहरीका एक अधिकारीले बताए ।
    पक्राउ परेका नक्कली नोट कारोबारीहरूलाई प्रहरीले सार्वजनिक गरेको छैन । कारोबारमा युवराज लामासमेत संलग्न रहेको प्रहरीको अनुमान छ । नाम नखुलाउने शर्तमा ती प्रहरी अधिकारीले थपे - 'लामामाथि पनि अनुसन्धान भइरहेको छ ।'

    लामासँग नजिकको सम्बन्ध रहेका निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले शंकास्पद गतिविधि देखिएपछि प्रहरीले छापा हान्नु नौलो कुरा नभएको बताए । 'अघि भर्खर म युवराजजीसँगै बसेर कुराकानी गरेर आएको हुँ । ४/५ महिनादेखि केही मान्छेहरू होटल मा निरन्तर आउने जाने गरिरहेका थिए । उनीहरूमाथि शंका लागेर प्रहरीले छापा हानेको हो । केही नेपाली र केही भारतीयहरू छन्, प्रहरीले आजभोलितिर सार्वजनिक गर्ला,' मेयर खनालले सूत्रन्यूजसँग भने ।

    शनिवार राति छापा मारेर शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको भएपनि आइतवार अपराह्नसम्म होटल लाई प्रहरीले घेरेर राखेको छ । त्यहाँ सञ्चारकर्मीलाई समेत जान नदिनुले थप शंकाको वातावरण सिर्जना भएको स्थानीय बताउँछन् ।

    सूत्रन्यूजसँग सम्पर्कमा आएका एक स्थानीयले भने - 'हिजो राति छापा हान्यो, आज चाहिँ होटल घेरेर राखेको छ । त्यहाँ कसैलाई जान दिइएको छैन । भित्रभित्रै बार्गेनिङ पो चलिरहेको छ कि ?'

    लामो समय चलचित्र निर्देशन गरेका लामा खेलकुद परिषदको सदस्यसचिव बनेका थिए । पछिल्लो केही समय होटल व्यवसाय गरिरहेका लामा पुनः चलचित्र निर्देशनमा फर्किने तयारी गरेका छन् ।
    लामा यसअघि पनि पटक-पटक विवादमा आइरहने व्यक्ति हुन् ।



    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.