sutra news logo

शुक्रवार, श्रावण ८ गते २०७८

सन्दर्भ बीपी स्मृति दिवस : कांग्रेसका पुराना नेता उप्रेतीले यसरी सम्झिए बीपी र सात सालको क्रान्ति

सन्दर्भ बीपी स्मृति दिवस : कांग्रेसका पुराना नेता उप्रेतीले यसरी सम्झिए बीपी र सात सालको क्रान्ति

images

सूत्र न्यूज

६ श्रावण २०७८
  • 127
    SHARES
  • सन्दर्भ बीपी स्मृति दिवस : कांग्रेसका पुराना नेता उप्रेतीले यसरी सम्झिए बीपी र सात सालको क्रान्ति

     

    बीपीदेखि म ज्यादै नै प्रभावित भएँ । उहाँलाई सुन्दरीजल जेलबाट छोडे पछि मेरो घरमा आएर बस्नुभयो । छाप्रो थियो त्यतिबेला । यो घर बनिसकेको थिएन । यहाँ वरिपरी केही पनि थिएन । सबै जंगल थियो । कतैकतै घर थिए । ०२७/२८ सालको कुरा हो । बीपी चाबहिलमा बस्नु्हुन्थ्यो । घरमा कोही जाँदैनथे । बस्नेत थर भएका बीपीको बडिगार्ड थिए । बीपी, उहाँका बडिगार्ड र म भएर मर्णिङवाकमा जान्थ्यौं ।

    म यस घरबाट (नयाँ बानेश्वर) मर्णिङवाक गर्दै सबेरै पुग्थें । ‘४ बजे नै आइपुग्नु । चिया खान नै आइपुग्नु’ बीपीले भन्नुहुन्थ्यो । म बीपीले भन्नुभएकै समयमा पुग्थें । त्यो बेलामा छुट्टै जोश थियो । चाबहिलबाट ६ बजे चिया खाएर मर्णिङवाकमा हिड्थ्यौं । एक/डेढ घण्टा बीपी वाक गर्नुहुन्थ्यो । चाबहिलको घरमा कोही जाँदैनथ्यो । बाहिरको मान्छे भनेको म मात्रै हुन्थें ।

    बीपीसँग त्रसित

    पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रूपमा बीपीले १८ महिना सरकारको नेतृत्व गर्नुभयो । त्यतिबेला उहाँले भर्ना गरेका कर्मचारी जति थिए ती सबै बीपीदेखि डराउँथे । उहाँको अगाडि पर्दा भागाभाग हुन्थे । बीपीसँग बोल्नुपर्छ भनेर भाग्थे । त्यस्तो स्थितिमा पनि मैले उहाँलाई साथ दिएँ । उहाँबाट पनि मैले साथ लिएँ । मर्णिङवाकमा जाँदा बीपीले राजनीतिक सुनाउनु हुन्थेन । साधारण कुरा गर्नुहुन्थ्यो । ‘के गर्छौं, कसो गर्छौ ?’ भनेर सोध्नुहुन्थ्यो । मर्णिङवाकका क्रममा बीपीले भन्नहुन्थ्यो,‘म यसरी हिंडेर मात्रै भएन । मान्छे जम्मा गर्ने व्यवस्था गर न ! केटाहरू जम्मा गर्ने, म केही कुरा उनीहरूलाई । सम्झाउँछु ।’ भनेर मलाई भन्नुभयो । अलिअलि साथीहरू काठमाडौंमा थिए ।

    मैले खबर गरें । पहिलो दिनमा ९/१० जना आए । लुकीलुकी १/१ जना कोही कताबाट कोही कताबाट आउँथे । अर्को शनिबार २५/३० जना भए । बीपीका कुराले मानिसहरू नडराइ आउन थाले । बीपीको वचन भाइरल हुँदै गयो । त्यसपछि बीपी खुसी हुनुभयो ।

     २००७ सालको क्रान्ति राणा शासनविरुद्ध थियो । प्रजातन्त्र ल्याउन आन्दोलन भएको थियोे । राणा शासनमा जनता अत्यन्तै शोषित पीडित थिए । जनतालाई राणाहरूले जनावारको व्यवहार गर्थे । जनावार र मानिसमा कुनै फरक थिएन । शिक्षाको पहुँच र चेतना शूल्य थियो । शैक्षिक संस्थाको नाउँमा काठमाडौंको दरवार हाई स्कुल बाहेक अरू थिएन । धादिङमा २/३ वटा संस्कृत पाठशाला थिए । शिक्षा नभएको मुलुकमा राणाहरूले जनतालाई त्रसित बनाएर राखेका थिए ।

    कांग्रेसको समर्थन, राणाको विरोध

     ००७ साको क्रान्तिताका म एसएलसीको टिउसन पढ्दै थिएँ । अञ्चलाधिस नरहरि दवाडीसँग म र मेरा जेठान टिउसन पढ्थ्यौं । दवाडी दरबारको मान्छे । कांग्रेसलाई समर्थन पनि गर्ने । राणाविरुद्ध काम गर्न उहाँ पनि आतुर । त्यसका लागि उहाँलाई साथी चाहिएको रहेछ । हामी त युवा केटा । उहाँले हामीलाई कोच गर्न थाल्नुभयो । कांग्रेस के हो ? कांग्रेस कसरी आयो ? किन गठन भयो ? यसका बारेमा बुझाउनुभयो ।

    नेपाल परोपकार संस्थाका चिफ दयावीरसिंह कंसकार थिए । उनको नेतृत्वमा एउटा गोप्य समिति बन्यो । समितिमा दवाडीले हामी दुई जनालाई पठाउनु भयो । हामीले पर्चा पम्प्लेटिङको काम गर्‍यौं । राणाको विरुद्धमा, कांग्रेसको पक्षमा पचार गर्‍यौं । अरोरात्र खट्यौं । हामी केटाकेटी नै थियौं । कसको पक्षमा लाग्नुपथ्र्यो थाहा भएन । एकोहोरो कांग्रेको पक्षमा लागेर राणाविरुद्ध काम गर्‍यौं । त्यसरी राणाविरुद्ध प्रसिक्षित भयौं । पछि थाहा हुँदै गयो । बीपी, गणेशमान को हुन थाहा भयो ।

    भीड देखेर तर्सिए राणाहरू

    संयुक्त राष्ट्र संघको टोली नेपाल आए । टोलीलाई तागत देखाउन कांग्रेसले भित्री संगठन परिचालन गर्‍यो । मुख्य हेड थिए दयावीरसिंह कंसकार । ००७ सालमा कांग्रेसको लिग थिएन । भित्री संगठनले लडाइँ गर्‍यो । लडाइँमा ठूलो संख्यामा मानिसहरू आए । मानिसहरू आउलान भन्ने मलाई विश्वास थिएन । भीड देखेर राणाहरूको सातो गयो । साथीहरू उत्साहित हुँदै लड्न/ भिड्न तयार भए ।

    टुँडिखेलमा रातभर प्रहरीले मान्छे कुटेर मार्‍यो । हामी दुई जना कसोकसो बचेर घरमा आइपुग्यौं । त्यतिबेला सिनामंगलमा हाम्रो घर थियो । हामी घरमा आयौं उता २७ जना साथीहरू पक्राउ परेछन् । उनीहरू मेरा गुटका मानिस थिए । गुटमा २९ जना थियौं । पक्राउको खबर नरहरिनाथ दवाडीले नै दिनुभयो । उहाँले भाग भन्नुभयो । नौविसे गएर बस भन्नुभयो । नगएर अर्को घरमा सर्न भन्नुभयो ।

    भागेर भारत

    सिनामंगलमा ध्यान गोविन्द घर नजिकै मेरो घर थियो । उहाँकी आमाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । उहाँ कांग्रेसी विचारको हुनुहुन्थ्यो । हामी उहाँकै घरमा ‘दिदी दिदी !’ भन्दै पुग्यौं । उहाँलाई सबै कुरा बतायौं । त्यसपछि उहाँले ‘यहाँ बस्नु’ भनेर कोठा देखाइदिनु भयो । हामी बस्न के लागेका थियौं प्रहरी आइहाल्यो । ५ मिनेटको फरक परेछ । खानतलासी गरेर प्रहरी गयो । हामीलाई भेट्टाएन । त्यतिबेलाको डाँक भन्ने बस चढेर नैविसे पुग्यौं । नैविसे पुगेको प्रहरीले थाहा पाएछ । हामी त्यहाँ बसेनौं । हामी इन्डियन गयौं । यता क्रान्ति चल्यो । हामी भारतमा । क्रान्ति सफल भएपछि नेपाल हौं । नेपालमा भएको भए हामी मारिन्थ्यौं ।

    धादिङमा संघर्ष

    ०१७ सालकोे काण्ड अकल्पनीय थियो । त्यतिबेला म कांग्रेस धादिङको संगठनमा थिएँ । सामन्ती प्रथाविरुद्ध आन्दोलन चलाएको थिएँ । नक्कली लालपुर्जा च्यात्ने काम पनि गरें । पुस १ गते बेनीघाटमा एउटा ठूलो कार्यक्रम थियो । गोरखाबाट समेत मान्छे आए । लगभग १० हजार मानिस थिए । बेलुका खाना आएर म ठाँटीमा सुतें । भोलिपल्ट बडाहाकिमको चिठीको साथमा २५ जना प्रहरी मलाई समात्न आए । भिड देखेर पुलिस साइड लागे । डराए । झगडा होला भनेर बडाहाकीमले कार्यक्रम रोक्न खोजेका हुन् भन्ने मैले बुझें ।

    ५/६ सय मानिसहरूको साथमा म लेकतर्फ गएँ । लक्न गएका हामी । लेकबाट विहान झर्नेक्रममा पालुङका प्रहरीले मलाई निगरानी गरेका रहेछन् । मसँग आएकाहरूलाई मैले बाटैबाट फर्काएँ । तामाङ, गुरुङहरू थिए । भरुवा बन्दुक बोकेका थिए । उनीहरू प्रहरीसँग लडे ।

    भरतपुर काण्ड

    धादिङकोे इन्चार्ज जगतप्रकाशजंग शाह हुनुहुन्थ्यो । इन्चार्ज छोडेर नर्कटियागन्ज जानुभयो । त्यसपछि इन्चार्ज म भएँ । स्न्यापरहरू ७०/८० जनाको संख्यामा जम्मा गरें । त्यतिबेलै जगतप्रकाशजंग  आउनुभयो । उहाँ आएपछि ‘मलाई सभापति मलाई बनाऊ’ भन्नुभयो । काम भएकै थियो । चुप लागेर बसिरहेको भए हुन्थ्यो नि ! ‘इन्चार्ज बनाऊ’ भन्ने उहाँको माग थियो । सुवर्ण शमशेरले मलाई इन्चार्ज बनाउनु भएको हो । मैले उहाँलाई ‘तपाईं जानुस् सुवर्णजीकोमा’ भनेर पठाएँ । सुवर्णजीकोमा गएर रोइकराइ गर्नुभएछ । त्यसपछि मलाई सुर्वणजीको फोन आयो । ‘छोडिदिनुस् अब । मान्दैन, के गर्नु’ भनेर भन्नुभयो । मैले छोडिदिएँ । उनी इन्चार्ज भए । भरतपुर काण्डका लागि बखान सिंहको गु्रप, मेरो ग्रुप, गोवद्र्धन पोखरेलको ग्रुप तयार भयो ।

    बिछोडको बिलौना

    जगतप्रकाश इन्चार्ज बनेर आएपछि दुलही रश्मीराज्यलक्ष्मी शाह ( जगतप्रकाशजंगकी श्रीमति) सहितलाई बस्ने कोठा मिलाइदिएँ । भरपुरको लडाइँमा जान चिठी आयो मेरो नाममा । चिठी आउने बित्तिकै रश्मी रुन थालिन । जगतप्रकाशजंग जान तम्सिनुभयो । त्यस दिन कमाण्डर शशी समशेर आउनुभयो । उनले जगतप्रकाशजंग नै ‘जाओस्’ भन्नुभयो । मैले मेरा पक्षका साथीहरूलाई सोधें । ‘चिन्नु न जान्नुको मान्छे आयो’ भन्न थाले । त्यहिँ झगडा पर्न थाल्यो । मैले शशी समशेरलाई भनें । उनले केटाहरूलाई सम्झाए । ‘उहाँले हामीलाई व्यवस्थ गर्न जान्नुहुन्न, केही पनि थाहा छैन होला’ भन्न थाले । धेरै कचकच भएपछि मैले ह्याण्ड ओभर गरें ।

    ‘नछोड न नछोड’ भनेर रश्मी रोएको रोइ । ब्रेकअपको स्थिति भयो । जगतप्रकाश नगइ नछाड्ने । रश्मीले रोइकराई गर्दा पनि विचार गरेनन् । कालले बोलाएपछि त्यस्तो हुँदो रहेछ । उनी गए । आर्मी मुभ भयो । भाउजूलाई लिएर म आफ्नो क्वार्टमा आएँ । भाउनू शोकमा मग्न । उनीहरू गए । भरतपुरमा भिडन्त भयो । भरतपुर कब्जा गरे । कब्जा गरिसकेपछि कोही गोरखातिर लागे । कोही तनहुँ । कोही धादिङ लागे । आआफ्नो ठाउँ कब्जा गर्न गएका । सफल हुन भने सकेन । त्यसको कारण नेतृत्व थियो । नेतृत्वलाई समात्यो । त्यसपछि भाषण गर्न थाले । भाषण गर्दा गर्दै प्रहरीले घेरी हाल्यो । डर भयो । आर्मी, पुलिस आउँछ भनेपछि त्यसै चुप लागेर बस्ने कुरा भएन । आउँछन् भन्ने ख्याल कसैले राखेनन् । सार्वजनिक बैठक गरेर बसे । जगतप्रकाशजंगले यस्तो काम गरे । त्यसबेला घेराबन्दीमा पारेर समाते ।

    उनको हातमा पेस्तोल थियो । बडीगार्ड पनि सँगै । बडिगार्डको पेस्तोल मागेर उनले लिएका थिए । बडिगार्ड बचे । जगतप्रकाशजंग मारिए । महेन्द्रले हुकुम जारी गरेका थिए– हतियार जोसँग मिल्छ, उहीसँग माग्नु ।

    हाम्रा साथीहरू पछि धेरै पक्राउ परेका थिए । पछि छुटे । जगतप्रकाशजंगको बडिगार्डका अनुसार ती साथीहरूलाई जहाँ राखिएको थियो त्यहाँ रगतको आहाल थियो । कति मानिस मारिए होलान् ? पत्तो भएन । हामीलाई तर्साउन रगतको पोखरीमा राखिएको भनेर साथीहरूले भने । मेरा मान्छे लगभग २० जना पक्राउ परेका थिए । गोरखा, तनहुँ, धादिङका थिए । हतियार नभएकालाई छाडे । भएका मारिए । साथीहरूको रिर्पोर्ट हो । कुरा कहाँबाट चुइयो थाहा छैन ।

    श्रीमानको मृत्युको खबर

    जगतप्रकाशजंग शाहकी श्रीमति रश्मीलाई श्रीमान् मारिएको थाहा छैन । समातिएको हो भन्ने मात्रै थाहा छ । हेर्डक्वाटरलाई पनि थाहा छैन । बालकृष्णले राजासँग ‘सरकार जगतप्रकाशजंगलाई मारिएको हो ?’ भनेर सोधेछन् । ‘मारेको हो’ भनेर भनपछि प्रमाणित भयो । ५/६ महिनापछि बाबु बालकृष्ण शमशेरले रश्मीलाई थाहा दिएछन् । क्रिया गर भनेर खबर गरेका होलान् । उनी आइनन् । उहीँ बसिन । एउटा कोठा दिइएको थियो कलकत्तामा । त्यहिँ बसिन । तीजको दिनमा रातो कपडा, गरगहना सबै लगाई राति स्लिपिङ ट्याब्लेट खाएर आत्महत्या गरिन् । जगतप्रकाशकै मायामा प्राण त्यागिन ।

    जगतप्रकाश नगएको भए म जान्थें

    जगतप्रकाश जंग शाह नगएको भए म जान्थें । तर सार्वजनिक वैठक गरेर बस्दैनथें । आफ्नो सेल्टरमा जान्थें । सेल्टरमा जानुपर्छ भनेर सिकाएका थिए । मेरो विचारमा जगतप्रकाशले मिस गरे ।

    हतियार जम्मा

    नर्कटियागन्जमा भएको हतियार किनिएको हो । सुवर्ण शमशेरलाई थाइल्याण्डले दिएको हो । उहाँसँग सम्बन्ध कसरी भयो थाहा छैन । तर क्रान्तिलाई थाइल्याण्डले समर्थन गरेको थियो । बर्माबाट पनि हतियार ल्याइयो । थाइल्याण्डबाट कम, बर्माबाट धेरै । त्यहाँको सरकारले नै कांग्रेसलाई हातहतियार दिएको हो । ०१८ को लडाइँमा सबैभन्दा बढी समर्थन गर्ने राष्ट्र बर्मा हो । भारतले पनि सहयोग गरेको थियो । तत्कालिन भारतीय राष्ट्रपति नरेन्द्रप्रसादकी छोरीको छोराले समर्थन गरे । उनी नर्कटियागन्जका ठूला जमिनदार थिए ।

    मसँग हतियार

    मसँग ८/१० हतियार थियो । मेरो सुरक्षाका लागि भारतबाट इन्सपेक्टर आएका थिए । मलाई उनले धेरै मद्दत गरे । ठाउँठाउँमा हाम्रा साथीहरू समातिए । समातिनुको कारण हतियार थियो । मेरो घरमा बन्दुक देखेर मेरा गार्डले कपडाले छोपीदिए । देखाएर राख्नुहुँदैन भने । जबजीवराम भारतको रक्षामन्त्री हुनुहुन्थ्यो । उहाँ हामीलाई भेट्न ननर्कटियागन्जमा आउनुभयो । ठूलाठूला नेताहरू आएर हामीलाई ‘के छ कसो छ’ भन्थे । ‘पालिएका छौ कि छैनौ’ भनेर सोध्थे । ‘के पालिनु ? ७० रुपैयाँले’ हामीले धेरै दुःख पायौं । पछि राजा र भारत मिले । कांग्रेसले शसस्त्र संघर्ष फिर्ता लियो । सुवर्ण शमशेरलाई भारतले नै मिलाएर पठायो । सुवर्ण र महेन्द्रबीच सम्झौता भए । षडयन्त्र नगरी प्रजातन्त्रमा पुग्ने भनियो ।  


    प्रकाशित :श्रावण ६, २०७८ बुधवार - १७:०६:३९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.