Logo

खोप केन्द्रको कथा : खोपमा संस्थागत मनपरी, नियामक निकाय मौन



खोपको लागि आमन्त्रण 

विहान करिब ११:०० बजेको थियो । फोनको घण्टी बज्यो । कजेलका प्रिन्सिपलले फोन गरेका रहेछन् । फोन उठाँए । सरले सोध्नुभयो ‘सर कहाँ हुनुहुन्छ ?’ मैले भनें, ‘रुममा छु सर ।’ बोली खस्न नपाउदै सरले फर्काउनु भयो, ‘खोप केन्द्रमा आउन सक्नुहुन्छ  ? आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउनु होला, खोप लगाउन ।’

म खुसी हुँदै भनें ‘हुन्छ म आइहाल्छु ।’ खुसी पनि किन नहुनु, पहिले खोप लगाउने अवसर पाउदा चाइनिज खोप भरपर्दो हुन्छ भनेंर नलगाएको तर जब महामारी बढ्यो न चाइनिज खोप पाइयो न इन्डियन नै । नलगाएकोमा अपसोच नै भएको थियो । अहिलेको खोप चाइनिज नै थियो ।

खासमा म उहाँको कलेजमा अध्यापन गराउने शिक्षक थिए । पहिलो पटक खोप लगाउँदा म छुटेको थिँए । त्यसैले मलाई फोन गर्नुभएको थियो । खोप केन्द्रमा पुगें । त्यहाँ पुग्दा थाहा भयो केन्द्र त म पहिल्यै बाह्य परीक्षक भएर गएको शैक्षिक संस्था पो रहेछ । नागार्जुन नगरपालिका वडा नं.५ सीतापाइलामा पर्ने ऐलिएन मेमोरियल । खोप लगाउन सुरुमा खोप कार्ड हुनुपर्ने रहेछ  ।

खोप केन्द्रमा खोप कार्ड बनाउन टोकन बाँडिरहेको थियो । टोकन नलिई मूल गेटबाट भित्र छिर्न नपाउने नियम रहेछ । गेटमा ६०-६४ उमेर समूह भनेंर लेखिएको थियो । आफु २६ वर्षको ठिटो थिएँ । तर यस उमेर समूहमा नपर्नेहरु गेटबाट प्रहरीले छिराई रहेको देखे । म पहिले लटमा खोप लगाउन  छुटेको, अहिले आमन्त्रित । भित्र जान कुनै समस्या थिएन । भित्र जान खोजे तर ‘६० बर्ष काटेकोलाई मात्र हो’ भन्दै प्रहरी जवानले मलाई छिर्ने अनुमति दिएनन ।

मैले ति जवानलाई भनें ‘मलाई यहाँ बोलाएर आएको, म शिक्षक हुँ ।’ प्रहरीले ‘मेयरसापलाई भेटेर कुरा गर्नु’ भनें । मैले मेयरलाई भेट्नु पर्ने कुनै आवश्यकता थिएन किनकी मलाई त प्रिन्सिपलले आमन्त्रित गरेको । मैले उहाँलाई फोन गरे, ‘सर हजुर कहाँ हुनुहुन्छ  ? म केन्द्रमा आइपुगें ।’

सरले जवाफ दिनु भयो ‘म कलेजमा आएको छु सर डकुमेन्ट तयार गर्न, एकछिनपछि आउँछु ।’ अव मैले के गर्ने सर ? यहाँ टोकन लिनुपर्ने रहेछ । उहाँले भित्र स्काउटका स्वयंसेवक छन् म फोन गर्दिन्छु उहाँलाई गएर भेट्नु भनेंर जवाफ दिनुभयो ।

मेयरको पावर

स्वयंसेवकलाई भेट्ने भनेपछि मलाई रोकिएन । स्वयंसेवकलाई भेटें । मलाई शम्भु सरले पठाउनु भएको भनेर । ती स्वयंसेवकले पनि मेयरलाई भेट्न अनुरोध गरे । मेरो मेयरसँग २० दिन आघि जति चिनजान भएको थियो । चौतारामा हावा खान जाँदा भेट भएको । अन्तिममा छुट्ने बेलामा मेरो नाम, घर र पेसा सोधेका थिए । आफु बस्ने नगरपालिकाको मेयर आवश्यक पर्न सक्छ भनेर सम्पर्क नम्बर पनि मागेर राखेको थिएँ । नागार्जुन नगरपालिका, नेपाली कांग्रेसबाट निर्वाचित मेयर मोहन बस्नेत ।

मैले स्वयंसेवकलाई सोधें मेयर कहाँनेर हुनुहुन्छ । उनीहरुले देखाइदिए । मैले उनलाई भेटें अनि भनें, ‘म आमन्त्रित् गरेर आएको शिक्षक, खोप लगाउन आएको’ । पहिल्यै कुराकानी भएको भएर उनले मलाई चिने । गएर लाइनमा बस्नुस भैहाल्छ, उनले जवाफ दिए । टोकन नलगी खोप कार्ड नबन्ने रहेछ  । उनले फेरी भने टोकन लिनुपर्दैन म भनिदिन्छु । अब लाइन बस्नुको विकल्प नरहेको ठहर गर्दै गएर लाइनमा बसें ।

तर जति पनि लाइनमा थिए सम्पूर्णको टोकन थियो । मलाई लाइनमा बस्न असहज भएको थियो । त्यति बेला सम्म मैले थाहा पाइसकेको थिएँ न म खोप लगाउन लक्षित उमेर समूहभित्र पर्थे न म शिक्षक भएकाले फ्रन्टलाइनर नै । मत केवल मेयरसँग चिनजानको आधारमा खोप लगाउनेहरुको लाइनमा थिए त्यो पनि बिनाकुपन । त्यहाँ कसैले भन्दै थियो । टोकन नम्बरको आधारमा बोलाउँदैछ नम्बर अनुसार लाइनमा बसिदिनु होला ।

मसँग टोकन थिएन । अब टोकन लिनुपर्ने भयो । त्यहा अवस्थित एक स्वयंसेवकलाइ भनें, ‘म लाइन वसेको १५ मिनेट हुन लाग्यो टोकन छैन, मेयरले बस्न भनेकाले बसेको । ति स्वयंसेवकले टोकन ल्याएर दिइन्, टोकन नम्बर ११७ । म दुईजना वृद्धको पछाडि थिएँ । उनीहरुको टोकन नम्बर थियो ५२ । लाइन सरिरहेको थिएन । मैले उहाँहरुलाई भनें, ‘सर्नुस न किन एकै ठाउँमा बस्नु भएको ?’ उहाँहरुले जवाफ दिनुभयो, ‘हामीले चिनेको मान्छे कोही छैन बाबु  । नेतालाई चिन्ने मान्छे अगाडि गहिरहेका छन् धेरै अगाडि गैसके । मेयरले चिनेकाहरुलाई कसैले रोकेको छैन ।’

त्यतिनै बेला मेमोरियलका उप प्राध्यापक चक्र बहादुर बिष्टसँग भेट भयो । बाह्य परीक्षक भएर गएको बेला उनीसँग चिनजान भएको थियो । मैले उनलाई बोलाए । सुरुमा त महत्व दिएर मज्जाले बोले । जब म लाइनमा गएर बसें त्यसपछि खै किन हो उनले त्यति वास्ता गरेनन ।

सुरुमा एकजना मात्र प्रहरी देखेको थिएँ, टोकन हेर्दै लाइन मिलाउदै अर्का प्रहरी आए । ति प्रहरीलाई मैले चिनेको ४ वर्ष जति भयो । स्वयम्भू स्थित भगवानपाउ प्रहरी वृत्तमा देखेको । उनले मलाई चिन्दैन थिए तर मैले उनलाई राम्ररी चिन्थे । उनी कहाँ कसरि बोल्ने जान्दैनन् । आफुलाई राजा जस्तो ठान्छन् । त्यही अनुसारको वोली र व्यवहार गर्छन् ।सोझा मान्छेलाई झर्किने, थर्काउने, हप्काउने, रुखो वोल्ने, दुख दिने उनको परिचय हो ।

एक मानवता हराएको प्रहरी । आफु भन्दा ठूलोको आगाडी भनें लम्पसार पर्छन । त्यहा पनि उनले त्यस्तै व्यवहार देखाई रहेका थिए । म भोकै हतार हतार खोप केन्द्रमा आएको थिए । लाइनमा अझ १ घण्टा बस्नु पर्छ भन्ने सुने । हातमा टोकन थियो । स्वयंसेवक लाई सोधे, खान खाएको छैन भोकै छु, यहाँ समय लाग्छ जस्तो छ । म खाना खाएर आउदा हुन्छ ?  उनले भनिन, हुन्छ । आउदा टोकन साथमा लिएर आउनु होला । म खाना खान कोठा तिर लागे ।

जनता र प्रहरीबीच झडप

खाना पकाएर खाइगरि खोप केन्द्रमा पुग्न डेढ घण्टा लाग्यो । १३:४५ तिर त्यहा पुगेको थिए  । मुलगेटमा ताला लागिसकेको रहेछ । भित्र भनें मान्छेहरु थुप्रै  थिए । मुलगेट  भित्र अवस्थीत पालेलाई भनें, म अगाडि नै आएको र टोकन लिएर खाना खान गएको । गेट खोलि दिनुस न । उनले पछाडी पटिको गेट बाट आउनुस् भनें । म पछाडि पट्टीको गेटतिर लागे । अरु कम उमेर भएका मान्छे पनि त्यतै जादै थिए । भन्दै थिए खोप सबै उमेर समूहलाई लगाउन दिएको छ रे । खोप लगाउन आएको । जब म पछाडिको गेटमा पुगे पचासौं मान्छे पहिल्यै जम्मा भइ सकेका रहेछन् ।

प्रहरीले कसैलाई भित्र छिर्न दिई रहेको थिएन । मैले टोकन देखाउदै भित्र छिर्ने अनुमति मागे ।  मिल्दैन ६० बर्ष भन्दा माथि मात्र हो भन्ने जवाफ दिए । तपाई  हरुले नै दिएको टोकन हो । खाना खान पनि तपाई हरु लाई नै सोधेर गएको । प्रहरीले सुने नसुनेको गरे । बाहिर अवस्थीत मान्छेको भिडले खोप वितरणमा पारदर्शी  नभएको भन्दै कराउदै थिए । मेयर र वडा अध्यक्षका जोकोहीले पनि खोप लगाउन पाउने अरुले चै नपाउने । सबै बराबर हुन ।

पहुच नहुनेहरु पनि बाच्न पाउन पर्छ भन्दै विरोध गरिरहेका थिए । भित्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा थुप्रै प्रहरी आइसकेका रहेछन । मेयर पनि त्यहाबाट निस्की सकेका रहेछन । प्रहरीले भित्र बाट ६० भन्दा कम उमेरको मान्छेलाई निकाल्न खोज्दै थियो । त्यत्तिकैमा भित्र प्रहरी र मान्छेहरु विच भनाभन, धकेलाधकेल हुँदै झडप नै भयो । सबै प्रहरी र मान्छे झडपमा केन्द्रित भए ।

गेटका प्रहरी पनि त्यतै लागे । म त्यही मौका छोपी लुसुक्क भित्र छिरे । झडपमा पुलिसले डन्डा बर्सायो, मान्छेले इटा र ढुंगा । केहि समयमै प्रहरीले स्थिति नियन्त्रणमा लियो । घाइते भनें कोहि भएनन् । त्यहा भन्दै थिए, ‘मेयर ले आफ्ना सबै मान्छेलाई खोप लगाएर गए । अहिले आएर अरुलाई चाही ६० बर्ष पुग्नु पर्यो रे, मनपरी ।’ प्रहरी झडपका मुख्य पात्रलाई निकाले । अरु कम उमेर समूहका मान्छे लाई पनि निकाल्न थाले ।

वडा अध्यक्ष र चक्र विष्टको मनपरी

म भने रिसेप्सनतिर लागे । त्यहा अरु दुइजना पनि  रहेछन । मैले सोधे, ‘तपाई हरु यहाँ किन ?’ उनीहरुले भनें, ‘खोप कार्ड बनाउन जादा प्रहरीले गेट बाहिर निकालिदिने भएकाले त्यहा बसेंको ।’ मैले फेरी सोधे, ‘खोप कार्ड नभई कसरि लगाउनु हुन्छ त खोप ?’ उनीहरुले जवाफ दिए, ‘हाम्रो कार्ड बनाउन त्यहा मान्छे गएका छन् ।’ त्यतिकैमा उनीहरु खोप लगाउने ठाउँमा गए  । म भनें  उप प्राध्यापकको कोठा बाट खोप लगाएको ठाउँ देखिने भएकाले त्यतातिर लागे । उप प्राध्यापकको कुर्चीमा वसेर खोप लगाएको हेर्दै थिए । अघि खोप लगाउन गएकाहरुले खोप लगाए । त्यसपछि म बसेंको कोठाको झ्याल बाहिर आएर बसें । र त्यहि भएको एक जना व्यक्तिलाई भनें ‘दाई धन्यवाद’ । अब मलाई ति धन्यवाद लिने व्यक्ति को हुन मनमा उत्सुकता जाग्यो ।

उनको गतिबिधि नियालिरहे । उनी धेरै जसो फोन मा व्यस्त हुन्थे । त्यहा भएका स्वास्थ्य कर्मी, प्रहरी सबैले उनलाई सम्मान दिई रहेका थिए । त्यतिनै खेर उनीसँग गफ गर्दा एकजनाले उनलाई अध्यक्ष ज्यु भनेंर सम्वोधन गरे । उनको मोवाइलको घन्टी बज्यो । यी मेयरले फोन गर्यो भन्दै अरुलाई देखाउदै थिए । उनको मेयर सँग कुरा भयो । सायद झडपको विषयमा कुरा भएको हुनुपर्छ ।

मैले अनुमान लगाए यिनी वडा अध्यक्ष हुनपर्छ । उनी खाली हुनासाथ मैले भित्रबाट सोधे ‘तपाई वडा अध्यक्ष हो ?’ उनले होइन भनें । अर्कै व्यक्तिलाई देखाउदै वडा अध्यक्ष उनी हुन भनें । मलाई पत्यार लागेन । उनले पनि मेरो वारेमा पनि सोधे । आफु शिक्षक भएको र खोप लगाउन आउदा देखिको वेलिविस्तर लगाए । उनले आफ्नो परिचय लुकाएनन् । मैले पढाउने कजेलका प्रिन्सिपल उनको नातेदार रहेछन । मेरो अनुमान सहि ठहरियो । नागार्जुन नगरपालिका वडा नम्बर ०५ , राप्रपा बाट निर्वाचित वडा अध्यक्ष महेश रिमाल ।

खोप लगाउने ठाउँमा प्रहरी नायव उपरीक्षक आए । स्वास्थ्य कर्मी र वडा अध्यक्षलाई भन्दै थिए, भोलि सुरु बाटनै लक्षित उमेर समूहलाई मात्र खोप लगाउनु पर्छ । यस्तो भद्रगोल पाराले हुँदैन । त्यति नै बेला कोठामा उप प्राध्यापक चक्र बिष्ट आइपुगे । मैले उनको कुर्ची बाट निस्किए र उनलाई नै बस्न दिए ।उनी मलाई हेरेर खिसिक्क हासे  ।

उनलाई भेट्न एकजना अनुमानित ४० बर्ष उमेरको मान्छे आएका थिए  । उनले आफ्नो नागरिकता बिष्ट लाई दिए । बिष्टको हातमा अरु पनि १० ओटा जति नागरिकता थिए ।उनी नागरिकता लिएर बाहिर गए ।  मैले नागरिकता दिने व्यक्तिलाई सोधे ‘के को लागि नागरिकता दिनु भएको ?’ उनले भनें, ‘खोप लगाउन’ । मैले फेरी सोधे, ‘तपाई बिष्टको को पर्नु हुन्छ ?’ उनले भनें, ‘मेरो श्रीमतीले यहाँ सामाजिक विषय पढाउने गर्छिन । उनी पनि त्यहाबाट खोप लगाउन गए । म भनें हेरिरहे । हरेक कुरालाई गहिराइमा गएर बुझ्ने मेरो बानि भएकाले, घटनाक्रमलाई नियाल्दै त्यहा एक्लै बसिरहे ।

वृद्धलाई खोप अपुग, प्रहरी र स्वास्थ्यकर्मी निकटलाई खोप

स्वास्थ्यकर्मीले भन्दै थिए, ‘खोप सकिन लाग्यो, कार्ड भएकालाई पनि खोप लगाउन नपुग्ने भयो ।’ त्यहा खोप लगाउने आस लिएर बसेंका केहि मानिस घर फर्के । प्रहरी प्रमुखले भन्दै थिए, ‘केहि वृद्ध घन्टौ लाइनमा बसेंका छन् उनीहरुलाई जसरिपनि खोप लगाउनु पर्छ ।’ फेरी स्वास्थ्य कर्मीले अनुमानित २५ ओटा जति खोप मगाए ।

खोप केन्द्रमा मान्छे कम भइसकेका थिए । वडा अध्यक्ष महेश रिमाल भने त्यही थिए । उनले मलाई खोप कार्ड बनाउन जाउ भनेर इसारा गरे । मलाई भनें असहज महसुस भयो  । मनमा कुरा खेल्यो, पछि खोप लगाउन पाउने हो कि होइन । पहिले पनि खोप लगाउने अवशर गुमाएर अपसोच भैसकेकाले खोप कार्ड बनाउने ठाउँमा पुगे । त्यहा  छ/सात  जना मात्र मान्छे रहेछन । तिनले पनि कार्ड बनाई खोप लगाए ।

त्यतिखेरसम्म जम्मा ६ ओटा मात्र खोप बाकी थियो । बिष्ट अरु दुइ जना मान्छेको कार्ड बनाउन अनुरोध गर्दै थिए  । मलाई देखेपछि मेरो लागि पनि खोप कार्ड बनाइदिन अनुरोध गरे । एक वृद्धले पनि खोप कार्ड बनाउन अनुरोध गर्दै थिए । प्रहरीका एकजना, स्वास्थ्य कर्मिको एकजना,  एक स्वयंसेवक र अर्का एक युवक कार्ड बनाउन अनुरोध गर्दै थिए । जम्मा ६ वटा खोप बाकी थियो ८ जना खोप लगाउने मान्छे थिए ।

बिना खोप कार्ड खोप लगाएकाहरु

खोप कार्ड तयार गर्ने एक युवतीले भनिन ‘पख्नुहोस खोप कार्ड सकिन लाग्यो ।’ पहिले हामीसँग भएको परिचयपत्रको कार्ड बनाउ अनिमात्र कार्ड बाकी भयो भने खोप लगाउनु होला । उनी भन्दै थिइन्, जसरी हुन्छ आजै यो परिचयपत्रपत्र हरुको कार्ड झै बनाउनु पर्छ । नत्र आज लगाएको खोप संख्या र दर्ता नम्बर मिल्दैन । मैले के भनेको कुरा बुझ्न सकिरहेको थिइन । युवतीले त्यहा भएको एक जना मान्छेलाई भनिन, ‘तपाईसँग कतिवटा परिचयपत्र छ देखाउनु त ?’

ती व्यक्तिले, नागरिकता, नागरिकताको फोटोकपी, लाइसेन्स जस्ता ५० ओटा भन्दा बढी परिचयपत्र देखाए । कतिपय परिचयपत्र त सरकारी मान्यता प्राप्त वाला पनि थिएनन् । निजि कार्यालयको कार्ड, विद्यार्थी परिचयपत्र थिए । यी परिचयपत्र देखाउने व्यक्ति वडा अध्यक्षसँग निकट राजनीतिककर्मी रहेछन ।

जिउ बडीबिल्डरको जस्तो, पाखुरामा टाटु खोपको, जिउदो बाघलाई समात्न सक्ने जस्ता थिए । ५० भन्दा धेरै परिचयपत्र देखिएपछि ती युवतीले आश्चर्य मान्दै भनिन आम्म्म्मा  कत्ति धेरै । यो कहिलेलाई  ? त्यो कार्डवालाले भन्यो, आजकै हो सबैले खोप लगाएर गैसके ।

मैले बल्ल कुरा बुझे, त्यहा खोप कार्ड नबनाई खोप लगाईएको रहेछ । उनका निकटतमहरुले खोप लगाएर आफुसँग भएको परिचयपत्र छोडेर गएका रहेछन । त्यो युवतीको भनाइ थियो खोप लगाएकाहरुको कार्ड त्यही दिन बनाउनु पर्छ नत्र दर्ता नम्बर सँग मेल खादैन । ति युवतीले भनिन अब कार्ड नमगाई हुँदैन,  यो कार्ड ले पुग्दैन ।

कार्ड बनाउने अर्को मान्छे अब म सक्दिन भन्दै कलम छोडेर त्यहाबाट निस्के । उनीहरुको काम गर्ने समय ४ बजेसम्म रहेछ  । ४:३० भैसकेको थियो । अझ १ घण्टा थप लाग्ने निश्चित थियो । वडा अध्यक्ष महेश रिमालले कार्ड मगाए  । कार्ड आउने निश्चित भयो  । रिमालले मलाई भनें, ‘कार्ड पछि बनाएपनि हुन्छ, अहिले खोप लगाउनुस । म खोप लगाउने ठाउँमा गए । स्वास्थ्यकर्मीले खोप कार्ड मागे ।

मैले भनें, कार्ड सक्केकाले मगाउनुभएको छ, पछि बनाउने रे, अहिले खोप लगाउनु भनेकाले आएको । उनले खोप लगाइदिन मानिनन् । त्यतिनै बेला अध्यक्ष रिमालले खोप लगाइदिन इसारा गरे । स्वास्थ्यकर्मीले केहि नबोली खोप लगाइदिए । अरु बाँकीले पनि त्यसरी नै खोप लगाए । खोप सकियो  ।

कागजी सेटिङ : उमेर नपुगेका १७ वर्षेलाई पनि खोप

अध्यक्ष रिमालले मगाएको कार्ड पनि आयो । तर परिचयपत्र हेरेर खोप कार्ड भर्दिने मान्छे भएनन् । मात्र एक जना थिए । अध्यक्ष निकट बडीबिल्डरले कलम उठाए तर उसलाई मिति बाहेक केहि लेख्न आएन । मनमनै उसलाई गिज्जाए, ‘जिमखानामा गह्रौं फलाम उचाले जस्तो सजिलो हुन्न कलम उचाल्न, बल्ल थाहा पायौ ।’

यस्ता त राजनीतिककर्मी छन् त्यो पनि काठमाडौँ जस्तो सहरमा जो एउटा कार्ड भर्न सक्दैन । यसरी समाज कहिले अघि बढ्छ, मनमा चिन्ता पनि लाग्यो । मैले भनें, ‘खोई मलाई दिनुहोस म सहयोग गर्न सक्छु ।’

ती व्यक्तिले मलाई कलम दिए । म बाहिर बसेर तल बाटै अप्ठेरो गरी लेखें । अन्तिमसम्म पनि माथि आएर सजिलोसँग कुर्चीमा बसेर लेख कसैले भनेनन् । त्यहाँ भएकी युवतीले भर्न सिकाइन् । सेवाग्राही प्रतिमा नागरिकता भएको उमेर भर्नुपर्ने थियो । उनीहरुले राख्ने अर्धकट्टी कार्डमा चाही जुन उमेर समूहका भए पनि ६०-६४ लेख्नु पर्ने थियो  ।

उमेर भर्दा कसैको ६० कसैको ६१ गर्दै ६४ सम्म राख्नुपर्ने थियो । खोप लगाएको स्वास्थ्य संस्थाको ठाउँमा सहरी स्वास्थ्य केन्द्र ५ लेख्नुपर्ने थियो । खोपको नाम र व्याच नम्बर लेख्नुपर्ने थियो । लेख्दालेख्दा कन्ठै भइसकेको थियो verocell , २०२१०४०६४३  । खोप दिने स्वास्थ्यकर्मीको ठाउँमा सीता लेख्नु पर्ने थियो । नागरिकता हेर्दै भर्दै गर्दा पो थाहा भयो, उमेर नपुगेका १७ बर्षको मान्छेले पनि खोप लगाएका रहेछन् । सबै कार्ड भरेर सकियो ।

एक स्वास्थ्यकर्मीले भोलिपल्ट अर्थात् जेठ २७ को मिति राखी कार्ड बनाउन लगाइन । फोन नम्वर र नामको भरमा । उमेर आफै हचुवाको भरमा उमेर भन्दै थिइन् । यसरी १० जना जतिको कार्ड बनाएर उनले आफै लगिन । काम सकियो । कार्ड बनाउने युवतीले तपाइले जति सहयोग कुनैपनि स्वयंसेवकले गरेनन भन्दै मलाई धन्यवाद दिइन । मैले पनि वेलकम भन्दै खोपको लगाएको गुन तिरे भन्ने लग्यो ।

अत: सरकारले कोभिड नियन्त्रणका लागि एउटा विधि बनाएर जनतालाई भ्याक्सिन वितरण गरिरहेको छ । तर स्थानीय जनप्रतिनिधि, स्वास्थ्य कर्म, र केहि पुलिस अधिकारीहरु मिलेर अनुचित ढंगले वितरण गरिरहेका छन्  । स्वेच्छाचारिताले सीमा नाघेको छ ।

पहुँच हुने जोकोहीले पनि खोप लगाईरहेका छन्, नहुनेहरु विधिमा  पर्नेले  पनि खोप लागाउन सकेका छैनन् । खोप लगाउन पाउनेहरु मौन छन्, नपाउनेको पहुच छैन । कसैलाई उजुरी गर्नसक्ने अवस्था छैन । नगरपालिका, वडा, स्वास्थ्य कर्मी र प्रहरीका विरुद्ध बोल्न नसक्ने बुझेका छन् ।

यो एउटा खोप केन्द्रको यथार्थ कथा हो । प्राय सबै केन्द्रको स्थिति यही छ । यस किसिमको कार्यलाई समयमै नियन्त्रण गर्नु जरुरत छ । बिधि र प्रक्रियामा रही खोप बितरण गर्नु पर्ने छ । यसो हुन सकेन भनें खोप वितरणले समाजमा राम्रो भन्दा नराम्रो असर पार्ने छ ।

 

खोप केन्द्रको कथा खोपमा संस्थागत मनपरी

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १४:००

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट