sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

लकडाउनमै ‘गभर्मेन्ट डाउन’ गर्ने माओवादी र कांग्रेसको तयारी

लकडाउनमै ‘गभर्मेन्ट डाउन’ गर्ने माओवादी र कांग्रेसको तयारी

images

सूत्र न्यूज

२५ बैशाख २०७८
  • 1.2K
    SHARES
  • लकडाउनमै ‘गभर्मेन्ट डाउन’ गर्ने माओवादी र कांग्रेसको तयारी

    काठमाडौं- निषेधाज्ञाकै बीचमा सरकार ढलाउने उद्देश्यका साथ कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ ।

    माओवादी उच्च स्रोतले सूत्रन्यूजलाई दिएको जानकारीअनुसार केही दिनमा संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष समावेदन हाल्ने तयारी छ ।

    राष्ट्रपतिले विशेष अधिवेशन बोलाएलगत्तै संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । अविश्वासको प्रस्ताव दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) पनि सकारात्मक रहेको एक माओवादी नेताले बताए ।

    'यो लकडाउनमै गभर्मेन्ट डाउन हुन्छ, विश्वासका साथ ती नेताले भने, 'यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । अबको केही दिनमा यो सरकार ढलेर अग्रगामी शक्तिहरूको बीचमा गठबन्धन बन्नेछ ।'

    अहिलेसम्म एमसीसी बाधक !

    प्रतिनिधिसभा पुनर्थापना लगत्तै प्रधानमन्त्री ओलीको विकल्पमा नयाँ सरकारको गृहकार्य अघि बढेको थियो । तर कांग्रेस र जसपाले निर्णय नदिँदा २ महिना बढी भइसक्दा पनि नयाँ सरकार गठनमा कुनै प्रगति हुन सकेको थिएन ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी पास हुनुपर्ने अडान राखेपछि माओवादी पक्ष ब्याक भएको थियो । नयाँ गठबन्धनका लागि अमेरिकी सहायता परियोजना (एमसीसी) पास हुनुपर्ने अन्यथा यही सरकारलाई समर्थन दिने देउवाको अडानले असहमति हुन सकेको थिएन ।

    तर पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति देउवाबीच एमसीसी पास गर्नेबारे सहमति भएको छ । एमसीसी अगाडि संसदमा नेपाल कुनै सैन्य गुटको पक्षपाति नहुने भन्दै संकल्प प्रस्ताव पारित गर्ने गरी प्रचण्ड र देउवा अघि बढेका छन् ।

    एमसीसीमा माओवादीभित्रै दुई धार

    कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीका पक्षमा देउवाको अडान मान्ने भएपछि माओवादीमा यसलाई लिएर दुई धार पैदा भएको छ ।

    स्थायी कमिटी सदस्य लिलामणि पोखरेल र देव गुरुङ लगायतका नेताहरूले एमसीसी कुनै पनि हालतमा पारित हुन नहुने बताइरहेका छन् । सूत्रन्यूजसँग कुरा गर्दै गुरुङले भने, 'यो सरकारको विस्थापन अनिवार्य छ, तर त्यसका लागि राष्ट्रिय सार्वभौमसत्तामै खलल पर्ने गरी अमेरिकी सहयोग लिनुपर्ने शर्त भने स्वीकार्य हुँदैन ।'

    प्रचण्ड र देउवाबीच सहमति भइसकेको छ नि भन्ने प्रश्नमा गुरुङले भने, 'हामीलाई अहिलेसम्म त्यो जानकारी छैन ।'

    अध्यक्ष प्रचण्ड एमसीसीविरुद्धमा देखिएर अमेरिकालाई चिढ्याउने पक्षमा छैनन् । उनले धेरै पहिलादेखि एमसीसी परिमार्जनसहित पास हुनुपर्ने वक्तव्य दिँदै आएका छन् ।

    एमसीसी कांग्रेसकै एजेण्डा

    माओवादी केन्द्रसँगको गठबन्धनमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौतासहित एमसीसीलाई अघि बढाउने निर्णय गरेका थिए ।

    त्यतिबेला सत्ता सहकार्य गरेका प्रचण्डलाई यो विषय थाहा नहुने कुरै भएन । त्यसैले पनि एमसीसी प्रति प्रचण्ड सकारात्मक रहँदै आएका छन् ।

    तत्कालीन नेकपाभित्र एमसीसीलाई लिएर तीव्र मतभेद भएको थियो । २०७६ सालको माघमा बसेको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा एमसीसी अध्ययन कार्यदलसमेत गठन गरेको थियो ।

    कार्यदलले त्यतिबेलै परिमार्जनसहित एमसीसी पारित गर्नुपर्ने भन्दै प्रतिवेदन पेश गरेको थियो । तर ओलीले बिनापरिमार्जन एमसीसी संसदमा पेश हुनुपर्ने माग राखेपछि नेकपाभित्रै ठूलो समस्याका रूपमा एमसीसी अघि आएको हो ।

    नयाँ सरकारमा प्रधानमन्त्री देउवा, गृहमन्त्री जनार्दन र अर्थमन्त्री बालकृष्ण !

    स्रोतका अनुसार प्रचण्ड र देउवाबीच सरकारमा कसलाई लैजाने भन्ने पनि छलफल चलिरहेको छ । कांग्रेसनिकट स्रोतका अनुसार देउवा प्रधानमन्त्री हुने, माओवादी केन्द्रका तर्फबाट सरकारको नेतृत्व गर्दै गृहमन्त्रीका रूपमा जनार्दन शर्मा जाने र अर्थमन्त्री बालकृष्ण खाण बन्ने प्रबल सम्भावना रहेको छ ।

    जसपालाई उपसभामुख, केही महत्त्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री दिन सकिनेबारे प्रचण्ड र देउवाबीच छलफल चलिरहेको छ । एमालेकै माधव पक्षबाट फ्लोर क्रस भयो भने उपहारस्वरूप केही मन्त्रालय उनीहरूलाई दिन दुवै नेताहरू तयार छन् ।

    कति छ नेपाल पक्षले फ्लोर क्रस गर्न सक्ने सम्भावना ?

    कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा माधव समूहका ४ सांसदले फ्लोर क्रस गरेका थिए । अहिले उनीहरूमाथि कारबाही भइसकेको छ ।

    ओलीलाई जसरी पनि सत्ताच्यूत गराउने शर्तमा खनाल-नेपाल समूहले फ्लोर क्रस गर्ने प्रतिबद्धता जाहेर गरिसकेका छन् । एक साताअघि नेपाल र खनाल दुवै जना देउवानिवास बुढानीलकण्ठ पुगेर यस्तो प्रतिबद्धता जनाएका थिए ।

    त्यस्तै नेपाल प्रचण्डसँग पनि निरन्तर संवादमा देखिन्छन् । नयाँ गठबन्धनका लागि नेपाल समूहले फ्लोर क्रस गर्नेमा देउवा र प्रचण्ड विश्वस्त देखिन्छन् ।

    देउवाकै नेतृत्वमा चुनावमा जाने सहमति

    प्रचण्ड र देउवाबीच देउवाकै नेतृत्वमा चुनावमा जाने सहमतिसमेत भएको छ । अब स्थानीय निकायको चुनावका लागि जम्मा एक वर्ष बाँकी रहेको छ भने केन्द्र र संघको निर्वाचन हुन डेढ वर्ष बाँकी छ ।

    सुरुमा देउवा अर्ली इलेक्सनको पक्षमा रहेपनि ओलीकै नेतृत्वमा चुनावमा जाँदा धाँधली हुन सक्ने र कांग्रेस हार्न सक्ने भन्दै देउवा पछि हटेका हुन् ।

    अहिले प्रधानमन्त्री भएपछि भदौमा हुने महाधिवेशन प्रभावित पारेर आफैं सभापति हुन सकिनेसमेत देउवाको आंकलन रहेको छ ।


    प्रकाशित :बैशाख २५, २०७८ शनिवार - ०८:४५:१३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.