sutra news logo

शुक्रवार, आषाढ ४ गते २०७८

शेखरसँग गगनको सहकार्य भए देउवाले यसरी गुमाउनेछन् कांग्रेस सत्ता, पौडेलको के होला?

शेखरसँग गगनको सहकार्य भए देउवाले यसरी गुमाउनेछन् कांग्रेस सत्ता, पौडेलको के होला?

images

सूत्र न्यूज

४ बैशाख २०७८
  • 3.0K
    SHARES
  • शेखरसँग गगनको सहकार्य भए देउवाले यसरी गुमाउनेछन् कांग्रेस सत्ता, पौडेलको के होला?

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न १४ औं महाधिवेशनलाई सार्न चहान्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्ली इलेक्शनमा सहमति गर्दै दुई तिहाई बहुमतका आधारमा संविधान संशोधन गर्दै ७ भदौदेखिका लागि तय भएको महाधिवेशन सार्ने पक्षमा देउवा उभिएका छन्।

    तर यसको बाधक बनिरहेका छन्, रामचन्द्र पौडेल। अहिले ओलीविरुद्धको विकल्पमा सरकार गठन गर्ने र तोकिएको समयमा नै महाधिवेशन गराउन उनी जोडबल गरिरहेका छन्। पौडेलको मन राखिदिन देउवाले एमालेइतरका तीन दलको बैठक त डाकेका छन् तर निरन्तरता दिएका छैनन्। बरु, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रामचन्द्रलाई उनले स्पष्ट बहुमतको खाका ल्याउन भनेका छन्।

    जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत ओलीसँग नजिक रहेको विवरण उनले सुनाएपछि केन्द्रीय राजनीति एकातिर राखेर देउवा महाधिवेशनमा आफ्नो सत्ता कायम राख्ने रणनीतिमा तल्लिन छन्। यद्यपि देउवाका लागि कांग्रेसको आगामी नेतृत्व लिने चाहना यति सजिलो भने छैन। उनकै खेमाका उपसभापति विमलेन्द्र निधिका कतिपय सर्तले उनलाई भोक न निद्राको बनाएको छ। निधिले देउवालाई युवा पुस्ताका शेखर कोइरालाको मत विभाजनका लागि विश्वप्रकाश शर्मा र गगन थापालाई महामन्त्रीमा रोक्नुपर्ने सर्त अघि सारेका हुन्।

    कांग्रेस स्रोतले भन्यो,‘सभापतिमा देउवालाई अर्को कार्यकाल लिनुपर्ने भए उपसभापतिमा निधिलाई निरन्तरता दिँदै प्रभावकारी पुस्ता रहेका शर्मा र थापालाई केन्द्रीय सदस्यमा मात्रै सीमित राख्नुपर्ने सर्त छ, यस विषयमा सभापतिको स्पष्ट सहमति खोजिएको छ।’

    कोइराला परिवार भने जसरी पनि कांग्रेसको आगामी सत्ता आफ्नो काखमा ल्याउनुपर्ने भन्दै एकतामा जुटिसकेको छ। ज्येष्ठ मध्येका शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाको मत मिलेको छ। शेखरले आगामी सभापतिको दाबेदारीका लागि देशव्यापी कार्यकर्ता सम्बोधनको शिलशिलालाई कायम राखेका छन् भने समीकरणका हिसाबले युवा पुस्ताका गगन थापालाई महामन्त्रीको पद दिएर प्यानल बनाउने तयारी गरेका छन्।

    जुन देउवाका लागि निक्कै भयानक चुनौति हुने प्रक्षेपण गरिएको छ। ‘यस्तो समीकरण बन्नुअघि सभापतिले महाधिवेशन सार्नका लागि ओलीसँग साँठगाँठ गर्ने र चुनाव भए टिकट बाँडेर महाधिवेशनमा आफूलाई सहज बनाउने तयारी गरेका छन्’, स्रोतले भन्यो।

    अहिले ७ जिल्लामा कांग्रेको क्रियाशील सदस्यता विवादलाई समाधान गर्नका लागि देउवा तत्पर नदेखिनुको पछाडि पनि यस्तै कारण रहेको बताउँछन् कतिपय कांग्रेसीजन।
    महाधिवेशन हुने नै भयो र थापा यसरी अगाडि आए देउवा प्यानलमा रहेका निधिले सभापति पदमा आफूलाई उभ्याउने स्पष्ट छ।

    उता प्रकाशमान सिंह, कृष्ण सिटौला, रामशरण महतलगायतको दाउ पनि सभापतिमा नै रहेको पाइन्छ। सभापति नपाएको खण्डमा कांग्रेसमा आफ्नो पकडका लागि तेस्रो समीकरणको तयारी यो पक्षले गरेको बताइन्छ। ‘प्रकाशमानले त अहिले नै संसदीय दलको नेता माग गर्दै विकल्पको सरकारमा प्रधानमन्त्री बनाए सभापतिमा दाबी नगर्ने पनि भन्नुभएको छ’, स्रोतले भन्यो,‘तर सभापति देउवा यसमा सकारात्मक देखिनुभएको छैन।’
    अर्कातिर १३ औं महाधिवेशनमा सघाएका सिटौलालाई पनि देउवाले विश्वासका लिनुपर्ने देखिएको छ। त्यसबेला सभापतिमा उठेर पहिलो राउन्डमा बिजेता घोषणामा बाधक बनेका सिटौलाले दोस्रो राउन्डमा देउवाको साथ दिएका थिए।

    ‘सिटौला पनि एउटा बलियो फ्याक्टर हुन्। देउवाले यो कुरा बुझेका छन्। त्यसैले तत्काल नेता व्यवस्थापनमा असहज हुने र आफैं नेतृत्वमा आउने उनको सपनामा पनि धक्का लाग्ने भएकाले आम चुनावका पक्षमा उभिएका हुन्’, स्रोतले भन्यो,‘आम चुनाव भयो भने कांग्रेसले बहुमत ल्याउने र त्यसको जससहित महाधिवेशनमा सभापति जित्ने देउवाको धोको छ।’

    अघिल्लो आम चुनावमा सभापति रहँदै गर्दा कांग्रेसको अवस्था कमजोर हुनेगरी परिणाम आएको भनी देउवाको आलोचना भएको थियो। यति मात्र नभएर स्थानीय तहको चुनावमा माओवादीसँग गठबन्धन गरेको र सोही गठबन्धनलाई निरन्तरता दिन नसकेको भनी आलोचना भएको थियो।

    उता बरिष्ठ नेता रामचन्द्रलाई भने १४ औं महाधिवेशनमा कुनै पनि खेमाले वास्ता गरेका छैनन्। उनी सभापति हुने दाउमा छन् तर कुनै पनि खेमाले वास्ता नगरेका कारण देउवासँग नै बार्गेनिङमा उत्रिन सक्ने बताइन्छ। सभापतिमा आफूलाई सहयोग गरे उपसभापतिमा देउवापत्नी आरजु राणालाई ल्याउने पौडेलको सर्त हुन सक्ने अनुमान धेरैले गरेका छन्। यद्यपि, विविध समीकरणका चर्चा चले पनि कोइराला परिवारको समीकरण भत्काउन नसके देउवाले कांग्रेस सत्तामा पुनः उदय गर्न मुस्किलप्रायः रहेको बताइन्छ।



    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.