Logo

मुख्यसचिवमा बैरागीको नियुक्ति, परराष्ट्र सेवाका लागि ‘न भूतो, न भविष्यति’



काठमाडौं- परराष्ट्र सेवाबाट मुख्यसचिव बनेर परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले रेकर्ड कायम गरेका छन्। यसअघि यसरी कुनै पनि परराष्ट्र मन्त्रालयका कुनै पनि सचिवले यसरी सिधै मुख्यसचिव बन्ने अवसर प्राप्त गरेका थिएनन्।

बिहीबार बिहान आकस्मिक रूपमा डाकिएको मन्त्रिपरिषदको बैठकले परराष्ट्र सचिव बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। बैरागीलाई यो जिम्मेवारी प्रदान गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई कुनै मुलुकको राजदूत बनाउने गरी राजीनामा मागिएको थियो।

मुख्यसचिव रेग्मीको पाँच वर्षे पदावधि आगामी ४ कार्तिकमा सकिँदै थियो। रेग्मीको कार्यकाल सकिनु अघि नै २२ असोजमा परराष्ट्र सचिव बैरागीको पनि कार्यकाल सकिने भएकाले त्यसअगावै रेग्मीलाई बेलायतको राजदूत बनाउने विश्वास दिलाएर सरकारले उनको राजीनामा मागेको थियो।

तीन हप्ता पछि नियमित रुपमा अवकास प्राप्त गरेर त्यत्तिकै रहनु भन्दा राजीनामा दिएर राजदूत बन्नु रेग्मीका लागि पनि लाभदायक थियो। त्यसैले, आफूलाई राजदूत बनाइने भएपनि मुख्यसचिव रेग्मीले सहजै राजीनामा बुझाए, जसका कारण बैरागीलाई मुख्यसचिव बन्ने बाटो खुल्यो।

२०५१ मा एमालेको अल्पमतको सरकार बनेका बेला तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री माधव नेपालको स्वकीय सचिव रहेका बैरागी दुई वर्षअघिदेखि नै मुख्य सचिव बन्ने दौडमा लागिसकेका थिए। र, त्यसक्रममा प्राप्त केही अवसरलाई त्यागेका पनि थिए।

यसअघि यसरी परराष्ट्र मन्त्रालयका कुनै पनि सचिवले मुख्यसचिव बन्ने अवसर पाएका थिएनन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीको भनाइमा, बैरागीले पाएको यो जिम्मेवारी परराष्ट्र सेवाका हकमा ‘न भूतो’ त हुँदै हो, लामो समयका लागि यस्तो अवसर ‘न भविष्यति’ बन्ने स्थिति छ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा नेपालको स्थायी प्रतिनिधि रहेका डा.दुर्गाप्रसाद भट्टराईको दुई वर्षअघि पदावधि सकिएपछि सरकारले सचिव बैरागीलाई सोही जिम्मेवारी दिएर पठाउन खोजेको थियो। तर,बैरागीले त्यसमा इच्छा प्रकट गरेनन्।

त्यसअघि अक्सर परराष्ट्र सचिवलाई नै न्यूयोर्क मुख्यालयमा स्थायी प्रतिनिधि पठाउने गरिएको थियो। तर, बैरागी त्यसका लागि इच्छुक नदेखिएपछि सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई न्यूयोर्क नियोगको जिम्मेवारी दिएर पठायो।

मुख्य सचिवको दौडमा बैरागीका अलावा सचिवद्वय केदारबहादुर अधिकारी र चन्द्र घिमिरे पनि थिए। यसमध्ये घिमिरेलाई मुख्य सचिवको प्रबल दावेदार मानिएको थियो। तर, न्यूयोर्कको जस्तो आकर्षक जिम्मेवारी त्यागेर बसेका बैरागी नै बाजी मार्न सफल भए।

२०४४ मा सुब्बा पदबाट परराष्ट्र सेवामा प्रवेश गरेका बैरागीले विदेशस्थित नेपालका विभिन्न नियोगहरुमा विभिन्न पदमा रही काम गरिसकेका छन्। परराष्ट्रको कामु सचिव हुनुअघि उनी जेनेभास्थित राष्ट्रसंघीय नियोगमा नेपालको स्थायी प्रतिनिधि (राजदूत) थिए।

तर, तत्कालिन परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई कार्यकालको अन्त्यतिर जब न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगको प्रमुख बनाएर पठाइयो, परराष्ट्र सचिवको पद खालि हुने भयो। त्यसैले, राजदूतको कार्यकाल नसकिँदै परराष्ट्र मन्त्रालयको प्रशासनिक नेतृत्वका लागि बैरागीलाई फिर्ता बोलाइयो।

परराष्ट्र मन्त्रालयका बरिष्ठ सहसचिव भएपनि सचिव बन्ने अवधि नपुगेका कारण उनले दुई वर्ष निमित्त सचिवका रूपमा मन्त्रालयलाई प्रशासनिक नेतृत्व दिए। त्यसपछि पाँच बर्षअघि उनलाई परराष्ट्र सचिव बनाइयो। उनले यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे।

यसअघि यसरी परराष्ट्र मन्त्रालयका कुनै पनि सचिवले मुख्यसचिव बन्ने अवसर पाएका थिएनन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीको भनाइमा, बैरागीले पाएको यो जिम्मेवारी परराष्ट्र सेवाका हकमा ‘न भूतो’ त हुँदै हो, लामो समयका लागि यस्तो अवसर ‘न भविष्यति’ बन्ने स्थिति छ।

अधिकांश परराष्ट्र सचिवहरू आफ्नो कार्यकालको अन्त्यमा विभिन्न महत्वपूर्ण देशस्थित नियोगको प्रमुख (राजदूत) बनेर जाने गरेका छन्। कतिपयले परराष्ट्र सचिव छँदै मुख्य सचिव बन्ने दौडमा उनीहरू लागेनन्।

वि.सं २०५० को मध्यतिर दामोदरप्रसाद गौतमपछि सरकारले तत्कालिन परराष्ट्र सचिव नरेन्द्रबिक्रम शाहलाई मुख्य सचिव बनाउन खोजेको थियो। पूर्वपरराष्ट्र सचिव डा.मदन भट्टराईका भनाइमा, लामो समय परराष्ट्र सेवामा बिताएका शाहले मुख्य सचिव बन्न इच्छा देखाएनन्।

परराष्ट्र मन्त्रालयको प्रशासनिक नेतृत्व गरिसकेका व्यक्तिहरू मुख्य सचिव नभएका भने होइनन्। यस्तो अवसर २०१७ पछि शोभागजङ् थापाले पाएका थिए। तर, बैरागी जस्तो उनी परराष्ट्र सचिवबाटै सिधै मुख्यसचिव भएका थिएनन्।

नेपाली सेनाको अधिकृतको रूपमा दोस्रो विश्वयुद्धमा भाग लिएका थापा ०७ पछि निजामती सेवामा स्थानान्तरण भएका थिए। तत्कालिन परराष्ट्र सचिव रामप्रसाद मानन्धरलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएपछि रक्षा मन्त्रालयका सचिव थापालाई परराष्ट्र सचिवको जिम्मेवारी दिइएको थियो।

०१७ को परिवर्तनताका थापा रक्षा मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए। तर, केही वर्षपछि नै राजा महेन्द्रले केही वर्षपछि नै उनको आवस्यकता देखे। र,उनलाई निजामती सेवामा ल्याएर रक्षा सचिव र अनि ‘क्याविनेट सेक्रेटरी’ को जिम्मेवारी दिए।

‘त्यो बेलाको क्याविनेट सेक्रेटरी भन्ने पद अहिलेको मुख्यसचिव सरहकै जिम्मेवारी थियो’ डा.भट्टराईले भने, ‘तर, थापा परराष्ट्र सचिवलगत्तै क्याविनेट सेक्रेटरी बन्नु भएको होइन। उहाँको करिअर परराष्ट्र सेवाबाट सुरु भएको पनि होइन।’

बैरागीले मुख्य सचिवको जिम्मेवारी पाएपछि रिक्त परराष्ट्र सचिव पदमा कसको नियुक्ति होला भन्ने चासो स्वभाविक रूपमा बढेको छ। वरिष्ठतम सहसचिव भएकाले परराष्ट्र सचिवको जिम्मेवारी भरतराज पौड्यालले पाउने प्रबल सम्भावना छ। उनी हाल परराष्ट्र मन्त्रालयका प्रवक्ता समेत छन्।

चार वर्षअघि पाकिस्तानको राजदूत रहेका पौड्याल त्यसयता लगातार परराष्ट्र मन्त्रालयमा विभिन्न महाशाखा प्रमुखको जिम्मेवारीमा छन्। वरिष्ठ सहसचिवका रूपमा महत्वपूर्ण मुलुकमा राजदूत बन्ने अवसर भएपनि परराष्ट्र सचिवको जिम्मेवारीकै लागि उनलाई राजदूत नबनाइएको हुनसक्छ।

शंकरदास बैरागी

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १२:५८

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल