Logo

‘बिहेपछि संगीत क्षेत्रकै मान्छेहरुले ‘रजिनाले अब गाउन छोडी’ भन्दै अफवाह फैलाए’ [भिडियो]



‘पानीको फोकाजस्तै’, ‘म मर्ने बेला’, ‘नाइ नभन्नु ल’, ‘सयौँ जुनी’लगायत थुप्रै हिट गीत गाइसकेकी गायिका हुन्, रजिना रिमाल। तर, व्यवसायी विनोद श्रेष्ठसँग बिहे गरेपछि धेरैले उनलाई हराएको, गायब भएको गुनासो गर्ने गर्छन्। रजिना स्वयं भन्छिन्, ‘संगीत क्षेत्रकै मान्छेहरुले ‘रजिनाले अब गाउन छोडी’ भन्दै अफवाह फैलाएछन्।’ त्यसोभए सत्य के हो त? उनीसँग अनिल यादवले गरेको कुराकानी:

‘लकडाउन लाइफ’ कसरी बित्यो?

घरको काममै बित्यो भन्दा पनि हुन्छ (हाँस्दै)। खाना पकाउ, सरसफाइ गर, यस्तो-यस्तोमै बित्यो।

गीत कत्तिको गाइरहनुभएको छ नि?

अँ, गाइरहेको छु। यो महामारीपछि पनि ५-६ वटा गीत रेकर्डिङ गरेँ। अब रिलिजको क्रममा छ।

महामारीकै बीचमा गीत रेकर्ड गरिरहनुभएको रहेछ। तर, बजारमा त बिहेपछि रजिना रिमाल हरायो, सुस्तायो भन्ने हल्ला व्यापक सुनिन्छ। त्यसमाथि तपाईँको गीतले पहिलेजस्तो चर्चा पनि पाइरहेको छैन। यसमा तपाईँको धारणा?

पछिल्लो ७-८ महिनामा मलाई के महसुस भयो भने हामी महिलाहरुको मुद्दामा निकै पछाडि रहेछौँ। बिहे हुनेवित्तिकै धेरै संगीत क्षेत्रकै मान्छेहरुले ‘रजिनाले अब गाउन छाड्यो’ भनेर अफवाह फैलाएछन्। एउटा उदाहरण नै दिन्छु, एकजना संगीतकारमार्फत् मलाई युएसमा कार्यक्रमका लागि कुरा आएको रहेछ। पहिला त, मेरो नम्बर नै दिनु भएनछ। अनि कार्यक्रमका लागि कुरा गर्दा पनि ‘हैन बिहेपछि ऊ त अब गीत गाउँदैन, घरतिरै बिजी भा’छ’ भन्दिनुभएछ।

म त चकित भएँ। कति सानो सोच रहेछ, आफैँ सोच्नुस् त! अझै पनि मान्छेहरु महिलाहरुलाई कस्तो सोचमा लिँदारहेछन् त? त्यही बिहे गर्नुपर्‍यो, घर सम्हाल्नुपर्‍यो, आफ्नो सासु-ससुराको हेरचाह गर्नुपर्‍यो अनि लाइफ सकियो। मैले संगीतमा जम्नका लागि सानै उमेरदेखि कति मिहेनत गरेको छु र यसका लागि मेरो बुबा-आमाले कतिसम्म त्याग गर्नुभएको छ, मलाई चिन्ने मेरा नजिकका मान्छेहरुले त्यो राम्रो सँग महसुस गर्न सक्छन्। यति मिहनेत गरेर आ’को छु, मान्छेहरु सजिलै ‘यसले बिहे गर्‍यो अब करिअर सिध्यो’ भन्छन्, अनि त्यो कुराले निकै मन दुख्नेरहेछ। मेरो गीतले पहिलेजस्तो चर्चा कमाएको छैन होला, तर गीत त गाइरहेको छु नि। मान्छेको चर्चा सधैँ एकनाश हुँदैन, तर एउटा सत्य के हो भने मेरो सास रहन्जुल म संगीतमा रहिरहन्छु।

धेरै उदाहरण छन्, जो परिवारले नचाहँदा-नचाहँदै कला क्षेत्रमा आए। तर, तपाईँचाहिँ बुबाकै प्रोत्साहनका कारण सानै उमेरदेखि संगीतमा लाग्नुभयो है?

बुबा त मेरो लागि यस्तो जग भएर उभिनुभयो कि कसैले हल्लाएर, कसैले फुटाएर पनि नहल्लिने भयो। बुबाको अगाडि त मैले केही पनि संघर्ष गरेको छुजस्तो लाग्दैन। त्यो बेला छोरी मान्छेलाई संगीतमा लाग्न एकदमै गाह्रो थियो, तर मेरो बुबाले राम्रो गुरु खोजेर मलाई क्लासिकल म्युजिक सिकाउनुभयो। त्यो बेला संगीत सिक्न सहज थिएन, तर मैले ८ वर्षदेखि संगीत सिक्न थाले। आजसम्म मैले कुनै पनि इन्टरभ्युमा भनेको छैन, तर पहिलोपल्ट यही इन्टरभ्युमा भन्छु, मान्छे सोच्यो भने दंग पर्छ होला, पढाइका लागि जसले पनि गर्छ होला, तर मेरो ड्याडले मलाई एल्बमका निकाल्नका लागि एउटा घर नै बेच्नुभएको छ।

(बोल्दाबोल्दै रजिनाको गला अवरुद्ध भयो । एक्कासी भक्कानिइन् । आँखाबाट आँशु झर्‍यो । भनिन्, ‘सरी,बच्चाको आमा भएपछि अलि इमोसनल हुन थालेकी छु । तर सत्य के हो भने मेरो बुबाआमा मेरो लागि त भगवान नै हुन्।’ 

rejina3.jpg

त्यतिबेला तपाईँको उमेर १४ वर्षमात्रै थियो, है‍?

हो। मेरो ड्याडले धेरै गर्नुभएको छ, मेरा लागि। उहाँले मलाई संगीतमा यसरी ठेल्नु भयो कि त्यहीकारण आज म यहाँसम्म आइपुग्न सकेँ। अनि, मान्छेहरु आज सहजै ‘रजिनाले गीत संगीत छोड्यो’ भनेर धारणा बनाउँदा चित्त दुखेर आउँछ क्या।

तपाईँको श्रीमान् त बिजनेसम्यान, शहरको चर्चित श्रेष्ठ टेलरिङको सञ्चालक। यही कारण गीत रेकर्ड गराउन जाँदा तपाईँलाई धेरैले भिडियोका लागि स्पोन्सर गरिदिन आग्रह गरेर हैरान पार्छन् भन्ने सुनेको थिएँ। सत्य हो?

यो त मनकै कुरा चोरेजस्तै भयो। कसैले सोधिदियोस् भन्ने लागिरहेको थियो। मेरो श्रीमान्को एउटा पेसा छ र मेरो गीत गाउने अर्को पेसा। तर एक-अर्काको पेसालाई ‘मिक्सअप’ गर्न मलाई कहिल्यै मन लागेन। मैले मेरो श्रीमानलाई अहिलेसम्म मुख फोडेर मेरा लागि एउटा गीत निकाल्दिनुस् भनेको छैन। न उहाँले नै म तिम्रो लागि एउटा गीत निकाल्दिन्छु भन्नुभएको छ। हामी दुवैबीच त्यो समझदारी छ। तर, तेस्रो व्यक्तिले आएर अर्थात् मैले कुनै मुभीमा गाएको छु भने त्यो मुभीबाट श्रेष्ठ टेलरिङले स्पोन्सर गरिदिन्छ कि भन्ने खालको कुरा आउँदा अचम्म लाग्छ। कुनै कार्यक्रममा जुरी बस्न गएको छु भने श्रेष्ठ टेलरिङ कपडाहरु स्पोन्सर गरिदिन्छ कि टाइपको कुरा आउँछ। यस्तो प्रस्ताव आउँदा मलाई अप्ठेरो लाग्ने के। नाई भनुँ भने आफ्नै पसल हो। हुन्छ पनि भनुँ कसरी? त्यसैले यस्तो प्रस्ताव आउँदा धेरैपल्ट म दुविधामा पर्छु। त्यसैले यो कुराचाहिँ मेरो लागि टाउको दुखाइकै विषय बनेको छ हौ (हाँस्दै)।

rejina2.jpg

तपाईँका लागि सफलता के हो?

आफ्नै मनको भ्रममात्रै होजस्तो लाग्छ। सफलताको मापन कसरी गर्ने हो र? यो त मनमनै मनन गर्ने कुरा हो। बाँकी त सब भ्रम हुन् (हाँस्दै)।

सेलिब्रेटी भइसकेपछि एउटा समय हुन्छ जतिबेला उसको सर्वत्र चर्चा हुन्छ, जताततै उसकै वाहवाही हुन्छ, अटोग्राफ माग्नेहरुको उस्तै लाइन हुन्छ। तर, फेरि समय यस्तो पनि आउँछ कि उसँग त्यो समय फुत्किएर जान्छ, है?

मलाई त के लाग्छ भने नेपालको हकमा कलाकारहरुको बलिउडमा जस्तो ठूलो चार्म छैन। तर मैले अघि नै भनेजस्तो सफलता मेरो लागि एउटा भ्रमजस्तै हो। मैले कहिल्यै पनि म यो ठाउँसम्म पुग्नुपर्छ भन्ने भावना दिमागमा राख्नै दिइनँ। कार्यक्रममा जाँदा स्टेज चढ्नुअघि सेल्फी खिचाएरै थाकिसकेका दिनहरु पनि हुन्थे। त्यो एउटा टाइम पनि थियो। अहिले पनि फ्यानहरु नहुने होइन, छन्। लास्ट टाइम, झापामा मेरो छोरा लिएर कार्यक्रम गर्न जाँदा पनि उत्तिकै माया पाएको थिएँ। यद्यपि मैले कहिल्यै पनि हिजो म सफल थिएँ, आज छैन, तर हुनुपर्छ भन्ने खालको भावना राखेको छैन। राखेको भए म अहिले धेरै डिप्रेसनमा गइसकेको हुन्थे।

भनेपछि वाहवाही देखेर कहिल्यै पुलकित हुनुभएन?

हो, भइनँ म। ‘अप्स एन्ड डाउन’ कसको जीवनमा हुँदैन र? त्यसैले मान्छेले कहिल्यै पनि म आज यो ठाउँमा छु, अब कहिल्यै तल झर्दै झर्दिनँ भनेर नसोच्नु। त्यसैले म मेरो श्रीमानलाई पनि भन्ने गर्छु- म टिकिरहन्छु भन्ने कुरा दिमागमा राख्नुहुँदैन। म झर्न पनि सक्छु र त्यतिबेला मसँग अर्को साइड पनि छ भन्ने पनि सोच्नुपर्छ।

बाँकी कुरा भिडियोमा हेर्नुस्:

रजिना रिमाल संगीत

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार २२:४६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter