Logo

कहाँ छ नेपाल-चीनबीचको ११ नम्बर सीमास्तम्भ, बनाउन कति प्रयोग भयो सिमेन्ट, बालुवा र रोडा ?



काठमाडौं– हुम्लाको नाम्चा गाउँपालिका–६ मा पर्ने नपाली भूमिमा चिनियाँ पक्षले ११ वटा भवन बनाएको ‘हल्ला’ ले निकै चर्चा पायो। सो गाउँपालिका लिमी क्षेत्रमा पर्ने ११ नम्बर सीमास्तम्भ पनि हराएको र नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको दावी स्थानीयवासीले गरेपछि माहोल गर्माउनु स्वभाविक पनि थियो।

तर,स्थानीयवासीले दावी गरे अनुसार चिनियाँ पक्षले सीमा अतिक्रमण नगरेको दावी परराष्ट्र मन्त्रालय (नेपाल) र काठमाडौंस्थित चिनियाँ दूतावास दुवैले गरिसकेका छन्। नाम्चा गाउँपालिका प्रमुख विष्णुबहादुर लामाले पनि त्यो भू-भाग स्थानीयवासीले चरिचरनका लागि प्रयोग गर्ने गरेको र आफूहरूले चिनियाँ पक्षले सीमा मिचेको नबताएको स्पष्टिकरण दिइसकेका छन्।

स्थानीयवासीले सीमास्तम्भ ‘हराएको’ र त्यसको फाइदा उठाउँदै चिनियाँ पक्षले आफूहरुले चरिचरन गर्दै आएको भू-भागमा चिनियाँ पक्षले भवन बनाएको दावी गर्न थालेपछि त्यसपछि आइतबार (४ असोज) मा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिसहितको टोली सीमास्तम्भको खोजी र चिनियाँ पक्षले अतिक्रमण गरे नगरेको बारे बुझ्न त्यसतर्फ गएको थियो।

प्रजिअ गिरिको नेतृत्वमा गएको नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोलीले बुधबार (७ भदौ) मा सीमास्तम्भ फेला पारिसकेको छ। तर, सीमास्तम्भ ठ्याक्कै कहाँनिर भेटिएको हो, प्रजिअसहितको टोली सदरमुकाम हुम्ला पुनिनसकेका कारण त्यसको अवस्थितिको सार्वजनिक हुन सकेको छैन।

तर, सो पिलरसँगै रहेर नेपाली टोलीले लिएका तस्बिरहरू पनि सार्वजनिक भइसकेका छन्। २०१९ मा सिमेन्टबाट निर्माण भएको स्तम्भको तस्बिर हेर्दा सीमास्तम्भ कहीँकतै तोडफोड भएको देखिदैन। अर्थात् सो सीमास्तरम्भ निकै राम्रो हालतमा रहेको देखिन्छ।

‘टाकुले’ मा सीमास्तम्भ

१९ असोज २०१८ मा भएको नेपाल–चीनबीचको सीमा सन्धि हेर्ने हो भने, दुई देशबीचको सो स्तम्भ ‘टाकुले’ भन्ने स्थानमा निर्माण गर्ने सहमति दुई पक्षबीच भएको देखिन्छ। ११ नम्बर स्तम्भ भन्दा अगाडिको १० नम्बर पिलर चुसुअंशो पहाडमा निर्माण गर्ने उल्लेख छ भने त्यो पिलरपछिको १२ नम्बर पिलर चाहिँ लाप्चे भन्ज्याङमा निर्माण गर्ने बताइएको छ।

सीमा सन्धिमा जहाँ-जहाँ सीमास्तम्भ राख्ने उल्लेख भएको छ, सोही अनुसार नै दुबै देशका टोलीले सीमास्तम्भ निर्माण गरेका थिए। सीमा सन्धिमा उल्लेख भए अनुसार नै ११ नम्बर पिलर पनि ‘टाकुले’ भन्ने स्थानमा निर्माण भएको थियो। स्थायी स्तम्भ भएकाले यसको अगाडि र पछाडि अन्य ९ वटा अस्थायी पिलरहरू पनि रहेका छन्। सीमा निर्धारणका क्रममा ठूला र साना गरी दुई प्रकारका स्तम्भ गाडिएका थिए। त्यसमध्ये यो स्तम्भ ठूलो आकारको हो।

५६ वर्षअघि (२०१९ मा) उच्च हिमाली क्षेत्रमा निर्माण भएको भएपनि यो स्तम्भको निर्माण सिमेन्टको प्रयोगमार्फत् गरिएको थियो। सीमा कमिटीले सीमास्तम्भको आकार कत्रो हुने र त्यसमा कति सिमेन्ट, बालुवा र रोडा प्रयोग गर्ने भन्ने कुरा समेत निर्धारण गरेको थियो।

120120345_2986629231442843_2005320926946365031_n.jpg

जस अनुसार यो सीमास्तम्भको आकार ०.६४२ घनमिटर छ भने यसको निर्माण गर्न २ सय १८ किलोग्राम सिमेन्ट प्रयोग भएको छ। बालुवा ३ सय ४६ किलोग्राम प्रयोग गरिएको थियो भने रोडा चाहिँ ९ सय ३७ किलोग्राम प्रयोग भएको थियो। सिमेन्ट, बालुवा र रोड फेट्न १ सय ३ किलोग्राम प्रयोग गरिएको थियो।

सो सीमास्तम्भको लम्बाई १ सय ५० सेन्टिमिटर रहेको छ भने उचाई ७० सेन्टिमिटरको छ। स्तम्भको तल्लो भाग ८० सेन्टिमिटर किनारा भएको र शिरको भाग चाहिँ ५० सेन्टिमिटर लामो किनारा भएको सम चतुर्भुज आकारको छ।

‘ठूलो र सानो दुबै आकारका प्रत्येक स्तम्भ सिमेन्टबाट ढलान गरिएको हुन्छ तथा तिनीहरुको मध्यभागमा ०.५ लामो र २ देखि ३ सेन्टिमिटर ब्यासको एउटा फलामे डण्डी गाडिएको हुन्छ’ २०२१ मा प्रकाशित नेपाल–चीन सीमा कमिटीको प्रतिवेदनमा भनिएको छ, ‘यसको चारैतिर आन्तरिक फ्रेमको रुपमा नं १२ का फलामे डण्डा राखिएका हुन्छन्।’

भाषा र पृष्ठभूमि

नेपाल–चीनबीच ८ चैत २०१८ मा बेइजिङमा सीमा सम्झौता भएको थियो। सम्झौतामा प्रधानमन्त्री बीपी कोइराला र उनका चिनियाँ समकक्षी चाउ एन लाईले हस्ताक्षर गरेका थिए। सोही सम्झौता बमोजिम दुई देशबीच सीमा निर्धारण भई १९ असोज २०१८ मा सीमा सन्धि भएको थियो।

सीमा सम्झौताका लागि पहल गरेका प्रधानमन्त्री बीपी कोइरालालाई राजा महेन्द्रले १ पुष २०१७ मा अपदस्थ गर। त्यसैले, नेपाल–चीन बीचको सीमा सन्धिपत्रमा नेपालको तर्फबाट राजा महेन्द्र र चिनियाँ राष्ट्रपति ल्यू साओचीले हस्ताक्षर गरेका थिए।

 सीमास्तम्भको आकार ०.६४२ घनमिटर छ भने यसको निर्माण गर्न २ सय १८ किलोग्राम सिमेन्ट प्रयोग भएको छ। बालुवा ३ सय ४६ किलोग्राम प्रयोग गरिएको थियो भने रोडा चाहिँ ९ सय ३७ किलोग्राम प्रयोग भएको थियो। 

दुई देशको सीमाना छुट्ट्याउने स्तम्भ भएकाले त्यसमा दुबै देशको भाषा प्रयोग गर्ने सहमति पनि उतिबेला भएको थियो। सो सहमति अनुसार स्तम्भको नेपालतर्फको भागमा नेपाली अंक र बिक्रम सम्बतमा उल्लेख गरिने उल्लेख थियो। सोही अनुसार नै ११ नम्बर स्तम्भको नेपालतर्फको भागमा सबैभन्दा माथि नेपाल, त्यसको मुनि ११ (नम्बर) र २०१९ (साल) उल्लेख गरिएको छ।

नेपाल–चीनबीच सीमा सन्धि हुँदा सीमास्तम्भहरु नम्बर गणना पश्चिमबाट सुरु गर्ने सहमति भएको थियो। १ नम्बर पिलर लिपुलेकको उराई भन्ज्याङमा स्थापना गरिएको सो सन्धिको प्रावधान हेर्दा देखिन्छ। काली नदीको मुहान सम्बन्धमा नेपाल–भारतबीच विवाद रहेकाले चीन–नेपाल–भारतबीचको त्रिदेशीय विन्दु चाहिँ तय हुन नसक्दा (शून्य) नम्बर स्तम्भ भने स्थापना हुन सकेको छैन।

नेपाल–चीनबीचको सीमामा मूलत दुई प्रकारका सीमास्तम्भ निर्माण गरिएका थिए, एक, सिमेन्टबाट निर्मित स्तम्भ। दुई, प्राकृतिक चट्टानमा कोरिएको स्तम्भ। त्यसमध्ये सिमेन्टको स्तम्भ बनाउन अप्ठेरो भएको स्थानमा अनुकूल भएमा प्राकृतिक चट्टानमा कोरेर सीमास्तम्भ निर्माण गरिएको थियो।

स्थायी स्तम्भहरू भौगोलिक आकृति स्पष्ट नभएको तथा मानिसहरूको आगमन धेरै चालू रहेका भन्ज्याङ, नदीको दोभान, उपत्यका आदि सीमास्थलहरूमा ठूलो आकारको स्तम्भ गाडिने नीति तय गरिएको थियो। भौगोलिक आकृति स्पष्ट भएको तथा मानिसहरूको आवागमन कम चालू रहेको स्थानमा चाहिँ साना आकारका स्तम्भ गाडिने नीति थियो।

११ नम्बर सीमास्तम्भ नेपाल-चीन

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १३:२४


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : business@sutranews.com / business.sutranews@gmail.com

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
news@sutranews.com info.sutranews@gmail.com

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला