sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

कोरोनापछि स्कुल खुल्छन्, तर बालबालिका नफर्किन सक्छन्

कोरोनापछि स्कुल खुल्छन्, तर बालबालिका नफर्किन सक्छन्

images

समर्पण श्री

२० श्रावण २०७७
  • 3.0K
    SHARES
  • कोरोनापछि स्कुल खुल्छन्, तर बालबालिका नफर्किन सक्छन्

    काठमाडौं- ‘स्कुल खुलेपछि करिब एक करोड बालबालिकाहरू विद्यालय नफर्किन सक्छन्’ सेभ द चिल्ड्रेनले विश्वव्यापीरूपमा गरेको एउटा अध्ययनले निष्कर्ष निकालेको छ । अध्ययन अनुसार १२ देशका बालबालिका यतिबेला सधैंका लागि स्कुल छोड्ने उच्च जोखिममा छन् ।

    लामो समय स्कुल बन्द भएपछि बालविवाह र किशोरावस्थामै गर्भ रहने समस्या पनि देखिएको छ । कोरोना महामारीको प्रभावले घरपरिवारमा समस्या हुँदा धेरै बालबालिकाहरू बालश्रम गर्न बाध्य हुने सो अध्ययन प्रतिवेदनले बताएको छ ।

    कोरोना महामारीका कारण विश्व नै प्रभावित भइरहेको बेला शिक्षा क्षेत्रले पनि ठूलो क्षति व्यहारेको र यसको प्रभाव स्कुल खुलेपछि देखिने शिक्षाविद्हरूको अनुमान छ ।
    नेपालको सन्दर्भमा पनि कोरोनाकालपछि शिक्षा क्षेत्रमा ठूलो चुनौति देखिनसक्ने विश्लेषण शिक्षाविदहरुले गरेका छन् ।

    ‘सडकमा बालबालिका पहिलेभन्दा बढेका छन् । गाडीमा टावल, कुचो, पानीहरू बेच्ने दश वर्षमुनिकाहरू देखिन्छन् । उनीहरूसँग कुरा गर्दा अभिभावकसँगै श्रम गर्न बाध्य भएको बुझिन्छ ।’

    शिक्षाविद् मनप्रसाद वाग्ले कोरोनापछिको अवस्थालाई आँकलन गर्दै भन्छन्, ‘जति–जति विद्यार्थी घर बस्ने क्रम बढ्दै जान्छ, उति–उति विद्यालयको ‘ड्रपआउट’ बढ्ने सम्भावना हुन्छ । शिक्षा क्षेत्रमा हुने ठूलो क्षति यो नै देखेको छु ।’

    परिवारमा आर्थिक अवस्था शून्य भएपछि बालबालिकाहरू मजदुरीतिर बाध्य हुने उनको अनुमान छ । ‘कोभिड–१९ का कारण अविभावक र विद्यार्थी पनि घरमा बसे । नियमित ज्यालादारी गरेर खाने अविभावकको आय अहिले शून्य भयो’ उनी भन्छन्, ‘अब विद्यार्थीलाई पढाउनसक्ने हैसियत उनीहरूसँग छैन । नभएपछि काममा लगाउनुपर्ने अवस्था आउँछ ।’

    वाग्लेको विश्लेषणले निम्न आय भएका परिवारको अहिलेको यथार्थलाई चित्रण गरेको छ । काठमाडौँमा दैनिक मजदुरी गर्ने श्यामबहादुर क्षेत्रीको स्थितिले वाग्लेको भनाई भनाई पुष्टि गर्छ । जस्तो कि, चार महिनायताको बेरोजगारीका कारण आर्थिक अभावले गाँजेको छ र दैनिक छाक टार्न समस्या छ ।

    उनका छोरा एक निजी विद्यालयमा कक्षा ८ मा पढ्छन् । ‘अब छोरालाई पढाउने सपना लकडाउनले खाइदियो’ उनले दुखेको पोख्दै श्यामले भने, ‘आमा बिरामी भइरहन्छिन्, भाइबहिनी पनि छन्, पढ्ने चाहना उसको पनि छैन, अब उसलाई पनि काममा लगाउने सोचमा छु ।’

    शिक्षाविद् वाग्ले सीमान्तकृत समूहमा बालबालिकाप्रति लक्षित गरी सरकारले प्याकेज ल्याउनुपर्ने बताउँछन् । नभए स्कुल छाड्नेहरूको संख्या निकै बढ्ने उनको अनुमान छ । ‘सरकारले उनीहरूको आर्थिक स्थिति समस्याको सम्बोधन गरेन भने विद्यालय जाने सम्भावना न्यून देख्छु,’ वाग्ले भन्छन् ।

    बालश्रम र बालविवाह कारक
    कोरोना कहरकै बेला धेरै ठाउँमा बालविवाहको संख्या बढेको बाल अधिकारका लागि राष्ट्रिय अभियानको ठहर छ । सार्वजनिक भएका पछिल्ला समाचारले अभियानको दावीमाथि बल पुगेको छ ।
    जस्तो, लकडाउनमा मकवानपुरमा हुन लागेको १५ वटा बालविवाह सिभिल बाल हेल्पलाइनको सहयोगमा रोकिए । हेटौंडा उपमहानगरसहित पाँच स्थानीय तहमा १५ बालविवाह रोकिएका थिए ।

    ओखलढुंगाको मोलुङ गाउँपालिकामा गत २५ जेठ (०७७) परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया किशोरीको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको थियो ।

    त्यस्तै, स्याङ्जाको आँधीखोला गाउँपालिकामा पनि एक युवक १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरीपछि पक्राउ परे ।

    अभियानका संयोजक प्रविन सिलवाल भन्छन्, ‘यही बेलामा बालबालिकाहरूले भागी विवाह गरेका छन्, कतिपय परिवारकै दबाबमा पनि भएको देखिन्छ ।’ उनले विवाह रोकिएका केही समाचार बाहिर आए पनि त्योभन्दा धेरै विवाहहरू भइरहेको हुनसक्ने दावी गरे ।

    बालविवाह बढ्दै गएपछि उनीहरुको पढाइमा प्रभाव पार्ने र विद्यालय नफर्किने सम्भावना अत्यधिक हुने अधिकारकर्मीहरू बताउँछन् ।

    पछिल्लो समय काठमाडौँ उपत्यकामा बालबालिकाहरू बालश्रमिकका रूपमा देखिन थालेको सिलवाल बताउँछन् । भन्छन्, ‘सडकमा बालबालिका पहिलेभन्दा बढेका छन् । गाडीमा टावल, कुचो, पानीहरू बेच्ने दश वर्षमुनिकाहरू देखिन्छन् । उनीहरूसँग कुरा गर्दा अभिभावकसँगै श्रम गर्न बाध्य भएको बुझिन्छ ।’

    ‘अवस्था पहिलेको भन्दा बिग्रदो छ । तयारी कमजोर देखिन्छ । सेल्फ म्यानेज लर्निङ छैन । पुरानै आलटाल भएर जाने हो कि भन्ने लाग्छ’

    अस्थायी पुनःस्थापना केन्द्रमा पनि सडक बालबालिकाहरूको संख्या बढेकाले नयाँलाई राख्न समस्या भएको बालबालिका खोजतलास केन्द्र बताउँछ ।

    गाउँबाट काम गर्न भनेर सहर आउन चाहनेमा न्यून आय भएको परिवारका बालबालिका धेरै छन् । ‘लकडाउनअघि नै यातायातका साधनमा मजदुरी गर्ने बालबालिका थुप्रै थिए, प्रतिकूल परिस्थितिका कारण यो बेला उनीहरुले अन्य बालबालिकालाई पनि ल्याउन सक्नेछन्’ उनले थपे, ‘लकडाउन खुल्नेवित्तिकै गाडीमा जानुपर्छ भनेर सिन्धुपाल्चोक, काभ्रेलगायतका बालबालिकाहरू तयार छन् । राजमार्ग छेउछाउका होटल खुल्ने क्रममा छन्, त्यहाँ काम गर्ने भनेका बालबालिका नै हुन् ।’

    उनको अनुमान छ, पढाइ नभएको बेला भएकाले बालबालिका विकल्पको रूपमा श्रमका काममा लाग्न सक्छन्, जसका कारण उनीहरु विद्यालय नफर्किन सक्छन् ।

    कोरोनापछिको तयारी
    शिक्षाविद्हरुले के आशंका गरेका छन् भने स्कुल सञ्चालनमा आए पनि सरकारको तयारी नपुगेकाले शिक्षा प्रणालीमा समस्या आउनसक्छ । शिक्षाविद् केदारभक्त माथेमा कोरोनाकालमै पनि सरकारको संयन्त्र कमजोर देखिएको गुनासो गर्छन् ।

    ‘अवस्था पहिलेको भन्दा बिग्रदो छ । तयारी कमजोर देखिन्छ । सेल्फ म्यानेज लर्निङ छैन । पुरानै आलटाल भएर जाने हो कि भन्ने लाग्छ,’ माथेमा भन्छन्, ‘अनलाइन टिचिङ गर्ने कुरा पनि प्रभावकारी भएन । अन्य तयारी पनि केही देखिएको छैन ।’

    पठनपाठन छुटेयता विद्यार्थीहरूले धेरै कुराहरू बिर्सिसकेको माथेमाको अनुमान छ । उनको भनाईमा,स्कुलमा पो विद्यार्थीलाई अनुशासनमा राखिन्थ्यो । तर स्कुल नै नलागेपछि उनीहरू बन्धनमुक्त भएका छन् । त्यही कारण कतिपय कुरा बिर्सिसकेका पनि छन्, । माथेमा भन्छन्, ‘सरकारले त्यो अवस्था आउन नदिन कुनै तयारी गर्न सकेको छैन । यिनै कारण विद्यार्थीहरू स्कुल जानबाट घट्न सक्छन् ।’

    ‘आर्थिक अभावका कारण पढाउन समस्या हुने अवस्था हुँदैन । आर्थिक अभावका कारण बालबालिका शिक्षाबाट बञ्चित हुनुनपरोस् भन्ने कुराप्रति सजग हुँदै हामीले पनि कार्यविधि बनाइरहेका छौं ।’

    स्कुल खुल्नेबित्तिकै स्कुलहरूमा पठनपाठन सुचारु गराउन कठिन हुने बताउँछन् शिक्षासेवी पशुपति सापकोटा पनि । ‘कोरोनालाई अलिक बढाई चढाई गरेर व्याख्या गरियो । बालबालिकाका हकमा धेरैजस्तो कुरा ‘न’ (जस्तै नगर्नु, नजानु, नखेल्नु) बाट सुरु गरियो,’ उनी भन्छन्, ‘त्यसैले धेरै भाइबहिनीमा मनोरोग पनि सुरु भएको छ ।’ उनका अनुसार धेरै विद्यार्थीहरूमा ‘इरिटेट’ हुने, छिनछिनमै रिसाउने खालका समस्या उत्पन्न भएका छन् । यिनै कारण ‘ड्रपआउट’ बढ्ने आशंका उनको छ ।

    सरकारबाट प्रयत्न नभएकाले पनि यस्ता समस्याहरू देखिएको उनी बताउँछन् । भारतसँगको सीमामा हुने आवत–जावत खुकुलो हुँदै जाँदा धेरै संख्यामा बालबालिकाहरु भारततिर जानसक्ने अनुमान सापकोटाको छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भने बालबालिकाले स्कुल ‘ड्रपआउट’ गर्नुपर्ने अवस्था नआउने दावी गर्छन् । ‘सामुदायिक स्कुलहरूले निःशुल्क शिक्षा दिइरहेका छन् । अविभावकले निजीमा पढाउन सक्दैनन् भने सामुदायिक विद्यालयमा बालबालिकालाई भर्ना गराउन सक्छन्,’ उनी भन्छन्, ‘आर्थिक अभावका कारण पढाउन समस्या हुने अवस्था हुँदैन । आर्थिक अभावका कारण बालबालिका शिक्षाबाट बञ्चित हुनुनपरोस् भन्ने कुराप्रति सजग हुँदै हामीले पनि कार्यविधि बनाइरहेका छौं ।’

    आवश्यकता अध्ययन प्रणालीमा परिवर्तन
    कोरोनापछि अध्ययन प्रणालीमा परिवर्तन गर्ने विषयमा शिक्षा मन्त्रालयले ठोस योजना बनाउनुपर्ने बताउँछन् वाग्ले । तर, मन्त्रालयले आवस्यक योजना बनाएको भने देखिन्न ।

    ‘कोभिड–१९ पछि संसारमै शिक्षा प्रणालीमा केही परिवर्तन हुने देखिन्छ । अब आउने अवस्थालाई ‘न्यु नर्मल सिचुएसन’ भन्छौं । यो अवस्थामा ‘एडजस्ट’ गर्न हामीले थुप्रै उपाय अपनाउँछौं,’ उनी भन्छन्, ‘पहिलेजस्तो ‘फेस टु फेस’ पढाइले मात्र नपुग्ला, अनलाइनलाई पनि जोडेर दुबै माध्यमबाट अबको शिक्षा अगाडि बढाउनुपर्छ । शिक्षकले लिएको आइटीको तालिम यहाँ उपयोगी हुन्छ ।’

    लामो समयदेखि विद्यालयबाट टाढा रहेका बालबालिकालाई विद्यालय ल्याउन आकर्षित गर्नुपर्ने बताउँछन् शैक्षिक अभियन्ता शिशिर खनाल । ‘अब स्कुल खुलेपछि बालबालिकाको सिकाइमा समस्या हुन्छ । सिकेको कुरा पनि बिर्सिसकेको अवस्था हुनसक्छ’ उनी भन्छन्, ‘त्यसैले बालबालिकालाई विद्यालय फर्कने गरी आकर्षित गर्न शिक्षाका प्याकेजको व्यवस्था गर्नुपर्ने देखिन्छ ।’


    प्रकाशित :श्रावण २०, २०७७ मंगलवार - १५:३९:३१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.