स्मृतिमा बा: म पनि बा जस्तै भएछु-Sutra News

स्मृतिमा बा: म पनि बा जस्तै भएछु

शनिबार, २१ असार २०८२

शनिबार, २१ असार २०८२

 



बा को फोटो र सँगै राखेको ऐना
बा को फोटो हेर्छु र ऐनामा म आफैंलाई हेर्छु
यस्तो लाग्छ बा ऐनामा देखिनु भा को छ
मुज्जा परेको अनुहार र चाउरी परेको निधार
खोपिल्टा परेका गाला अनि धर्का परेका आखाँ
ठ्याक्कै उस्तै, त्यो त मै पो रहेछु!

समय बा को थियो
टाउकोमा ॠणको भारी बोकेर
कहिले मधेश कहिले पहाड
कहिले यो घर कहिले ऊ घर

कति कुरा भन्नुभयो, कति कुरा मनमै लुकाउनु भयो
कति कुरा टार्नुभयो, कति कुरा आँसुमै झार्नु भयो
टोपीमा माटो बोकेर विरुवा उमार्नु भयो
शिक्षाको टेको लगाएर छोराछोरी सपार्नु भयो
बाह्रै महिना पसिना बगाएर हामीलाई पाल्नु भयो
देश दुनियाँ सिकाएर जीवनको साचोमा ढाल्नु भयो।

कति गाह्रो थियो फलाम गालेर आकृति बनाउन
झनै गाह्रो थियो विभेद ढालेर आत्मसम्मान जगाउन
तै पनि गोरखपुरको रेल चडेर बा लाहुर जानु भयो
देश र परिवार छोडेर विदेशको हन्डर खानु भयो।

कामको भारी, बढेबाबुको गाली
परिवारको चिन्ता, बिरानाहरुबाट निन्दा
अपमानको घाउ, जीवनमरणको दाउ
शहर भएर उभिएको ठाउँ, आफू हुर्केको गाउँ
यस्तै चक्रमा पिल्सिएको बाको जिन्दगानी

अहिले ऐना हेर्दा त्यही प्रतिविम्व देख्छु आफू भित्र
उस्तै उस्तै अलि अलि समयले बदलिएको परिस्थिति
त्यस्तै त्यस्तै केही केही भोगाइले भड्किएको मनस्थिति

केही दिएर सबै लुटे जस्तो
सबै दिएर जीवन खोसे जस्तो
आफ्नै छाँया पनि पर पर भागे जस्तो
आफ्नै झ्यालमा पनि बलियो चुकुल लागे जस्तो

तर उस्तै अनुहार उस्तै प्रतिविम्ब
टाउकोमा केही ॠणको भारी बोकेर
कहिले मधेश कहिले पहाड
त्यही चक्र कहिले यो घर कहिले त्यो घर

बा ले जस्तै
केही कुरा हाँसोमा लुकाउछु
केही कुरा आँसुमा सुकाउछु
केही कुरा अक्षरमा बुन्छु
केही कुरा शब्दमा उन्छु
आखिर म पनि बा जस्तै भएछु।

सबैले भन्छन्
मेरो हाँसो त झन बा को जस्तै छ रे
जीवनको गति पनि उस्तै छ रे

आँसु लुकाएर पनि मीठो हाँसो हाँस्न सक्ने
आफू टुटेर पनि अरुको जीवन गास्न सक्ने
अक्करमा अड्किएर फुल्न सक्ने फूल जस्तै
औँसीमा विलाएर चम्किन सक्ने जून जस्तै
आखिर म पनि बा जस्तै भएछु
आखिर म पनि बा गोता गएछु।

आफ्नै सिमाना च्यापिदै गए जस्तो
अरुलाई टेको लाउदा लाउदै आफ्नै टेको खसे जस्तै
अरुको मन दुख्ला भन्दा भन्दै आफ्नै मन बसे जस्तो
पसिनाको प्रत्येक बुद नसिए जस्तो
जमिन मुनि इमारत भासिए जस्तो
केही दिएर सबै खोसे जस्तो
सबै दिएर केही रोके जस्तो

बा लाई परेको बज्रपात म माथि परे जस्तो लाग्छ।
बा ले भोगेको अपमान म मा सरे जस्तो लाग्छ।
आकाशबाट एउटा तारा म माथि झरे जस्तो लाग्छ।

(यो कविता नेपाल सरकारका पूर्व सचिव डा मानबहादुर बीकेले आफ्नो बुवाको स्मरणमा लेखेका हुन्)

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट