अब युट्युबमा मौलिक भिडिओले मात्रै पैसा कमाउने, एआई भिडिओले नकमाउने-Sutra News

अब युट्युबमा मौलिक भिडिओले मात्रै पैसा कमाउने, एआई भिडिओले नकमाउने

शनिबार, २१ असार २०८२

शनिबार, २१ असार २०८२

 



एजेन्सी । लोकप्रिय भिडिओ प्लाटफर्म युट्युबले आफ्नो मनिटाइजेसन नीतिमा महत्वपूर्ण परिवर्तन गरेको छ।

आगामी १५ जुलाई देखि लागू हुने नयाँ नियमअनुसार एकैपटक ठूलो परिमाणमा उत्पादित अर्थात् थोकमा बनाइएका, बारम्बार एउटै शैली दोहोर्‍याइएका वा कम मिहिनेतमा तयार पारिएका भिडिओहरु युट्युबमा मनिटाइज हुने छैनन्। अर्थात् त्यस्ता भिडिओहरु युट्युबमा जतिसुकै लोकप्रिय भएपनि आम्दानी हुने छैन।

युट्युबले आफ्नो आधिकारिक सपोर्ट पेजमा नयाँ नीति सार्वजनिक गर्दै भनेको छ: हामी सधैं मौलिक र प्रामाणिक सामग्री चाहन्छौं, अब दोहोरिएका र थोकमा बनाइएका (मास-प्रोड्युस्ड) सामग्रीहरूलाई कडाइका साथ समीक्षा गरिनेछ।

नयाँ नीतिको असर कसलाई पर्छ ?

यो नयाँ नियमले खासगरी एउटै स्क्रिप्ट वा टेम्प्लेटमा धेरै भिडिओ बनाउने, पुराना भिडिओलाई थोरै सम्पादन गरेर फेरी अपलोड गर्ने तथा क्लिकबेट थम्बनेल र कम प्रयासमा बनाइएका शर्ट्स अपलोड गर्ने युट्युबरलाई असर गर्नेछ।

अब यस्ता सामग्रीले मनिटाइजेसनको अनुमति पाउने सम्भावना कम हुनेछ।

साथै अब एआईको प्रयोग गरेर तयार गरिएका भिडिओहरुमाथि पनि युट्युबले निगरानी गर्नेछ। अरूको भिडिओमा एआई आवाज राखेर रियाक्सन दिने वा पूर्ण रूपमा एआईले बनाएको स्क्रिप्ट र आवाज राखेर बनाइएका भिडिओहरु पनि अब यो नयाँ नियमको दायरामा पर्न सक्ने बताइएको छ।

यो सँगै एआई टूल प्रयोग गरेर बनाइएका भिडिओले पैसा कमाउने बाटो बन्द हुँदैछ। यस्ता सामग्री अब कम मिहिनेतको, नक्कली वा पुनरावृत्ति मानिनेछ।

मनिटाइजेसनको लागि चाहिने योग्यता

युट्युब च्यानललाई मनिटाइज गरी रकम आम्दानी गर्नका लागि युट्युब क्रिएटरले यस्ता मापदण्ड पूरा गर्नुपर्छ:

सामान्य भिडिओको हकमा: युट्यबु च्यानलमा १ हजार सब्सक्राइबर तथा पछिल्लो १ वर्षमा ४ हजार घण्टा वाच टाइम (भिडिओ हेरिएको) भएको।

युट्युब शर्ट्सको हकमा: १ हजार सब्सक्राइबर तथा पछिल्लो ९० दिनमा १ करोड भ्यूज भएको।

साथै कुनै प्रतिलिपी अधिकार उल्लंघनका साथै युट्युबको कुनैपनि नियम उल्लंघन गरी स्ट्राइक पाएको हुन नहुने।

युट्युब क्रिएटरहरूले गर्न नहुने काम

अरूको सामग्री सिधै प्रयोग नगर्नुहोस् : अरूको भिडिओ वा स्क्रिप्टको आधार लिनुपर्ने भएमा पनि त्यसमा पर्याप्त परिमार्जन गरी नयाँ र मौलिक लाग्ने बनाउनुहोस्।

बारम्बार एउटै किसिमको सामग्री नदोहोर्याउनुहोस् : एउटै ढाँचा, स्क्रिप्ट वा टेम्प्लेटमा भिडिओ बनाइरहने काम नगर्नुहोस्।

एआई वा अन्य टुल्स प्रयोग गर्दा सावधानी अपनाउनुहोस् : भिडिओ तयार गर्दा एआईको सहयोग लिनु ठीकै हो। तर त्यसमा आफ्नै आवाज, विश्लेषण वा व्यक्तिगत टच पनि दिनुपर्छ।

युट्युबले किन नयाँ नियम ल्याउँदैछ ?

युट्युबमा दिनहुँ करोडौँ भिडिओहरू अपलोड हुन्छन्। तर तीमध्ये धेरैजसो सामग्री सतही, दोहोरिएको वा कम मिहिनेतमा बनाइएको हुन सक्छ।

यस्ता भिडिओले प्लेटफर्मको गुणस्तर घटाउने, विज्ञापनदाताको विश्वास गुमाउने र प्रयोगकर्ताको अनुभव बिगार्ने जोखिम बढाउँछ। त्यसैले युट्यबुले ओरिजिनल तथा उच्च गुणस्तरीय सामग्रीलाई प्राथमिकता दिँदैछ।

यसले राम्रा क्रिएटरहरूलाई प्रोत्साहन गर्नेछ भने प्लाटफर्ममा सस्तो भीड बनाउने प्रवृत्तिलाई रोक्नेछ।

यसर्थ युट्युबको यो नयाँ नियम क्रिएटरहरूका लागि अवसरसँगै चुनौति पनि हो। मिहिनेत गरेर मौलिक, विचारपूर्ण र दर्शकमैत्री सामग्री बनाउने युट्युबरले अब अझ धेरै आम्दानी गर्न सक्नेछन् भने चोरचार पार्ने र जोडजाड पारेर थोकमा भिडिओ तयार पारेर अपलोड गर्नेका लागि युट्युबबाट आम्दानीको बाटो बन्द हुन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट