

एजेन्सी । अमेरिकी वयस्क चलचित्र अभिनेत्री काइली पेज जुन २५ मा लस एन्जलसको आफ्नो निवासमा मृत फेला परेको अमेरिकी मिडियाले जनाएका छन्।
रिपोर्टका अनुसार करिब १ साताको अनुसन्धानपछि प्रहरीले उनको मृत्युको आधिकारिक जानकारी दिँदै उनको मृत्युको कारण खुलासा गरेको छ।
टिएमजेडको रिपोर्टअनुसार काइलीको मृत्युको कारण लागूऔषधको ओभरडोज भएको कानुन प्रवर्तन अधिकारीहरूले बताएका छन्।
रिपोर्टअनुसार सुरक्षाकर्मीले उनको अपार्टमेन्टमा फरक फरक व्यक्तिसँग यौनजन्य गतिविधिका फोटोहरू, लागूऔषध फेन्टानिलसहित लागूऔषध सेवनमा प्रयोग हुने सामानहरू फेला पारेका छन्।
काइलीलाई पोर्नोग्राफी उद्योगको अन्वेषण गर्ने नेटफ्लिक्स श्रृंखलामा पनि देखाइएको थियो। उनी २८ वर्षकी थिइन्। लस एन्जलस काउन्टी मेडिकल परीक्षकको कार्यालयले उनको मृत्युको पुष्टि गरेको छ।
ओक्लाहोमाको तुलसामा जन्मिएकी काइलीले २०१६ मा वयस्क मनोरञ्जन उद्योगमा आफ्नो करियर सुरु गरेकी थिइन्। उनी २०० भन्दा बढी चलचित्रहरूमा देखा परिसकेकी छिन्।
२०१७ मा वयस्क मनोरञ्जन उद्योगमा काम गर्ने युवा पुरुष र महिलाहरूको जीवनमा केन्द्रित नेटफ्लिक्स श्रृंखला हट गर्ल्स वान्टेड: टर्न्ड अनमा देखा परेपछि उनले व्यापक रूपमा ध्यान आकर्षित गरिन्।
यो श्रृंखलामा काइली पेजले लागूपदार्थको दुरुपयोग सहित आफ्ना अनुभव र संघर्षहरूको बारेमा खुलेर कुरा गरेकी थिइन्।
काइली पेजको परिवारले अन्त्येष्टि खर्च बेहोर्न र उनको अवशेष ओक्लाहोमा घर ल्याउन आर्थिक कोष सङ्कलन सुरु गरेको छ।
“उनी एक अत्यन्तै माया गर्ने छोरी थिइन्, कहिल्यै नछोड्ने बहिनी थिइन्, र सधैं साथ दिने साथी थिइन्,” परिवारले सुरु गरेको गोफण्डमी पोस्टमा लेखिएको छ।