

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधीले एमालेले स्थानीय तहमा सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको बताएका छन्।
शनिबार जनकपुरमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटमा उनले एमाले सहमति र सामूहिक अभियानमा नजोडिएको गुनासो गरेका हुन्।
‘नेपाली कांग्रेस सधैं सहमति र साझा प्रयासका लागि तयार छ,’निधीले भने, ‘तर एमाले आउँदैन भने के गर्ने ? समस्या त यहीँबाट सुरु हुन्छ।’
उनले नारायण नगरपालिकाको उदाहरण दिँदै एमालेले नगरसभामा बजेट पास हुन नदिएको र मेयरको अधिकार कटौती गर्ने उद्देश्यले कार्यविधि बनाउन दवाव दिएको बताए।
‘प्रधानमन्त्रीको अधिकार कटौती हुनेगरी क्याबिनेटको नियम बनाउँदा चल्छ, तर स्थानीय तहमा भने मेयरलाई अधिकार नदिने ? यो कुन अभ्यास हो ?’ निधीले प्रश्न गरे।
उनले राजनीतिक प्रतिशोधका कारण कांग्रेस नेताहरुले ल्याएका योजनाहरुमा पनि अवरोध हुने गरेको बताए। एमालेको यस्तो व्यवहारले सामूहिक हित र जनअपेक्षामा बाधा पुगेको उनको दाबी छ।