प्रेमको मधुशालामा जलिरहेकी सुम्निमा…-Sutra News

प्रेमको मधुशालामा जलिरहेकी सुम्निमा…

शनिबार, २१ असार २०८२

शनिबार, २१ असार २०८२

मैले जिन्दगीमा आफूले आफैलाई सबैभन्दा धेरै सोधेको एउटा प्रश्न छ– म किन प्रेममा परिन् ?



अरूले पनि मैले जस्तै आफूलाई यस्तो प्रश्न सोध्लान् त ? आखिर ममा के छैन, त्यस्तो जसका कारण तरूण केटाहरूले मलाई हेर्दैनन् ? मेरो कमजोरी के हो ? म किन माया पाउँदिन ? प्रेममा पर्नु आफैमा खुसी प्राप्त गर्नु हो । प्रेममा पर्नु आफैमा सुखानुभूति हो । प्रेममा पर्नु आफूभित्रको दियालो बल्नु हो, जसले कसैलाई अपनत्वको सिरानी दिन्छ ।

तपाईँलाई पनि अचम्म लाग्यो होला है, यो एउटा अनौठो प्रश्न आज एउटा सुन्नीमाको हृदयभित्र उछाल्लिरहेछ ?

म किन प्रेमबाट वञ्चित भएँ ? म कसैको मायाको योग्य किन हुन सकिन ? मायाको लागि योग्यता के हो ? आखिर के भयो भने माया हुन्छ ? किन मैले कुनै पुरूषको माया पाइन ? मेरो कुन शारीरिक अवयवले काम गरेको छैन ? मेरो कुन इन्द्रेणीले काम गरेको छैन ? जसको रंगमा एउटा कलेवर कम छ ! मसँग सम्पुस्ट शरीर छ । जुनकिरी मुहार छ, मसँग वैशाख छ । मसँग लज्जा छ । मसँग नारी अस्मिता छ । मसँग यौवनको उत्फुल्लता छ । मसँग भोक छ । मसँग उल्लास छ । मसँग वसन्त छ । मसँग माधुर्यता छ । मसँग मधुमास छ । तर, मेरो सान्निध्य संसारमा किन आउँदैनन् कुनै पुरूष ? किन म एक्ली छु ? कैलाश पर्वतमाथि एक्ली किरातिनी भएर किरातेश्वर महादेव कुरिरहेकी छु ? म देव बिनाको देवी भएर बाँचिरहेछु अनादिदेखि । मेरो जगलाई फगत यही रह्यो मेरो प्रश्न कि – म किन प्रेममा परिन् ?

यो संसारमा केही त्यस्ता भाग्यमानी मानिसहरू मात्रै प्रेममा पर्छन्, जसको भाग्यमा हिजोको दिनमै प्रेम लेखिएर आएको थियो ।

यदि तपाईं प्रेममा हुनुहुन्छ भने संसारका बहुत कम भाग्यमानी मान्छेमध्ये तपाईं एक हुनुहुन्छ । तपाईँलाई ईश्वरको त्यो दिव्य सत्ता मिलेको छ । तपाईं आनन्दमा हुनुहुन्छ । तपाईं सुरक्षित हुनुहुन्छ । प्रेममा हुनुहुन्छ भने तपाईंसँग सबथोक छ ।

प्रेममा हुनुहुन्छ भने तपाईंको हतियार त्यही हो कि तपाईँलाई संकटको त्यो आधीबाट बचाउने देदीप्य मधुशाला ।

प्रेममा हुनुहुन्छ भने जीवनको त्यो दिव्य आनन्द आलोकलाई कहिले बरबाद नगर्नुस् है बिन्ती ! प्रेम त त्यो अनुकम्पा हो, जसको काखमा हिमालयको सारा उज्यालो बलेको हुन्छ । प्रेम त गोपिनीहरूको त्यो घर हो, जहाँ गए पनि केवल त्यहाँ मुरली मनोहर कृष्ण मात्रै देखिन्छन् ।

भलै म प्रेममा नपरेर के भो त ! कमसेकम, तपाईंत प्रेममा हुनुहुन्छ नि है ! तपाईंको त्यो प्रेम दिगन्त बाँचोस् । तपाईंको प्रेमको डोरी कहिले नचुडियोस् । प्रेम मुटुको तिर्खा हो । प्रेम तृप्ति हो । प्रेम सर्वेश्वर हो । बिन्ती प्रेम नभत्काउनुस् है ! म अहिलेसम्म प्रेममा परिन् । कुनै दुखेसो छैन कसैप्रति । किनकि प्रेम जो कोहीलाई मिल्दैन । जसलाई प्रेम मिल्छ उ पुज्यनीय हुन्छ, यो धरोधाममा ।

भनिन्छ, प्रेममा जे पनि जायज हुन्छ । समाजले प्रेमलाई कहिले चाहेन र पनि प्रेमको बिरूवा ढुंगाको काप छिचोल्दै उम्रिरह्यो ।

जिन्दगीमा सबै प्रश्नहरूको उत्तर हुँदैनन् । प्रेम प्रश्न होइन, प्रेम त उत्तर हो । प्रेम कहिले प्रश्न हुँदैन । यदि प्रेम प्रश्न भएर आउने हो भने कोही पनि प्रेममा पर्दैनथे । प्रेम आफैं हुन्छ, प्रेम गरिँदैन । प्रेम गरेर हुने भए म पनि गर्थे नि ! प्रेम नदी, हिम नदी हो । नसुक्ने धारा हो । प्रेम धराको त्यो बाटो हो जहाँ केही भाग्यमानी मनुष्यहरू हिँड्न् पाउँछन् । तिमी हिँड । तिमीलाई त्यो बर बाटो प्राप्त भएको छ । कैलाशमा परेको त्यो छाया आहा कति शीतल छ, त्यो परमता, त्यो परमानुभुती, त्यो कमनीयता बारम्बार मिलिरहोस् सबैलाई । केही छैन । आजकी सुम्निमा एक्लै बाच्न सक्छे ।

खुसी रहु तिमी आफ्नो प्रेममा । तिम्रो पुरूषले तिमीलाई उसको बलिष्ठ हातले कस्दा तिमी कति धेरै मदोन्मादीत हुन्छ्यौ । म पुरूष तिर्खाको अनुमान गर्न सक्तिन किनकि म चोखी सुम्निमा हु । मलाई कुनै किरातेश्वरले छोएको, छल गरेको छैन । किरातेश्वरको खस्रो हातले मेरो हातलाई आजसम्म स्पर्श गरेको छैन । म बिटोलिएकी छैन, म पुलकित छु, मेरो अस्मिता शायद त्यसको अनुमान लगाउन अरूले के सक्लान् ? प्रेम आनन्द हो, आन्दोलन होइन । प्रेम बाटो हो । प्रेम मझधार होइन, किनारा हो । प्रेम समर्पण हो, समर्थन होइन ।

म असुरोको फूल जस्तै कहिले कतै कुनै भगवानलाई चढ्न सकिन । खोइ के छ ममा कमजोरी ? म हेर्न सक्दिन, सिधा परेलीले कुनै पुरूष नजरमा । म आँखामा आँखा जुधाउन सक्दिन । म स्वरमा स्वर मिलाउन सक्दिन । बोलाउने हिम्मत हुँदैन । मभित्र जवानीको ज्वरो छ । तातो छु म । यो वैशाखको उभार, उर्वर, ऊर्जा म रोप्नु चाहन्छु र उम्रोस् टुसा मेरो मायालु धरामा । जवानीको ज्वरोले धेरै पोल्दो रहेछ । एउटा बैँस जो मभित्र फुलेको छ, गुलजार छ, मभित्रको वैशाखी मन हरियो छ, पात पातमा लहर लाखौँ कामना जागृत छ । प्रेमको यो दिव्यधारा र प्राप्तिको बाटो कहिले अन्त नहोस् ।

जीवन अन्त हुन्छ । जिन्दगी अन्त हुन्छ । भौतिक प्रपञ्च सारा अन्त हुन्छ । तर, अन्त हुँदैन प्रेम । प्रेम त त्यो चौतारी हो, जो हिजो कसैले चिहेको थियो, आज बाँचेकाहरूले शीतलता लिँदैछन् ।

म निर्जर एकान्तको पिपलु भएर उभिएको धेरै भो । उभिइरहने सामथ्र्य थाहा छैन, कहिलेसम्म रहला ? मसँगै बर वरदान भएर उभिने सामथ्र्य कसले राख्छ, कुन किराँतीले राख्छ ?

खोजिरहेकी छु, त्यो पवित पावन झन्कार, झुम झुम स्पर्श सम्बोधित । आऊ सपना भएर आऊ । आऊ गीत भएर आऊ । आऊ जित भएर आऊ । मेरो तातोमा मिसिन आऊ । पग्लिन आऊ । मातमा मात्तिएर आऊ । उभार बिसाउन आऊ । तिम्रो सकल कलकल कलेवर कल्लोल कुमुदिता म थाम्छु, आऊ एकफेर आऊ । आँखामा कैलाश र मुटुमा गोसाईंकुण्ड लिएर आऊ । आऊ म कलियुगकी सुम्निमा मलाई भेट्न आऊ, पारूहाङ तिमी त आकाशमा छौ, मलाई छोप म त तिम्रै पृथ्वी हुँ !

आऊ एक दिव्य शरीर लिएर आऊ, म आजसम्म बिटोलिएकी छैन । आऊ मेरो जुनेली रात तिम्रो प्रकम्प प्रेमको माधुर्य कुरिरहेको छु पारूहाङ ! हराभरा सल्ला सतिसाल र धुपी भएर आऊ । हिमालय पर्वत शून्य छ, पारूहाङ ! म खाली खाली छु ।

प्रेम त्यो दौलत हो, जसको प्राप्तिका लागि यहाँ अनन्त दौलत खर्चिनेहरू धेरै हुन्छन्, तर प्रेम बिनाको दौलत भिल्लको आँगनमा मिल्किएको मणि हो । पारूहाङ मेरो मुटुको आँगनीमा र आँखाको ढकनीमा आऊ तिमी, त्यो दरबार बनाऊ । प्रेम त त्यो सिद्धि हो जहाँ सबै कुरा प्राप्ति हुन्छ ।

प्रेम देवस्थल हो, देवालय हो । जहाँको एक झोक्का हावा पनि पवित्र हुन्छ । प्रेम आरती हो । प्रेम मुटुको चिराग हो । प्रेम प्रार्थना हो । प्रेमत पूजा हो । कैलाशबाट उठेको बादल जो निर्मल आकाश छुन जाँदै गरे जस्तो ।

आऊ पारूहाङ ममा शीत पारिदेऊ । मभित्रको जुनकिरी उज्यालोको हकदार छौ तिमी । म प्रेममा परिन् । प्रेम के हो प्रेम कस्तो हो ? मैले महसुस गरिन् । मलाई लुक्लाको फागदिनमा बहने चिसो बतासले छोयो आज, मलाई पाँचथरको वनभित्ताहरूमा हासेको गुराँसले छोयो आज, मलाई दरौंदीको कन्चन पानीले भिजायो । मलाई भोजपुरको हेलौछामा परेको इन्द्रधनुले बोलायो । मलाई डोल्पाको जुफालले हँसायो, तर मलाई सोलुखुम्बुको सोताङ्गे पारूहाङले फर्केर हेरेन । म दुःखी छु । म आजकी सुम्निमा । हिमालय पर्वत हजारौं पटक बिटोलिँदा आजकी सुम्निमा चोखी छे ।

मैले दुःख मानेकी छैन, किनकि मेरो भाग्यमा प्रेम लेखिएको छैन । पत्थरले यहाँ देउता बनेर मन्दिरमा बस्न पाउँदा, म त मान्छे एउटा खुला हृदयको कटेरामा बस्न सकिन । मेरो गरिबी, मेरो प्रेमको बाधक । म सल्लेरीकी एक अबला अनाथ हुँ पारूहाङ । मलाई माया गरन् बिन्ती । म बिटोलिएकी छैन । यहाँ मानिसहरू मानिसलाई होइन, पैसालाई प्रेम गर्छन् । मानिसहरू निर्मल हृर्दयलाई होइन, तातो जवानीलाई प्रेम गर्छन् । मानिसहरू इज्जतले उभिएको फूलको बोटलाई होइन, फुललाई मात्रै हेर्छन् ।

आजको मानिस वासना खोज्छ । म वासना होइन । म सुवासना हुँ । मलाई चाहिन्न भो कोही मान्छे । मलाई संखुवासभाको मादी र आँखी भुईँ भए पुग्छ । मलाई दुहबीको सोनापुर र रामेछापको हिम गङ्गा भए पुग्छ ।

मलाई अब प्रकृतिको त्यो रसना भए पुग्छ । मलाई केटाको बाहु होइन, गोरखा आजिरकोटको हम्शपुर र पूर्वी हाङपाङ भए पुग्छ । मलाई अब कोही सुन्दर पुरूष चाहिन्न सधैँ कलकल बगिरहने बुढीगण्डकी र दरौँदी भए पुग्छ । मलाई प्रकृति फूल जो सधैँ हिमाल वरिपरि फुल्छ, त्यही भए पुग्छ ।

प्रेममा जब जित छ भने त्यहाँ हार पनि छ । म पनि प्रेममा छु, प्रकृति प्रेममा । यो उल्लास उत्फुल्लता मैले हिमालयबाट बगिआएको हिउँ शीतमा मात्रै पाए । मैले आनन्द बिहानी किरणमा मात्रै पाएँ । मैले आनन्द लम्पसार सुतिरहेकी पहाडको छातीमा पाएँ । मैले आनन्द झर्नाको झरझरमा पाएँ । मैले आनन्द कुनै देवीको मन्दिरमा सबेरै बज्ने घण्टीको प्रध्वनीमा पाएँ । मैले आनन्द सबेरै पहाडको झ्यालबाट फाल हाल्ने कल्लोल किरणमा पाएँ ।

म अलिकति पागल छु । शायद रारा तालमा कराउँदै हिँड्ने हिउँ चरी पनि म जस्तै पागल छे । शायद जुनेली आकाश पागल छ होला । मैले खोजेको पारूहाङ, यो शताब्दीमा शायद नभेटुँला, भैगो म चोखै बसुँला ।

सबै पागलहरू एक्लै–एक्लै हुन्छन् । म पागल र पो त म पनि कसैको प्रेममा परिन् । म उफ्रँदै हिँड्छु, पहाडी तरेलीमा । उदासी रूख भएर बाँच्दिन, म कहिले पनि । म स्थिर छैन । बादलले छोप्ने, जुन जस्तै एक जुन हुँ म आफ्नै आकाशको ।

म उदास जुन पनि होइन । म हरेक प्रहरमा देउरालीबाट बहने चिसो हावा जो संखुवासभाको चैनपुर हुँदै खाँदवारि तिर धावा बोल्छु । म सोलुको खुम्जुङ्गमा मारूनी नाची हिँड्ने सुम्निमा हुँ । म मुन्धुममा रमाउँछु, कुनै यलम्बरको पर्खाइमा । यो मेरो देश हो, हिमाल हेरेर यो सुम्निमा बाँचिरहन सक्छे । यो पारूहाङ्गको पहाड हो । भैगो पारूहाङ्ग भलै मलाई माया नगरे नगर, तर अवश्य तिमीसँगै बिहान ब्युँझिने यी हिमालयहरूलाई सधैँ सधैँ म माया गरिरहने छु !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट