

काठमाडाैं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक र मानव कल्याणका कार्यक्रमहरू सञ्चालन गरेको छ। वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, पूर्वाधार निर्माण, दिगो विकास लक्ष्य, मानव सेवा र परोपकारका क्षेत्रमा बैंकले व्यापक रूपमा पहल गरेको हो।
बैंकको मार्तडी–बाजुरा शाखाले श्री लक्ष्मी माध्यमिक विद्यालयका आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा अब्बल विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। यसले विद्यार्थीको अध्ययन वातावरणलाई सहज बनाउन मद्दत पुर्याउने विश्वास बैंकले लिएको छ।
बैंकको पाटन–बैतडी शाखाले मेलचौरा स्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा शौचालय निर्माणका लागि आर्थिक सहयोग गरेको छ। ८०० विद्यार्थी र ३० कर्मचारी रहेको विद्यालयमा सरसफाइ तथा सरुवा रोगको सम्भावनालाई दृष्टिगत गर्दै सहयोग गरिएको हो।
महेन्द्रनगर शाखाले कञ्चनपुरको श्री बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिमा खाद्यान्न सामग्री वितरण गरेको छ। त्यसैगरी बुढानिलकण्ठ–४ स्थित श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालयमा राउण्ड टेबल नेपालको सहकार्यमा ११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।
कलैया शाखाले गर्मीका कारण पर्न सक्ने असहजता न्यूनीकरण गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ। त्यस्तै, मालीगाउँ प्रहरी वृत्तमा खटिने सुरक्षाकर्मीका लागि खानेपानी उपलब्ध गराइएको छ।
साथै, बैंकले रोटरी क्लब अफ वीरगञ्जसँग सहकार्य गरी १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न सहयोग गरेको छ। रोटरी क्लब अफ गैँडाकोटसँग मिलेर श्री नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणमा पनि सहयोग गरिएको छ।