एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता-Sutra News

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

शुक्रबार, २० असार २०८२

शुक्रबार, २० असार २०८२

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विदेशी पर्यटकहरूलाई नेपालमा सहज डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने उद्देश्यले ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार ‘अलीपे प्लस’ नेटवर्क प्रयोग गर्ने विदेशी पर्यटकहरूले अब एनआईसी एशिया बैंकमा आबद्ध नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्नेछन्।



सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

हाल ‘अलीपे प्लस’ नेटवर्कमा चीन, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया, मंगोलिया, फिलिपिन्स, मकाउ, इटाली, जर्मनी लगायतका देशका भुक्तानी सेवा प्रदायकहरू आबद्ध छन्। यस सम्झौता कार्यान्वयनमा आएपछि ती देशहरूबाट नेपाल भ्रमणमा आउने पर्यटकले आफूले प्रयोग गरिरहेको वालेट वा बैंकिङ एपबाट सीधा नेपालपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन्।

यस सम्झौताले नेपालमा अन्तरदेशीय डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण फड्को मारेको बैंकको भनाइ छ। विदेशी पर्यटकहरूले नगद विनिमय वा अन्य जटिल प्रकृया बिना नै मोबाइल एपमार्फत सहजै सेवा तथा सामानको भुक्तानी गर्न पाउने भएकाले डिजिटल पर्यटन कारोबारमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

एनआईसी एशिया बैंकले नेपालभर फैलिएको नेपालपे क्युआर नेटवर्कमार्फत ग्राहक तथा व्यवसायीहरूलाई डिजिटल भुक्तानीको सरल र सुरक्षित विकल्प प्रदान गर्दै आएको छ। एनसीएचएलसँगको सहकार्यले यो सेवा अब अन्तरदेशीयस्तरमा विस्तार भई पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट