

काठमाडौं । यो साताको पहिलो कारोबार दिनदेखि नै सेयर बजार परिसूचक (नेप्से) उकालोमा रह्यो । आइतबार २६.५३ अंकले बढेको नेप्से लगातार ५ कारोबार दिनको बिचमा १०८.२२ अंकले बढ्यो ।
गत साताको अन्तिम कारोबार दिन (बिहीबार) ४.४५ अंकले घट्दै २५९५.७४ अंकमा झरेको नेप्से यो साताको वृद्धिसँगै २७०३.९६ को बिन्दुमा उक्लिएको छ ।
यो साताभर परिसूचक मात्रै बढेन कारोबार रकम पनि उत्साहजनक रूपमै बढ्यो । आइतबार ७ अर्ब ३ करोड कारोबार भएको बजारमा ५ कारोबार दिनको बिचमा ३८ अर्ब ८१ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । जुन अघिल्लो साताको तुलनामा बढी हो ।
परिसूचक र कारोबार रकममा भएको निरन्तर वृद्धिले लगानीकर्ता उत्साहित भएको देखाउँछ । जसले आगामी साता पनि बढ्ने संकेत गर्दछ ।
यद्यपि, अहिलेको वृद्धिका कारणलाई नकेलाई आगामी साता नेप्सेमा वृद्धि कायमै होला भन्ने यकिन गर्न हुँदैन ।
यी कारणले बढेको छ नेप्से
बजारका जानकार जगतजङ्ग जिसीको बुझाइमा ५ कारणले नेप्सेमा उत्साह देखिँदै छ । उनका अनुसार मुख्यगरी गभर्नर डा. विश्वनाथ पौडेलको अभिव्यक्ति र कदमबाट सकारात्मक बनेका लगानीकर्ता आगामी मौद्रिक नीति सकारात्मक आउनेमा आशावादी छ ।
“गभर्नरजीको गराई र भनाई स्टक मार्केटका लागि निकै नै सकारात्मक छन्, जसलाई हेर्दा आगामी मौद्रिक नीति मार्केटलाई सम्बोधन गर्नेगरी आउँछ भन्ने विश्वास व्यक्त गर्न सकिन्छ”, जिसी भन्छन्, “सँगै अधिक तरलता, सस्तो ब्याजदर बैंकलाई कारोबार गर्न दिने चर्चा र बोनसको आशले पनि लगानीकर्तामा उत्साहको माहौल बनाएको छ ।”
पौडेल नियुक्त भए लगत्तै मौद्रिक नीतिको समीक्षामार्फत स्टक मार्केटलाई प्राथमिकता राख्दै सम्बोधन गरेको उनको भनाई छ । जसबाट आम लगानीकर्तामा निकै सकारात्मक प्रभाव परेको उनी बताउँछन् ।
“नियुक्त भए लगत्तै उहाँले रिक्स वेटेजका कुरा सम्बोधन गर्नुभयो, मार्केटका समस्यालाई बुझ्न छलफल र परामर्शलाई बढाउनु भयो, सुझाव संकलन गर्नुभयो, अहिलेसम्मको भूमिका हेर्दा निकै सकारात्मक छ”, जिसी थप्छन्, “लगानीकर्ताले नाफाको सुनिश्चितता खोज्छ, जसको कारण योबिचमा धेरै ‘वेट एन्ड वाच’मा रहे । त्यो समय भने अब सकिएको देखिन्छ ।”
जिसीजस्तै अर्का बजारका जानकार कमलराज अधिकारी पनि ‘वेट एन्ड वाच’को समय सकिएको तर्क गर्छन् । अधिकारीका अनुसार अहिलेको सकारात्मक अवस्था मौद्रिक नीतिप्रतिको आशले हो ।
“थुप्रै कारण छन्, यद्यपि मौद्रिक नीति सकारात्मक आउँछ भन्नेमा विश्वस्त हुने आधार छ, बैंकहरूको सेयर किनबेच बढ्नु र कारोबार बढ्नुले ठूला लगानीकर्ता पनि सक्रिय भएको देखाउँछ”, अधिकारी भन्छन्, “अब माहौल बन्यो भन्ने बुझ्दा हुन्छ ।”
यद्यपि, वर्षको अन्तिम महिना भएको कारण नेप्सेमा वृद्धि हुन उत्तिकै सकस पनि रहेको विश्लेषण जानकारहरूको छ ।
“असार महिना आर्थिक वर्षको अन्तिम महिना हो, जहाँ वर्षभरिको सेटलमेन्ट गर्नुपर्ने प्रेसर सबैलाई हुन्छ, जसले सेलिङ प्रेसर बढाउन सक्छ”, जानकार जिसी भन्छन्, “तर, मनोविज्ञान सकारात्मक नै रह्यो भने अरूतर्फबाट व्यवस्थापन गरेर बजारलाई अगाडि बढाउन सहयोग गर्न सक्छ, विगतको हेर्दा पनि अवस्था सकारात्मक हुन्छ भन्ने आश मान्न सकिन्छ ।”
अघिल्ला वर्षहरूमा पनि बढेको थियो नेप्से
नेप्सेमा वृद्धिको ट्रेन्डलाई हेर्दा करिब यही समयको आसपासमा उचाइ लिएको पाइन्छ । गएको वर्षमा पनि यही समय बजार बढेको थियो ।
२०८१ को असार १७ मा २०५३ को बिन्दुमा रहेको नेप्से ३० दिनकै बिचमा ७ सयभन्दा बढी अंकले बढ्दै साउन १६ मा आइपुग्दा २७६० को बिन्दुमा उक्लिएको थियो ।
तत्कालीन समय नेप्सेले लामो साइडवेजको ट्रेन्डलाई ब्रेक गरेको थियो । तत्कालीन समय सरकार हेरफेरको घटनाक्रम महत्वपूर्ण रहे पनि अन्य कारणहरूले पनि बढाउन मद्दत गरेको बुझाई जानकारहरूको छ ।
जुन त्यसअघिको वर्षहरूका वृद्धिलाई हेर्दा पनि स्पष्ट हुन सकिन्छ । २०८० असार ७ मा २०९७ को बिन्दुमा रहेको नेप्से साउन ८ मा आइपुग्दा २२ सयको बिन्दुमा उक्लिएको थियो ।
जानकार अधिकारीका अनुसार प्रायः आर्थिक वर्षको अन्त्य र मौद्रिक नीति तयारीको बेला नेप्सेमा लगानीकर्ता बढी सक्रिय हुने गर्दछन् ।
“घाटाको लागी कसैले पनि लगानी गर्दैन, नाफा हुने उपाय सबैले खोजेका हुन्छन्, जुन आर्थिक वर्षको अन्त्य र मौद्रिक नीतिको सुरुवाती समयलाई रोजेको पाइन्छ”, अधिकारी भन्छन्, “अहिले पनि सोही ट्रेन्ड लागु हुनेमा दुबिधा छैन ।”