

पोखराको एउटा होटेलमा नवविवाहित जोडी हनिमुन मनाउन गएको बेलामा बिहे गरेको प्रमाणपत्र नहुँदा २ रात थुनिएको खबर केही वर्ष अगाडिको छापा पत्रिकामार्फत आएको थियो । यात्रा गर्दा वा कहीँ वास बस्दा वैवाहिक प्रमाणपत्र सधैँ झोलामा हिँड्नुपर्ने नेपाली समाजको सामाजिक अवस्था छ । यहाँ विवाहित जोडिलाई त घुम्न र कतै वास बस्न सहज छैन भने अझ अविवाहित प्रेमी प्रेमिकाहरूलाई त झन् कसरी सहज होला ?
घुस खुलेआम खान पाइन्छ । खुलेआम भ्रष्टाचार गर्न पाइन्छ । खुलेआम ठग्न पाइन्छ । खुलेआम बेइमानी गर्न पाइन्छ । खुलेआम देश लुट्न पाइन्छ, तर विडम्बना खुलेआम प्रेम गर्न पाइँदैन । भ्रष्टाचारमा र ठगीमा त्यस्तो के त्रास होला र जति प्रेममा छ ।
लुकी लुकी डर त्रास प्रहरी र समाजको आतंक सहेर पनि प्रेम गरिरहेका हुन्छन्, ती निरीह प्रेमी प्रेमिकाहरू । नेपाली समाजमा हरेक दिन बलात्कार र हत्याको खबर आइरहेको हुन्छ । योभित्रको दर्दनाक कारण प्रेम र यौनमा सामाजिक बन्देजको कारण नै हो भनेर केही समाज शास्त्रीहरू बताउँछन् । प्रेम र यौन वर्जित छ, त्यसकारण पनि यहाँ हत्या र बलात्कारका घटनाहरू सधैँ सुनिरहन परेको छ । तर, हामी खुला हुन सकेनौँ ।
विगत ८ वर्षमा १६ हजार ९ सय ६० महिला/किशोरीमाथि बलात्कार र ५ हजार १ सय ५ महिलामाथि बलात्कार प्रयासको प्रयास भएको तथ्यांकले बताउँछ । उन्नतिशील समाज निर्माणका लागि हरेक राजनीतिक पार्टीको, राज्यको र समाजको अभिस्टता हुँदाहुँदै पनि राज्य असफल भइरहेको अवस्था छ । हाम्रो समाज यसरी निर्माण भएको छ कि यहाँ प्रेमलाई अपराध र २ प्रेमी प्रेमिकालाई अपराधी सम्झिइन्छ । अनि निर्मला पन्तहरू मारिँदा राज्य निरीह बन्दिन्छ । प्रेममा निगरानी होइन, अपराधमा निगरानी राख्नु राम्रो हो । बलात्कारका मामिलामा उल्लेखनीय वृद्धि हुनुको मुख्य कारण राजनीतिक प्रतिबद्धता र यस समस्याको सामना गर्न प्रभावकारी उपायहरूको खोजीको अभाव हो ।
जतिसुकै साक्षरतामा वृद्धि आए पनि यौन हिंसा/महिला हिंसामा कमी आउन सकिरहेको छैन । महिला हिंसाको क्षेत्रमा यति धेरै सरकारी र गैरसरकारी संस्थाहरू लागेका छन्, तीनको संख्या हेर्दा त नेपाल तुरुन्तै यौन हिंसा र महिला हिंसाको ग्राफ अब धेरै तल झर्दै छ । तर, यहाँ उल्टो भइरहेको छ । जति धेरै यौन हिंसा र महिला हिंसा त्यति धेरै गैरसरकारी संस्थाहरूलाई वैदेशिक सहायता ओइरो लाग्दो रहेछ । कतिले मिलेमतोमा महिला हिंसाको ग्राफ बढाएर भए पनि अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग भित्र्याउने काम हुँदो रहेछ । अस्पतालमा बिरामी संख्या जति धेरै थपियो त्यति नै अस्पताललाई फाइदा भने जस्तै जति यौन हिंसा/महिला हिंसा बढ्यो, गैरसरकारी संस्थाहरूलाई त्यति नै फाइदा अथवा आम्दानी मिल्दो रहेछ ।
यसमा समाज शास्त्रीय अध्ययन हुनु जरुरी भैसकेको छ । यौनलाई कसैले दबाउन सक्दैनन् । चाहे पुरुष हुन् वा स्त्री । समाजमा सबैभन्दा बढी चासो चियो र चर्चाको विषय बनेको छ, यौन र प्रेम ।
पश्चिमी देशहरूमा सेक्स चासोको विषय बन्दैन किनभने कानुनतः सेक्सलाई अपराधीकरण गरिएको छैन, बरु यसलाई सामाजिकीकरण गरिएको छ । सेक्स प्राकृतिक जैविक सिर्जनात्मक कुरा हो भन्ने कुरा उनीहरूले बुझेका छन् र अरूलाई पनि बुझाएका छन् । त्यहाँ बलात्कार नगण्य हुन्छ । बलात्कारपछि स्त्रीको हत्या भएको सुनिएको छैन, पढिएको पनि छैन । एउटी स्त्रीले आफूले मन पराएको पुरुषसँग सेक्स प्रस्ताव राख्न सक्छे, त्यो उसको वैयक्तिक अधिकार हो ।
सडकमा हिँड्दा होस् वा फिल्म हलमा जाँदा होस् वा कलेज जाँदा होस् नेपाली युवाको ध्यान समकक्षी युवतीमा जान्छ, किनकि यहाँ यौन वर्जित छ । यहाँ यौन र प्रेमलाई समाजले अपराधको रूपमा हेरेको छ । जुन कुरा वर्जित छ, त्यही कुरामा मानिस बढी चासो राख्छ ।
खुला समाजमा अपराध कम हुन्छ । जति पुरातनवादी सोचाइबाट मान्छे ग्रसित हुन्छ, त्यो देशको कानुन पनि त्यति नै पुरातनवादी हुन्छ र मानिसले आफूले आफैलाई दण्ड दिइरहेको हुन्छ । हामी ‘पश्चिमी संस्कृति खत्तम छ’ भन्छाैं, तर खत्तम त हामी रहेछौ किनकि दैनिक स्त्री बलात्कारको खबर आइरहेको छ । अपहरण र हत्याको मुद्दाहरू बिना फैसला थन्किरहेका छन् ।
यदि यौन अपराध नियन्त्रणभन्दा बाहिर गयो भने त्योभन्दा घातक स्थिति केही हुँदैन र यसले सामाजिक विचलन ल्याउने निश्चित छ । मनोविज्ञहरुका अनुसार जसरी युद्धमा होमिएको बेलामा शत्रु परास्तको मात्रै उद्देश्य हुन्छ युद्धकर्मीलाई, त्यस्तै यौवनको भोकले जलिरहेको पुरुष पनि त्यो बेलामा सेक्सभन्दा अरू केही देख्दैन । स्त्रीमा पनि सेक्स उन्मादको जलन भयंकर हुन्छ, तर उनी सहन्छिन् । यही फरक छ स्त्री र पुरुषमा । सहिदिनुमा प्रकृति पूज्य हुन्छिन्, जाइलाग्नेमा पुरुष पुरूषार्थी सम्झन्छ ।
बलात्कार भयो भनेर कानुनी उपचारतिर मात्रै सरकारको र समाजको ध्यान गएको छ, तर बलात्कार हुनु पछाडिको मूल रहस्य वा कारण के हो भनेर त्यसको निराकरण गर्नतिर कहिले गएन समाज । यौनलाई सहजीकरण, व्यवस्थापन अनि सामाजिकीकरण गर्नतिर भन्दा पनि यसलाई बढी अपराधीकरण गर्न तर्फ गयौँ हामी र त्यसको परिणाम हो दैनिक जसो बढिरहेको बलात्कारको घटना ।
यौनलाई पापको रूपमा यदि नलिइदिने हो भने कडा रूपमा नदबाउने हो भने र सामाजिकीकरण गरिदिने हो भने नेपाली समाजमा यौन हिंसामा अवश्य कमी आउने छ । प्रेमको दण्ड पाउनु नै छ भने प्रेममै होमिएर किन नमर्ने जस्ता आदर्शका कुरामा होइन, नियमनका कुरामा र समाजलाई खुला रूपमा अगाडि बढ्न दिने हो भने अवश्य नै महिला हिंसा र यौन हिंसामा कमी आउने छ ।