

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आगामी असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ । यस योजनाले सस्तो, सुरक्षित र व्यावसायिक लगानीको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।
ग्लोबल आइएमई क्यापिटलको समुन्नत योजना २ को प्रारम्भिक कोष आकार रु. १ अर्ब २० करोड रहनेछ, जुन बढीमा रु. १ अर्ब ५० करोड सम्म विस्तार गर्न सकिने व्यवस्था गरिएको छ । यस योजनामा १२ करोड इकाईहरू सर्वसाधारणका लागि निष्काशन गरिनेछन्, जसको प्रति इकाई मूल्य रु. १० निर्धारण गरिएको छ ।
यो योजना बन्दमुखी योजना हुनेछ र यसको अवधि १० वर्ष राखिएको छ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई लगानी गर्न सक्नेछन्, जबकि अधिकतम लगानी १.२० करोड इकाई सम्म हुन सक्छ ।
योजनाको विशेषताहरू
योजनाको प्रकारः बन्दमुखी योजना
फन्ड नामः ग्लोबल आइएमई म्युचुअल फन्ड
योजना नामः ग्लोबल आइएमई समुन्नत योजना २
कोष आकारः प्रारम्भिक रू. १.२० अर्ब (अत्याधिक माग भएमा रू. १.५० अर्बसम्म)
प्रति इकाई मूल्यः रू. १०
सर्वसाधारणमा निष्काशन गरिने इकाइहरूः १२ करोड इकाईहरू
न्यूनतम लगानीः १०० इकाई
अधिकतम लगानीः योजनाको १० प्रतिशत अर्थात् १.२० करोड इकाई
योजना अवधिः इकाई बाँडफाँड मिति देखि १० वर्ष
लाभांश नीतिः प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पुनः लगानी
सूचीकरणः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीबद्ध
प्रारम्भिक लगानीः १५ प्रतिशत (फन्ड प्रायोजक र व्यवस्थापक)
व्यवस्थापन शुल्कः नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत
डिपोजिटरी शुल्कः नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत
लगानी मिश्रण
ग्लोबल आइएमई समुन्नत योजना २ ले लगानीकर्तालाई इक्विटी र निश्चित आम्दानी युक्त साधनहरूमा लगानी गरेर सन्तुलित जोखिम व्यवस्थापन गर्ने अवसर दिनेछ ।
यस योजनामा इक्विटी को हिस्सा ७०–९० प्रतिशत, ऋणपत्र र फिक्स्ड डिपोजिट को हिस्सा क्रमशः ०–१० प्रतिशत राखिएको छ ।
अनुमानित प्रतिफल
ग्लोबल आइएमई क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार, लगानीकर्ताले १० वर्षमा २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । पहिलो ९ वर्षसम्म ८% देखि २०% सम्म लाभांश वितरणको संभावना रहेको पनि प्रक्षेपण गरिएको छ ।
ग्लोबल आइएमई क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो, जुन सन् २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त संस्थान हो र यसको प्रमुख स्वामित्व ग्लोबल आइएमई बैंक को रहेको छ ।
यस योजनामा इक्रा नेपाल ले कोष प्रबर्धकलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस“ प्रदान गरेको छ भने, योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले “आईआरएन एएमसी क्वालिटी ३ प्लस“ रेटिङ्ग प्रदान गरेको छ ।
लगानीकर्ताका लागि आकर्षक अवसर
ग्लोबल आइएमई क्यापिटलका अनुसार, यस योजनाले विविधीकरण, सस्तो लगानी, पारदर्शिता, कर छुट जस्ता प्रमुख फाइदाहरू पनि प्रस्ताव गर्दछ । यसका साथै, लगानीकर्तालाई व्यवसायिक व्यवस्थापन, सहजता र पहुँच जस्ता विशेषताहरू पनि प्राप्त हुनेछ ।
ग्लोबल आइएमई समुन्नत योजना २ को निष्काशन सार्वजनिक भएपछि, नेपालका विभिन्न आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।
ग्लोबल आइएमई क्यापिटलको नयाँ समुन्नत योजना २ नेपालको लगानी बजारमा सस्तो र सुरक्षित लगानी अवसरको रूपमा देखा परेको छ । यस योजनामा लगानी गर्ने इच्छुक व्यक्तिहरूले समुन्नत आर्थिक प्रतिफलको अवसर प्राप्त गर्न सक्नेछन् ।