

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार)को वृद्धिसँगै सेयर बजार परिसूचक (नेप्से) २७०३.९६ को बिन्दुमा उक्लिएको छ । आइतबारदेखि नै लगातार बढेको नेप्सेमा बिहीबार ९.१४ अंकको वृद्धि भएको थियो ।
आइतबारदेखि नै उकालोमा लागेको बजारमा योबिचमा १०८.२२ अंकले वृद्धि भएको छ ।
बिहीबार फाइनान्स र बिमा समूहमा उत्साह छाउँदा केही समूहमा भने करेक्सन देखियो । फाइनान्स ४.०९ प्रतिशतले बढ्दा जीवन बिमा २.६२ र निर्जीवन बिमा २.२४ प्रतिशतले बढ्यो । यसैगरी, विकास बैंक १.२०, सामूहिक लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.३९, बैंक ०.३१ र अन्यको सूचक ०.०३ प्रतिशतले बढ्यो ।
तर, व्यापार १.२९, लगानी ०.७७, जलविद्युत ०.५९, लघुवित्त ०.२२ र होटेल तथा पर्यटन ०.०७ प्रतिशतले घट्यो ।
आज कारोबारमा आएका १२२ कम्पनीको मूल्य बढ्दा १२५ को भने मूल्य घट्यो । नेपाल फाइनान्सको मूल्यमा ९.९८ प्रतिशतले वृद्धि हुँदा सप्तकोसी विकास बैंक १० प्रतिशत र गुराँस लघुवित्तको मूल्य ९.९५ प्रतिशतले घट्यो ।
बिहीबार २ करोड ४९ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको भयो ।
विशेषगरी लगातार वृद्धिका बिच केही लगानीकर्ता बेच्न तम्सिँदा केही कम्पनीको मूल्यमा करेक्सन आएको देखिन्छ । यद्यपि, समग्रतामा वृद्धि हुँदा परिसूचकले २७ सयको बिन्दुलाई पार गर्न पुगेको हो ।