पुरानाको हारभित्र हुर्किँदै बालेन मिसन-Sutra News

पुरानाको हारभित्र हुर्किँदै बालेन मिसन

बुधबार, १८ असार २०८२

बुधबार, १८ असार २०८२

मेयर बालेन्द्र साह ‘बालेन’ले चाहिरहेका छन्, उनको मिसनमा उनी आफै जस्तो असल व्यक्तिहरूको सहभागिता होस् । खराब मान्छेको छायादेखि सधैँ सतर्क हुने बालेन प्रवृत्तिले असल मानिसहरू उनीप्रति झनै आकर्षक हुँदै गइरहेका पनि छन् । दुई तिहाइको दुहाई दिइएको दुई पार्टी मिलेर बनेको सरकार जति–जति असफल हुँदै गयो, त्यतिकै रूपमा जनता वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षण हुन्छन् । बालेनले कतिबेला पार्टी घोषणा गर्छन् भनेर राज्यको एउटा ठुलो जमात पर्खिरहेका छन् । यतिबेला एउटा कौतुहलता अधैर्य भएर जन्मिएको छ बालेनप्रति । यो अस्वाभाविक होइन, स्वाभाविक हो किनकि केही असल मानिसले नै हो यो जगतको भूभार थाम्ने ।



अहिले राजनीतिक वृत्तमा एउटा हल्ला सुनिएको छ, त्यो हो बालेनको मिसन ८४ मा विद्युत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङ, रास्वपाका सांसद सुमना श्रेष्ठ, वैज्ञानिक महावीर पुन, डाक्टर सन्दुक रोइत जस्ता व्यक्तिहरू प्रवेश गर्दैछन् । हावा नचली पात पक्कै हल्लिन दिन्नौ । यस मिसनमा डाक्टर भीम रावलदेखि रामकुमारी झाँक्री समेतले सहभागी जनाउने इच्छा व्यक्त गरिरहेको बुझिन आएको छ । जनता पुराना पार्टीबाट वाक्क दिक्क भएका बेला यस्ता कुराहरूले राम्रै प्रभाव पनि पार्छन् । पुरानाहरूको असफल चरित्रलाई राम्रोसँग चिनेका जनता अब वैकल्पिक राजनीतिको रूपमा बालेन उदाएको हेर्न चाहन्छन् र जनताको यस सपनालाई बालेनले पक्कै निराशामा बदल्ने छैनन् ।

बालेनले पार्टी खोल्दा अहिलेका पुराना पार्टीका सबै असन्तुष्ट कार्यकर्ता र टेस्टेट नेतालाई भित्र्याए भने फेरि उनलाई उचाइ लिन अवश्य गाह्रो पर्नेछ । त्यस्ता असल मानिसलाई भित्र्याउनु जो यो देशको कुनै पनि हालतमा असल मात्र चाहन्छन् ।

कुलमान जस्ता व्यक्तिलाई सरकारले असफल घोषणा गरेर गलत्याएर निकालेको कुरा जनताले देखेका छन्, बुझेका छन् । खराब नेता र पार्टीलाई भोट हाल्दा हाल्दा आजित र निराश भएका जनताले विकल्प खोजिरहेका छन् । जनतामा ठुलो ‘फ्रस्टेसन’ छ । त्यस्ता ‘फ्रस्टेसन’ कहिले आशीका तामाङ बोल्छिन् त कहिले रमा बस्नेतहरू बोल्छन् । राज्य जब जनउत्तरदायित्वबाट पन्छिन्छ, जनता विकल्प खोज्छन् ।

उर्लँदो जननिराशालाई आशामा बदल्न सक्ने एक मात्र जनप्रिय व्यक्ति बालेन नै हो भन्ने कुरामा आम नागरिक नजिक पुगेका छन् । उनीमाथि भइरहेको राजनीतिक प्रतिशोध, हस्तक्षेप र घेराबन्दीको कारणले पनि उनले पार्टी नखोली सुखै छैन् भन्ने आम बुझाइ छ । बालेन पछाडिको जनआधार यति धेरै छ कि जुन उनले कल्पना नै गरेका छैनन् । एक्लो भएर काम गर्न कति असहज हुँदो रहेछ भन्ने कुराले पनि उनी अब असल मानिसहरूलाई साथ लिएर असल कामको वेदिमा होमिन चाहन्छन् ।

बिहानको उदाउँदो घामलाई क्षितिजमा लागेको बादलले एक छिन छोपे पनि त्यही घामको राप र तापले बाधाको बादलले आफूलाई बदल्छ र धर्ती उज्यालो हुन्छ । अक्सर असल मान्छेलाई असफल बनाउन खराब मान्छेहरू हात धोएर लागेका हुन्छन् किनकि असल मान्छेको सफलताले खराब मान्छेहरूको बाटो बन्द गर्दिन्छ ।

मेयर बालेनलाई असफल बनाउन दुई पार्टी (कांग्रेस र एमाले) मिलेर घेराबन्दीमा निरन्तर पारिरहे, तर पनि उनको कमजोरी कतै फेला पार्न सकेनन् । बालेनलाई सिङ्गो सरकार लागेर महाभारत युद्धका अभिमन्युलाई जसरी दुष्चक्रमा पारेर असफल बनाउने दुई पार्टीको सरकारको गुरुयोजना असफल मात्रै भएन एकपछि अर्को काण्डमा सरकार आफै फस्दै गएकोले दिन दिनै अलोकतान्त्रिक, आलोचित र अलोकप्रिय बन्दै गएको छ । बालेन सिद्ध्याउने सरकार आफै सकिनेतर्फ उद्धत छ ।

अहिलेको सरकार ‘कुलिङ पिरियड’को कुराले झन् बदनाम भएको छ । हुन त यो सेवा निवृत्त विशिष्ट कर्मचारीहरूको जागिर अवकाश भएको भोलिपल्ट पुनः अर्को विशिष्टीकृत राजनीतिक नियुक्ति रोक्नका लागि बनाइएको विधान थियो । यो विधानमा भएको हेराफेरी र छलले राजनीतिक तरंग उठेको छ । दुई तिहाइ भनिएको दुई दलीय सरकारको यस्तै यस्तै बदनामित कामले नै हो जनताले विकल्प खोज्ने ।

अहिले वैकल्पिक राजनेताको रूपमा बालेन अगाडि छन् । उनी कम बोल्छन्, यसको मतलब यो होइन कि उनी कमजोर छन् । अक्सर कम बोल्ने मान्छेहरूले भित्र–भित्र काम गरिरहेका हुन्छन् । एमाले र बालेनबिचको शीतयुद्ध करिब समाप्त तिर गएको छ । दुई पार्टीबाट जति खेदिए पनि बालेन झन् बलियो साबित हुँदै गएका छन् । मिसन ८४ को नाममा जनतालाई फेरि पनि झुक्क्याउने खेलमा लागेका जनट्स्टेटहरूलाई बालेन मिसन धेरै महँगो पर्ने सम्भावना बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट