

काठमाडौं । मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत १४ असारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिन् । उनले एमालेको सदस्यता नवीकरण गर्दै एमालेमा फर्किएको सुनाएकी थिइन् ।
जन्म जयन्तीको ब्यानरमा कार्यक्रम गरिएको भए पनि कार्यक्रमको मूल उद्देश्य भने विद्यादेवी भण्डारीको राजनीतिमा फर्किने घोषणा थियो । जुन उद्देश्यका कारण कार्यक्रममा उनी पक्षीय नेता तथा कार्यकर्ताको उपस्थिति बाक्लो थियो ।
भण्डारीको घोषणाअघि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । भण्डारीको राजनीतिमा फर्किने घोषणाको तयारी र उनी पक्षीय शुभेच्छुकहरूको बाहुल्यताका बिच ओलीको सम्बोधन भने केही फरक प्रकृतिको रह्यो ।
“उसबेला पनि मदन भण्डारीलाई भनेकै हो, फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ भनेर । मदन भण्डारी फुत्त दुलाबाट निस्किएर नेता हुनुभएको थिएन”, सम्बोधनमा ओलीले मदनका व्यक्तिगत प्रसङ्ग जोड्दै भने, “चार वटी कि कति वटा श्रीमती छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब ? अनेक दुर्वाच्य बोलिए, सहकारीमा ठगेर हिँडेको हो भनेर आरोप लगाइयो । कुनै आधार, साइनो सम्बन्ध केही पनि थिएन ।”
ओलीले एकातिर मदन भण्डारीको व्यक्तिगत प्रसङ्ग खोले भने अर्कोतर्फ जनताको बहुदलीय जनवाद (जबज)को श्रेयबारे पनि बोले । ओलीले मदन भण्डारीलाई पार्टी महासचिव बनाउन आफूहरूकै योगदान मात्रै रहेको बताएनन् जबजको श्रेय आफूहरूले पनि पाउनुपर्ने दाबी सुनाए ।
“जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो, मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो”, ओलीले भनेका थिए, “किनभने मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन, हामीले नै बनाएका थियौँ । छलफल विश्लेषण गरेर निष्कर्ष निकालेर हामीले बनाएका थियौँ ।”
ओलीले त्यो बेला मदनका व्यक्तिगत प्रसङ्ग कोट्याए, जुन बेला विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने घोषणा गर्न साइत निकालिएको कार्यक्रम उपस्थित थिइन् । ओलीले कोट्याएका अधिकांश सन्दर्भबारे एमालेभित्रै पनि धेरै जानकार थिएनन् ।
जुन अभिव्यक्तिले विद्यादेवी भण्डारी र उनका समर्थकलाई चिसो पसेको देखिन्छ ।
विद्या भण्डारी निकट एमालेका एक नेता ओली अभिव्यक्ति ‘नियोजित’ रहेको टिप्पणी गर्दछन् । “स्पष्ट छ, ओलीले नियोजितरुपमै बोल्नुभएको छ, कार्यक्रमको प्रसङ्ग नै बुझेर उहाँले धेरैलाई थाहै नभएको व्यक्तिगत प्रसङ्ग उप्काउनुभएको छ”, ती नेता भन्छन्, “यस्ता घटना नहोला भन्ने थियो भयो ।”
ओलीले मदनबारे दिएको अभिव्यक्तिलाई अन्यले पनि टीकाटिप्पणीहरू गरिरहेका छन् । जसपा नेपालका महासचिव रामकुमार शर्माका अनुसार ओली अभिव्यक्ति निकै स्वार्थ प्रेरित छ ।
“ओलीको महावाणी– विपक्षीहरूले भन्छन् स्व. मदन भण्डारीको चार श्रीमती थिए र उहाँमाथि सहकारी ठगीको आरोप थियो, कुनै समय ओलीको अत्यन्त प्रिय मानिएकी पूर्व राष्ट्रपति विधा भण्डारीमाथि भावनामा नै आघात पु¥याउने गरी सार्वजनिक कार्यक्रममै आफ्नो पदिय मर्यादा समेतको ख्याल नगरी यति कठोर प्रहार गर्नुहोला सायद कसैले पनि सोचेको थिएन”, ओली अभिव्यक्तिबारे शर्मा भन्छन्, “सायद कुर्सीको लागि हुने यसै प्रकारको घटिया हर्कतको कारण आम नागरिकले राजनीति एउटा फोहरी खेल हो भनेका होलान् ।
के ओलीले झुट बोले ?
पुराना वामपन्थी नेता लोककृष्ण भट्टराई ओलीले उप्काएको प्रसङ्ग झुट नभएको बताउँछन् । उनका अनुसार २०४८ सालमा भएको आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट मदन भण्डारीले जनआन्दोलनपश्चात् गठित अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएका थिए । प्रधानमन्त्री तहकै व्यक्तिको हारपछि कांग्रेसले निकै असहज मानेको उनको अनुभव छ ।
“२०४७ को निर्वाचनमा किशुनजीको अनौठो रूपमा हार भयो, मदन भण्डारीले हराउलान् भन्ने कल्पना सायदै गरिएको थियो”, तत्कालीन घटनालाई कोट्याउँदै भट्टराई भन्छन्, “जुन हारपछि कांग्रेसमा ठूलो हलचल भयो । कांग्रेसका नेताहरूले मदनमाथि सहकारी ठग र बहु विवाह जस्ता आरोप लगाएका थिए ।”
यद्यपि, ती आरोपलाई भट्टराईले नै फिर्ता लिएको पनि उनी बताउँछन् । “तल्लो तहका नेताहरूले त्यस्ता आरोप लगाए, निष्कलंकित व्यक्तिमाथि आरोप लगाएपछि किशुनजीले प्रजातन्त्रमा जीत/हारलाई स्वीकार गर्नुपर्छ, गलत आरोप लगाउनुहुन्न भनेका थिए ।”
यद्यपि, यतिबेला ओलीले बोलेको प्रसङ्ग भने संगतपूर्ण नभएको उनको भनाई छ । “अहिले बोल्न आवश्यक थियो वा थिएन, ती पुराना कुरा उप्काउनु कति सही थियो, त्यत्तिको व्यक्तिले ध्यान दिनुपर्थ्यो”, भट्टराई भन्छन् ।