

काठमाडाैं । इजरायली सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको इरान-इजरायल युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रस्ताव स्वीकार गरेकाे जनाएकाे हाे । सँगै, इजरायलले युद्धविराम उल्लङ्घन गरिएमा कडा प्रतिक्रिया दिनेछ पनि बताएकाे छ ।
विज्ञप्तिमा इरानको आणविक र ब्यालिस्टिक खतरा अन्त्य गर्ने इजरायलको मुख्य उद्देश्य सफलतापूर्वक पूरा भएको पनि दाबी गरिएकाे छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयबाट जारी गरिएको विस्तृत विज्ञप्तिमा भनिएको छ कि इजरायलले अपरेशन ‘राइजिङ लायन’ को सबै लक्ष्यहरू प्राप्त गरिसकेको छ, जसले अब यसलाई युद्धविराममा सहमत हुने आधार दिएको छ।
विज्ञप्ति अनुसार, हिजो राति प्रधानमन्त्री नेतन्याहूले रक्षामन्त्री, इजरायली सेना प्रमुख र मोसादका प्रमुखसँग आपतकालीन मन्त्रिपरिषद् बैठक गरेका थिए । यस बैठकमा इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमको दोहोरो खतरा हटाइएको निष्कर्ष निकालिएको छ।
इजरायली रक्षा बलले तेहरानको हवाई क्षेत्रमा पूर्ण नियन्त्रण स्थापित गरेको छ र दर्जनौं इरानी सैन्य नेतृत्व र सरकारी अड्डाहरूलाई लक्षित गरी ध्वस्त पारेको छ। विज्ञप्तिमा भनिएको छ कि पछिल्लो २४ घण्टामा मध्य तेहरानमा धेरै सरकारी अड्डाहरूमा आक्रमण गरिएको थियो, जसमा इरानी अर्धसैनिक संगठन ‘बासिज’ का सयौं सदस्यहरू मारिएका थिए र एक वरिष्ठ आणविक वैज्ञानिक पनि मारिएका थिए।
इजरायलले यस अभियानमा अमेरिका र राष्ट्रपति ट्रम्पले दिएको सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ कि इजरायल र अमेरिका बीचको पूर्ण समन्वय पछि यो युद्धविराम प्रस्ताव स्वीकार गरिएको छ।
सँगै, इजरायली सरकारले स्पष्ट पारेको छ कि यदि कुनै पनि पक्षले युद्धविराम उल्लंघन गरेमा, इजरायलले बलियो र निर्णायक रूपमा प्रतिक्रिया दिनेछ। साथै, नागरिकहरूलाई होम फ्रन्ट कमाण्डद्वारा जारी गरिएका सबै सुरक्षा निर्देशनहरू पालना गर्न अपील गरिएको छ।
विज्ञप्तिको अन्त्यमा, यस द्वन्द्वमा आफ्ना प्रियजनहरू गुमाएका परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। घाइते सैनिक र सर्वसाधारणको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ। एजेन्सीबाट