वक्तव्यबाजीमा तयार माओवादी प्रदर्शनका लागि भने हच्कियो-Sutra News

वक्तव्यबाजीमा तयार माओवादी प्रदर्शनका लागि भने हच्कियो

सोमबार, ९ असार २०८२

सोमबार, ९ असार २०८२

काठमाडौं । आइतबार ९जुन २२, २०२५०को दिन अमेरिकाले इरानको आणविक अड्डाहरुमा अचानक हमला ग¥यो । इजरायल र इरानबिच युद्ध चलिरहेको बेला अमेरिकाले आफूलाई युद्धमा प्रत्यक्ष सहभागि गरायो ।



जुन घटनालाई लिएर विश्वभर नै विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् । युरोपेली केही देश अमेरिकाको पक्षमा उभिएका छन् भने रुससहित एसियाली अन्य देशहरु विरोधमा छन् । ट्रम्पको यो कदमलाई लिएर अमेरिकाभित्रै पनि विवाद छ ।

यहीबिच नेपालमा पनि अमेरिकाको कदमलाई लिएर विरोध भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित १० दलले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको विरोध गरेका छन् ।

अमेरिकी कदमपछि आइतबार माओवादीसहितका ८ दल छलफलमा बसेका थिए । जुन छलफलको निर्णयअनुसार दलहरुले संयुक्त विज्ञप्ति जारी गरी विरोध गरेका हुन् ।

इजरायलले अमेरिकी उक्साहटमा लागेर इरानमाथि आक्रमण गरेको बताएका दलहरुले अमेरिकाले इरानको राष्ट्रिय स्वाधिनता मात्रै नभई अन्तराष्ट्रिय कानुनसमेत उल्लंघन गरेर आक्रमण गरेको आरोप लगाएका छन् ।

अमेरिकी कदमको दलहरुले घोर विरोध गरेका छन् । “अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ। यो गम्भीर युद्ध अपराध हो। यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ। अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ। यसबाट विश्वव्यापी युद्ध आतङ्कको त्रास फैलिएको छ”, दलहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, दलहरुले तत्काल विवादको हल खोज्न पनि माग गरेका छन् । “विश्व शान्तिका जागि संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानूनहरूको आधारमा शान्तिपूर्ण ढङ्गले समस्याहरूको समाधान खोजिनुपर्दछ भनि सम्बद्ध सबै पक्षहरुसँग जोडदार आव्हान गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

तर, अमेरिकाको विरुद्ध संयुक्त विज्ञप्ति निकालेका दलहरुले विरोधमा प्रदर्शन गर्न भने हच्चिएका छन् । आइतबार बैठकमा प्रदर्शनको सहमति भएपनि अन्तिम अवस्थामा दलहरु पछि हटेका छन् ।

एकीकृत समाजवादीका एक स्थायी समिति सदस्यले बताएअनुसार माओवादीले निर्णय फेरेरपछि प्रदर्शनको कार्यक्रम स्थगित भएको हो । “बैठकमा निर्णय भएको थियो, तर पछि माओवादीले निर्णय फेर्‍यो”, उनले भनेका छन् ।

बताइएअनुसान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वक्तव्यका लागि तयार भएपनि अन्तिम समय प्रदर्शन गर्न भने हच्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट