रास्वपा र राप्रपाले गरे संसद् बहिस्कार-Sutra News

रास्वपा र राप्रपाले गरे संसद् बहिस्कार

सोमबार, ९ असार २०८२

सोमबार, ९ असार २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरिरहेका विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको संसद बैठकमा पनि विरोध गरेका छन् । तर, दुवै दलको विरोधका बिच सभामुख देवराज घिमिरेले भने बैठकलाई नियमित सञ्चालन गरेका छन् ।



सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । जसपश्चात सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए ।

उनले गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको गठन नभएसम्म विरोध जारी रहने बताए ।

तर, सभामुखले नियमित कार्यसूचीअनुसार बैठकलाई अघि बढाए । सभामुखले नियमित कार्यसूची बैठक अघि बढाएपछि बेल घेराउ गर्दै रास्वपा सांसदहरुले नाराबाजी गरेका थिए ।

तर, कार्यसूचीअनुसार बैठक अघि बढेपछि रास्वपा र राप्रपा दुवै दल बैठकबाट बाहिरिए ।

दुई दल बाहिरिए पनि आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल चलिरहेको छ । जसमा यसअघि उठेका प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट