

काठमाडौं । साताको कारोबारको पहिलो दिन (आइतबार) नै सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घट्दै २५९५.९७ को बिन्दुमा ओर्लिएको छ ।
उच्च अंकको गिरावटका बिच आइतबार सबै समूहका सूचक राताम्मे बने । बैंकिङ ०.८, विकास बैंक ०.८८, फाइनान्स १.०९, होटेल तथा पर्यटन ३.३१, जलविद्युत् २.७८, लगानी समूह ०.९८, जीवन बिमा १.०६, उत्पादन तथा प्रशोधन १.०५, लघुवित्त १.१५, सामूहिक लगानी कोष ०.३७, निर्जिवन बिमा ०.४८, अन्य ०.६१ प्रतिशतले घट्दा व्यापार ०.७१ प्रतिशतले घट्यो ।
आइतबार कारोबार भएका कम्पनीमध्ये २३ को सेयर मूल्य बढ्दा २ सय २५ कम्पनीको सेयर मूल्य घट्यो । उच्च गिरावटका बिच पनि जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्यो । यस्तै, प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
सूचकमा उच्च गिरावट आएपनि आज ३१० कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० बराबरको भएको छ ।
गएकाे चैत ११ मा नेप्से परिसूचक २५ सयकाे बिन्दुमा थियाे । त्यसयता नेप्सेमा निरन्तर वृद्धि देखिएकाे थियाे ।