

‘शान्ति निर्माता’ बन्ने बताइरहेको अमेरिका अन्ततः इजरायल–इरान युद्धमा होमियो । राष्ट्रपति डोनाल्ड ट्रम्पकै प्रत्यक्ष निगरानीमा इरानको आणविक केन्द्रमाथि आक्रमण गरियो । इरानमाथिको आक्रमणलाई ट्रम्पले अभूतपूर्व सफलताको संज्ञा दिएका छन् । उनले मध्यपूर्वमा देखिएको आणविक युद्धको संकट पनि टरेको दाबी गरेका छन् । सँगै, उनले इरानले आक्रमणको जवाफ दिएन भने शान्ति स्थापना हुनेछ भनेका छन् भने दिएको खण्डमा अर्को संकट भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।
ट्रम्पले अभूतपूर्व सफलता भनिरहँदा इरानले भने अमेरिकी आक्रमणबाट ठूलो क्षति नभएको बताएको छ । सँगै, उसले अमेरिकालाई गतिलो जवाफ दिने बताएको छ ।
आफूमाथिको आक्रमणलाई इरानले सहेर बस्ला वा प्रतिवाद गर्ला, त्यसैले नै मध्यपूर्वको अवस्था कस्तो हुन्छ, भन्ने देखाउनेछ । प्रारम्भिक प्रतिक्रियालाई हेर्दा, अवस्था सामान्य हुने देखिन्न । जसरी इरान–इजरायल द्वन्द्वमा अमेरिका सहभागी भयो, आगामी दिन अन्य देश सहभागी हुँदैनन् भन्न सकिन्न । यदि सहभागी भएको खण्डमा त्यसले कस्तो रूप लेला, हामी कल्पना गर्न सक्दैनौँ ।
अहिले युद्धग्रस्त बनेको यो क्षेत्र नेपालभन्दा झन्डै ३ हजारभन्दा बढी किमीको दुरीमा छ । जसका आधारमा हामी सुरक्षित नै छौँ भन्न सक्छौँ । जसको बाछिटा हामीसम्म नआउला भन्ने नै कामना पनि गर्न सक्छौँ ।
तर, युद्ध भड्कियो भने के होला भन्ने प्रश्नको जवाफ खोज्नै पर्छ । किनकि युद्धमा जोडिएका अमेरिका, इरान र इजरायलमा हाम्रा नागरिक छन् । सँगै, इरान र इजरायलसँग नजिकै रहेका कुवेत, साउदी अरब, कतार युएई, यमनलगायतका देशमा पनि लाखौँ नेपाली छन् । इरानमा झन्डै २ दर्जनको संख्यामा नेपाली छन् भने इजरायलमा झन्डै ७ हजारको संख्यामा छन् । रुस–युक्रेन युद्ध भड्किँदाको समय मुलुकले नागरिकलाई ल्याउन सकेन । केहीलाई भारतसहित तेस्रो देशको सहयोगमा ल्याए पनि केही उतै रोकिए । कतिपय नागरिक अनाहकमा ज्यान गुमाउन बाध्य भए । इजरायल र हमासबिचको द्वन्द्वमा अझै पनि केही नागरिक हराइरहेका छन् ।
यस्तो विगतका बिच युद्ध भड्किएमा आफ्ना नागरिकलाई कसरी जोगाउने भन्ने चुनौती नेपालका सामु छ । ‘रात परेपछि आत्तिने’ उखान जस्तै अन्तिम समय तातिएर समाधान नहुन सक्छ । नेपालले बेलैमा चिन्तित भएर आफ्ना नागरिकलाई कसरी बचाउने ? योजना बनाउनुपर्छ । अहिलेसम्मको तयारीप्रति हामी सन्तुष्ट हुने अवस्थामा छैनौ ।
देखिएको संकटप्रति हामी कामना मात्रै गर्न सक्छौँ, छिट्टै युद्ध बिराम हुनेछ, युद्धमा जोडिएका देशहरूबिच सहमति हुनेछ, अवस्था शान्तिपूर्ण भएसँगै रोजगारीका लागि गएका हाम्रा नागरिक पनि फिर्ता हुनेछैनन् । विश्वमा फेरि शान्तिकै वातावरण बन्नेछ । तर, हाम्रो कामना, कामना मात्रै हो । किनकि युद्धमा जोडिएका देशहरूका स्वार्थ फरक छन् । हामीले युक्रेनको अवस्था मात्रै देखेका छैनौ, सिरिया, सुडान, इराकलगायतका देशका अनुभव पनि देखेका छौँ । जसको जोखिम सामान्य छैन ।
त्यसैले नेपाल आफ्ना नागरिकप्रति चिन्तित होस् । आफ्नो अवस्थाप्रति चिन्तित होस् । देखिएका संकटलाई सामान्य मान्दै, बेवास्ता नगरोस् ।