“आखिर किन” कविता सङ्ग्रहमा कवि शिव कैलाशको उपस्थिति-Sutra News

“आखिर किन” कविता सङ्ग्रहमा कवि शिव कैलाशको उपस्थिति

शनिबार, ७ असार २०८२

शनिबार, ७ असार २०८२
कविताले मानव भावको रक्षा गर्छ। यो भाषा, सस्कृती र सस्कार जिवित राख्ने माध्यम पनि हो। कविताले सृष्टिको आयाम र आयतनलाई यसरी अभिव्यक्त गर्छ कि ती हाम्रा अगाडि नाच्न थाल्छन् । ती अमुर्तमा साक्ष्यात लाग्न थाल्छन् । यो जगतलाई आफ्ना भावले मीठो गरेर चर्चा गर्ने त कवि नै हो ।

कविताको प्रेरणाले भावनाको प्रवाह चर्को स्वरमा बग्न थाल्छ । यसको अर्थ कविता भावनालाई उत्तेजित गर्ने ठूलो माध्यम पनि हो। क्रोध, करुणा, दया, प्रेम, प्रकृति,मानवता,खुसी , रोमाञ्चकता जस्ता भावनाहरू मानिसको हृदयबाट निस्कन्छ र उ आफ्नो बेगमय भावनामा उत्तेजित हुन्छ, कविताले करुणा बोक्छ, जस्तो जुनले ज्योत्सना। कविताका माध्यमबाट जुनकीरी अभिव्यक्त गर्ने प्रीय कवि, शिव कुमार अधिकारीलाई म आफ्नो हिर्दयको जुनबाट सद्भावनाको ज्योत्सना उपहार दिन चाहन्छु, यो भावोदगारबाट ।



नारायणीको बगरमा कविता देख्ने निर्मल हिर्दयका धनी कविलाई म मीठो कविताका लागि धन्यवाद दिन्छु। हिजो निबन्ध सम्राट शंकर लामिछानेले कवि भुपिलाइ भेट्दा जुन आनन्दको अनुभुती गरेथे,त्यस्तै अनुभुती गर्छु म कवि एस के अधिकारीलाइ भेट्दा।

उहाँ प्रकृतिवादी कवि,गीत सङ्गीत भनेपछि भुतुक्कै हुने व्यक्ति । हामी थोरै समयमा यति नजीक हुनुका कारण पनि  सिर्जना नै थियो। हामी  नारायणीको बालुवाको बगरमा कविता खोज्दै र प्रकृतिको धुन खोज्दै बौलाहा पाराले हिंड्छौ कहिलेकाही  नारायणी तीरैतिर ।

एक दिन अचानक फोन आयो ” लक्ष्मणजी समय छ कि छैन हामी भेटाैन आज” भन्नू भयो। म पनि फुर्सदमा थिए त्यो दिन।

बुढानीलकण्ठको एउटा रिसोर्टमा गयौ। गीत र कविताका बारेमा धेरै चर्चा भयो। मैले मेरो कृति “आर्या” र ” मिटु” उपहार लिएर गएको थिए । उहाँ असाध्य खुसी हुनु भो । कविताको किताब प्रकाशन गर्ने टुंगो लाग्यो। किताब निकाल्ने तर नाम के राख्ने ? यो बारेमा निकैबेर घोत्लियौ हामी  । मलाई एउटा नाम फुर्यो ” आखिर किन “? जिन्दगीको सिङ्गो सारा सारनै आखिर किनमा गएर टुंगो लाग्छ । कवि शिव कैलाशजीको १३८ कविताको उदेश्य पनि यहि आखिर किनमा गएर टुङ्गिएको अनुभुती भो मलाई ।

विभिन्न समयमा उहाँले लेख्नु भएका करिब डेढ सय कविताको पाण्डुलिपि लिएर म घरमा आए। करिब एक हप्ता लगाएर मैले सबै कविता पढे। आज ” आखिर किन” शीर्षकको यो कविताको पुस्पोपहार त्यतिबेलाको हाम्रो साझा सपनाको इन्द्रधनु हो।

कविता जब कविको हिर्दयबाट प्रस्फुटन हुन्छन् ती भावनाहरुले केवल कविका निजि भावना मात्रै बोकेको हुन्नन। अन्ततः यो सबैको साझा हुन्छ। हिजो विलियम सेक्सपियरले लेखेका सिर्जनाहरु आज सबैका साझा भए । हिजो बाल्मिकीले लेखेका रामायण आज सबैको साझा हुन। कालन्तरमा कवि र उस्को सिर्जना सबै सबै साझा हुन्छन। र त्यसैले कवितामा कवि गौण र कविताचै महत्वपूर्ण हुन थाल्छ । कविताको आदिमतामा सृष्टिको सौर्न्दर्य मोहित हुन्छ। हामी महसुस गर्छौं कि हाम्रो जीवन बढेको छ र संसारभर फैलिरहेको छ। क्षितिजको अगालोमा कविताका आद्रपुकार फैलिने क्रममा छन। कवि एस के अधिकारीका गीतहरु क्षितिजको बिम्बमा बिम्बित हुँदैछन बिस्तारै बिस्तारै ।

अक्सर मानिसहरूले कविताको अन्तिम उद्देश्य मनोरञ्जन हो भन्छन्। तर मेरो बुझाइमा मनोरञ्जन यसको अन्तिम उद्देश्य होइन। कविता पढ्दा मनोरञ्जन अवश्य हुन्छ, तर यो बाहेक अरू पनि केही छ। मनोरञ्जन कविताको मुख्य गुण हो। कविताले मानिसको दिमागलाई एकाग्र त बनाउँछ नै, र यता उता जान र भड्किन पनि दिँदैन। यही कारणले गर्दा नैतिकता र धार्मिक शिक्षाहरूले, अथवा उपन्यासबाट लिइएको शिक्षाले मनमा त्यसरी प्रभाव पार्दैन जस्तो कविताको बिम्बले पार्छ।

‘परोपकार गर’, ‘सधैँ सत्य बोल’, ‘चोरी गर्नु महापाप हो’ भन्ने कुराले मानिस परोपकारी बन्ला, झूट बोल्ने मानिस सत्यवादी बन्ला र चोर चोरी गर्न छोड्ला भन्ने आशा गर्न सक्दैनौँ । किनकि पहिलो त मानिसको मन यस्तो शिक्षा लिन तयार हुँदैन, आजको मानिस अर्ती उपदेश होइन दिल सुन्न चाहन्छ । कवितामा दिल हुन्छ। कविता मात्रै यस्तो कोमलता हो जो सुन्दा बुझ्दा र पढ्दा नै हामीलाई उद्वेलित बनाउँछ। मैले कवि एस के जीको कवितामा दिल पाएको छु दिमाग होइन । आजको डिजिटल मान्छे दिमाग होइन दिल सुन्न चाहन्छ । कवि एस के जी को कवितामा दिमाग होइन दिल छ।

कवि एस के अधिकारी मीठो गीत पनि लेख्नुहुन्छ । उहाँका केही गीतहरू नेपालका प्रख्यात गायकहरू मुरलीधर, दीप श्रेष्ठ र बिष्णु अधिकारीले समेत  गाइसक्नु भएको छ।ती गीतहरु बिम्ब, प्रतिक,ध्वनी र लय बिधानका हिसाबले पनि उच्चकोटीका छन। जीवन संघर्षको कोटिहोममा आहुती बनेर व्यवस्थापनमा होमिएका मित्र एस के अधिकारी आगो होइनन् न धुवाँ हुन, उनी मात्र  सुवास हुन। चरुको महत्वत निधारमा लगाइएपछि मात्रै थाहा हुन्छ। कवि एस के अधिकारी होमबाट निस्किएका पवित्र चरु हुन। एक सफल ब्यापारी भएर धरतीका सबै जीवन प्रती समभाव राख्नु हुने उहाँको चरित्र सबैका लागि प्रेरणादायी कविता जस्तै सरल सरस र सलिल छन।मैले बुझेका कवि एस के अधिकारी, मैले सुनेका गीतकार एस के अधिकारी मैले थाहा पाएका ब्यापारी एस के अधिकारी यिनै सरसताका त्यस्तै इन्द्रेणी हुन जस्मा सातै रंगको अनुघुलन सम्मिलित छ।

” आखिर किन?” जन्म भयो मानवको यो बिश्वबिभु बगैचामा प्रीय कवि ? कतै जादा मैले एउटा प्रश्न सोधेको थिए- जवाफ यस्तो थियो “आखिर खाली आएर पनी केही दिएर जानू जीवनको सार्थकता हो नि ”

जवाफ असाध्य मन पर्यो। खाली हात आएर मनग्गे कमाएर सबै सबै गुटमुट्याएर जान पाइन्छ भन्ने पृथ्वीमा जन्मिएका धनका लोभीहरुलाइ यो एउटा दरो झापट थियो कवि एस के अधिकारीको । अन्तमा
” आखिर किन?” कविता सङ्ग्रह जनमनको हिर्दयमा बास बस्न सफल होस भन्ने कामना सहित उहाँका म्युजिक भिडियोहरु आइरहेका छन।
गीत रचना, सङ्गीत सिर्जना र स्वरका समेत धनी प्रिय कवि एस के अधिकारीलाई सफलताको हार्दिक शुभकामना !!

समिक्षक :- लक्ष्मण सिटाैला

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट