

यो भूगोल । यो इन्द्रेणी ! यो चञ्चल चपलता ! त्यो पवित्र नदीको उद्गम धारा ! चराहरूसँगको सम्लाप । निर्मल आकाशको गोधुली छानो । अनि सबैभन्दा मन परेको उनको निश्चिन्त मुस्कानबाट बग्दै बग्दै आएको एक धर्सो हेराइ, जो मैतिर विस्फारित भइरहेको थियो । अनि झर्नाबाट उछिटिएर उत्फुल्ल हुँदै गालामा छुन आएका पानीका सुनौला कणहरू । यस्तो लाग्यो कि ती थोपा थोपाबाट एउटा आदिम गीत गुन्जिरहेको छ प्रेमको, शान्तिको, खुसीको, चिसो, तर सजल ! त्यो शारदीय शान्ति अहो ! उनलाई हातको इसाराले बोलाएँ । हेरेँ, उनको त्यो रुमानी खुसी उत्फुल्ल आँखामा तरेली परि परि भिज्दै आएको मखमली माया !
उनी मसँगै ढुंगामा बस्न आइन् । हामी दुवै एउटा अर्कै आनन्दको संसारमा पुग्यौँ । प्यारो–प्यारो त्यो शीतल शान्तिको हृर्दयस्थलबाट एउटा अर्कै ॐकार ध्वनि गुन्जिए जस्तो अनुभूति भयो । मैले भने– हामी ध्यान गरूँ । उनी खुसीले अलमस्त थिइन् । म प्रसून थिएँ । मदहोस् त्यो रुमानी पल आफैमा गद गद थियो । ध्यानस्त भयौं झर्नाको अगाडि ।
नजिक थियौं एक आपसमा । एकले अर्काको श्वासको साउती पनि सुनिने । कस्तो अचम्म है ! मैले उनको मुटुको धुकधुकी सुने झर्नाको सुसेलीमा पनि । झर्नाबाट उछिट्टिँदै आएको पानीले उनको आँखाको परेली भिजाएको थियो । एकाएक हामी ध्यानको गहिराइमा गयौं । शून्यमा हरायौं कति बेर !
त्यो अनमोल अलौकिक आनन्दको बयान गर्ने सामर्थ्य मसँग छैन अहिले ।
जब ध्यानबाट हामी बाहिर आयौं । उनले मलाई सोधिन्, “के पाउनु भो ध्यानको अतल गहिराइमा पुगिसकेपछि ?” मैले भने, “निराकार देखे शून्य देखें, शान्ति देखे र केहीबेर देखे उज्यालो ज्योति स्वरूप । उनलाई पनि सोधे मैले “तिमीले के देख्यौ ?”
उनले भनिन– “केही छ त्यो पर पर एउटा आशाको किरण निःशर्त देखिने तर ध्यान गहिरो हुनुपर्छ । नारायणी किनारमा बसेर काली गण्डकीको मुहार सम्झिए मैले ।”
हामीले जति बेलासम्म ध्यान गर्यौँ । हामी हामी मै थिएनौ । न उनी त्यहाँ थिइन न म नै त्यहाँ थिए । हाम्रो भौतिक शरीर त्यहीँ थियो तर हामी चैँ कहाँ गयौ थाहा थिएन । हामी कुन दिशाबाट आएका थियौं त्यो पनि थाहा थिएन । केही केही थाहा थिएन । मैले जब आँखा खोले सँगै पाएँ उनीलाई । उनको मुहारमा एउटा अलग उज्यालो थियो । एउटा अर्कै शान्ति थियो । मैले हेरे त्यो चपल आँखाको भृकुटीमा । त्यो आँखाको डिलमा छुन मन लागेको थियो । किनकि त्यहाँ पानीको सुनौलो थोपा थियो । पुछ्न मन लागेको थियो ती सुनौला कणलाई हातले । तर, सकिन छुन । पानीका बुद र ध्यानको गहिराइले छोइएकी उनी यति कोमल र पवित्र लाग्यो कि छोइदिनु पनि फुलमाथि चम्केको शीत झारिदिनु जस्तो लाग्यो ।
ब्यूँझिसकेपछी फेरि हामी यही भौतिक भूगोलको संसारमा फर्कियौं । माया लाग्यो वरिपरिको फेरि । उनलाई हेरे अलिकति हाँसे म । उनी अलिक लजाइन् । त्यो लाजमा पनि एउटा अर्कै सघनता थियो । अर्कै सुखानुभूति र तृप्ति थियो । ढुंगाबाट तल झर्नाको पानी जमेर सानो तलाउ परेको थियो, त्यो इन्द्र दह । मैले सोधें, मलाई त्यहाँ गएर त्यो पानी छुन मन लाग्यो । “जानुन् त” भनिन् उनले । म तल गएँ । पानी छोएँ । तल अलिक गहिरो नै थियो । तल पुगेपछि मैले हेरे उनलाई । यस्तो लाग्यो मैले आकाशमा जुन हेरिरहेछु । म तल गएको । पानी छोएको । अनि ढुंगा समाउँदै माथि आएको सबै तस्बिरहरू आफ्नो मोबाइलमा कैद गरिसकिछन् । जीवनमा प्रकृतिसँग यसैगरी पुलकित भएको म पहिलो चोटि हो । हे शून्य ! तँलाई कस्तो लागिरहेछ मेरो बयान ? सुन्दै जाऊ है ! कति कति भन्नु छ तँलाई हाम्रा कुरा ।
ढुंगा त ढुंगा नै हो तर, ढुंगा पुजियो भने ईश्वर बन्दो रहेछ । यही कुरा प्रमाणित गरिदिइन् आज उनले । कस्तो मीठो थियो त्यो मैले बयान गरेको हाम्रो हिजोको आज । “मसँग कुरा गर्दा वा मसँग रहँदा पुरुष र प्रकृति भन्दा माथि उठेर व्यवहार गर्नुहोला है” उनको को यो भनाइमा एउटा बिहङ्गम व्याख्या लुकेको थियो । प्रकृति र पुरुषभन्दा माथि के छ, त्यो सबैले देख्दैनन् । देख्नेले देख्छन् । अनुभूत गर्नेले गर्छन् ।
“एउटा पुरुषसँग छु भन्ने कुरा मैले यतिबेला बिर्सेको छु” उनको यो वाक्य बोलेपछि म एक छिन सोचमग्न भएँ । हो वास्तवमा कति सजल कुरा थियो त्यो । एउटी नारी कुनै पुरुषसँग हुँदा पुरुषसँग बसेको अनुभूति नगर्नु भनेको त्यहाँ कुनै दुरी र संकोचको प्रवाह नगर्नु पनि हो । एकै आँखाले हेर्नू हो यो चराचर जगतलाई । लाज, संकोच, क्षोभ, भय, चिटचिटा पन, उन्माद, यौन, वासना, आलिङ्गन, आतुरता, रञ्जकता, यी सबै–सबै कुराहरूबाट मुक्तिको कुरा थियो उनको । भौतिक रूपमा जसै पार्वती र शिवको रूप अलग देखिए पनि आत्मिक रूपमा उनीहरू दुई एकै त थिए । अर्ध नारीश्वर ! शिवको आधा स्वरूप पार्वतीकै थियो अनि पार्वतीको आधा स्वरूप शिवकै थियो । यही हो स्त्री र पुरुष बिचको समभाव । उनले यही भन्न चाहेकी थिइन् मसँग । वासनाको अवशेष केही नरहेपछि त्यहाँ अर्कै शान्ति र प्रेमको अनुधारा बहन्छ । त्यही बगिरह्यो त्यो दिन हाम्रो आँखाबाट । जीवन त गीत हो । सरल पाराले गाउन जानियो भने त्यो गीत गीत नभएर प्रार्थना बन्छ । हरेक सन्ध्यामा सुनिने मन्दिरको घन्टबाट गुन्जिने आरती जस्तै हो प्रेम । त्यो शान्तिको एउटा चपल बाटो । जति हिँडे पनि कहिले अन्त नभइदिए जस्तो लाग्ने ।
हामीले हिँडेको त्यो बाटोमा हाम्रो पैतालाको डोब पानीले पखाल्यो होला है ! किनकि त्यो दिन प्रकृतिले पनि आफ्नो काख धोएकी थिइन् हामीलाई अशेष माया दिन । तिमी अलिकति भिज्यौ । म अलिकति भिजेँ । हाम्रो भिजाइमा पनि माया भिजेको थियौ है ! म पुरुष नै त थिए नि ! तिमी प्रकृति नै त थियौ । र पनि म आकाश थिए । तिमी धरा थियौ । कहाँ थियो र खै त्यसको मिलन ? मिलेजस्तो त त्यतिबेला देखिन्छ, जतिबेला इन्द्रधनुको सात रंग बिलिन्छ कुनै बैशालु पोखरीमा । अनि माया र म्वाईको मधुधारा उदभासित हुन्छ । तरंग उठ्छ । प्रश्वास बढ्छ । मादको विलीनता पछि एउटा अर्कै रंग देखिन्छ आकाशमा । सबै सबै ओठमा बैजनी रंग भरेर धरतीबाट जब उठाउँछ पानी इन्द्रेणीले । त्यही हो मायाको व्याख्या पनि । माया त आकाश हो । माया त धरा हो । अलिकति छोइँदा पनि कोमलानुभुती हुने त्यो इन्द्रेणी तिर्खा मलाई पनि लाग्छ नि बुझ्यौ ! मेरो मुस्कानको दीप्तिमा तिमी जलेको हेर्ने रहर मलाई पनि छ नि । के तिमी जल्ने हो त ?
नारायणीबाट बहँदै आएको बतासले छोयो तिमीलाई । तिम्रो कपालबाट एक प्रकारको अत्तर उडिरहेको थियो । त्यो अत्तरमा तिमी नै तिमी वास मगमगाइरहेको थियो । अलिकति तिमी अगाडि थियौ । आधा जुनेली मुहार मात्रै देख्दै थिएँ म । तिम्रो सुगन्धको महकतालाई छोएँ मैले । तिम्रो छाया अलिक अगाडि नसर्दै तिम्रो आधा मुहार हेरेँ मैले । खोइ के भएको हो मलाई । तिमी सँगै छँदाछँदै पनि मलाई किन तिम्रो न्यास्रो लागेको होला ! अचम्म लाग्यो । जब तिमी मेरो सानिध्यमै थियौ । एउटा पातलो रेखा थियो तिम्रो र मेरो बिचमा । एक धर्सो मात्रै । केवल एक धर्सोले मात्रै हामी अलग थियौं । तर, छुवाइको अनुभूति यति सघन थियो कि गुलाफको गालामा बतासले छोएर भागेजस्तै । केवल एक पातलो रेखाले तिमी मदेखि पर थियौं । त्यसैले पनि होला मलाई तिम्रो न्यास्रो लागेको ।
ध्यान सकेर जब त्यो आनन्द लोकबाट बाहिर निस्कियौं, हामी खोइ किन पो हो सबै सबै चिजहरू कोमल लाग्न थाल्यो मलाई । विरुवा, पात, नदी, ढुंगा, पहरा, माटो, मन्दिर, घर, बन सबै सबै कोमल । ध्यानबाट उठेपछि नारायणी बगेको हेर्न मलाई साथै लिएर गयाैं । म पछि लागें । छेउ पुगेर तिमी रोकियौ । म पनि रोकिएँ । हामीले हेरिरह्याैं नदीलाई । नदी पनि हतारमा थिइन् । शायद मानिसलाई मात्रै होइन, यहाँ प्रकृतिलाई पनि हतार छ । कहीँ पुग्नु छ उसलाई । महासमुन्द्रमा मिसिनु छ र शान्तिले त्यही बस्नु छ । एक तमासले पानीको बहावलाई हेरिरह्यौं तिमीले । मैले जाऊ भने । तिमी मोडियौ म भएतिर । हे¥याैं मलाई एक पलक । तिम्रो आँखामा अडिए म । एक छिन सन्नाटा छायो ।
जवानी घामले सिंगो आकाश ओगटे जस्तो लाग्यो । गर्मी भयो । रुखको छायामा हिँड्दै थियौं हामी । रुखका पातहरूलाई छुँदै छुँदै हिँडिरहेको बतासका कारण हामी फेरि शान्त भयौं । तिम्रो ओठ र मुहार कस्तो उज्यालो देखें मैंले । हावाले फेरि फेरि छोइरह्यो भने अर्कै मादकताको काउकुती लाग्ला । पसिनाले पखालेको उन्को मुहारमा नारी सोह्र श्रृंङ्गार केही पनि बाँकी थिएन । अलिकति गाजल लगाएकी भए कस्तो सुहाउँथ्यो होलानी । ओठमा पनि लाली थिएन । ओहो ! मैले त ख्याल गरेको रहेनछु । कस्तो हुन्थ्यो होला त्यो ओठ यदि गुलाफी लाली लगाएकी भए । गाजल बग्थ्यो होला आँखाको दुई धर्साबाट । आँखामा तिम्रो अलिकति गाजल होस् । ओठमा तिम्रो अलिकति गुलाबी रंग होस् । कपालको चुल्ठोमा बनफूल सिउरी दिन पाए कस्तो सुहाउँथ्यो होला नि । यस्तै यस्तै के सोच्दै थिए तिमीसँग हिँड्दा ओरालीमा । तिमी अनायास करायौ । म तिमिलाई के भो भनेर अत्तालिए । तल खुट्टाको छेवैनिरबाट एउटा सुनौलो सर्पको बच्चा तिमीलाई छोएर तल जङ्गलतिर ओर्लियो ।
प्रकृति ! एउटा कुरा मलाई भनत के तिमीमा एक छिन पछि घट्ने घटनाको पहिल्यै जानकारी मिल्छ हो ? के यस्तो शक्ति छ तिमीसँग ? उकालो लाग्दा नै त्यो कलात्मक पहाड देख्दा तिमीले अर्कै अनुभूति गरेकी थियौ र मलाई भन्दै थियौ “हेर्नुस् हामी अगाडिको यो पहाड । केही महसुस गर्नु भो तपाईँले ?” “म अलिक बोधो छु नि ! मेरो यो भुत्ते दिमागले यसलाई त एउटा पहाड मात्रै देख्छ”, मेरो कुरा सुनेर प्रकृति एक छिन हाँसिन् । त्यो हाँसो मलाई कस्तो मन पर्यो । कुरा यतिकै रहेन । उनी त्यो मूर्तिरूपी पहाडको बारेमा मलाई कलात्मक दर्शन दिन थालिन् । “यी हेर्नुस् त यसको माथि । शिर, घाटी, यसको शरीर, यसको आँखा, के यो नाग जस्तो देखिँदैन त अर्कै फिलिङ आयो मलाई” म पनि एक छिन त सोचाइमा परेँ ।
म हेर्थें नि प्रकृति तिम्रो त्यो अञ्जुलीबाट बहेको श्रद्धाको धारा ।
कसरी उभायौ त्यही धराबाट बहेको पानी । फेरि त्यो यात्रामा तिमी र म बाहेक अरू कोही पनि त थिएन । अँजुलीको पानी उभाउँदा तिमी निहुरियौ होला पक्कै । तिम्रा आँखाका भृकुटी एक पल तल धरामा ठोक्किएँ होलान् । तिमी खुसी थियौ होला । तिमी भित्र एउटा पवित्र भावले सम्बोधन गर्दै थियो होला । कति कलात्मक छ है तिम्रो सोच । त्यसैले होला तिम्रो मुहार पनि ईश्वरले कति राम्रो बनाइदिएका । राम्री छ्यौ । मलाई असाध्य राम्री लाग्छ तिमी । तिम्रो मुहारको महाकाव्य लेख्न सक्छु म प्रकृति । किन मन पर्छ यति धेरै तिम्रो निश्चल आँखा । गाजल बिनाको आँखा । एक दिन आँखामा गाजल र ओठमा गुलाफी रङ्ग लगाएर आउन मेरो सामुने । म हेरिरहन्छु र लेखिरहन्छु तिमीलाई दिनभरी ।
अन्ततः कुरो उहित आउँछ नि पुरुष हुँ म र तिमी प्रकृति । तिमीलाई बेहिसाब मन पराउछु । हेरिरहन्छु । अघाउँदिन । एक भेट त के होर हजार भेटमा पनि म तिमीलाई हेरेर अघाउँदिन । जेसुकै भन मलाई प्रवाह छैन । तिमीले जतिसुकै आदर्शका कुरा गर, मलाई मतलब छैन । मलाई पेटभरी हेर्नु छ तिमीलाई । फेरि भन्यौ हेरेर के पाइन्छ ? जुनलाई हेरेर के पाइन्छ ? आकाश अनि यी लहर लहर उभिएका पहाडलाई हेरेर के पाइन्छ ? बिहानको हिमाललाई हेर्दा के पाइन्छ ? फेरि पनि किन आउँछन् १४ घण्टा हवाई जहाज चढेर विदेशीहरू हिमाल हेर्न । किन जान्छन् मानिसहरू पोखरा फेवा हेर्न ? के म तिमीलाई नहेरूँ ? के म तिमीलाई नछोऊ ? के म तिमीलाई नजिस्क्याउ ? के म तिम्रो परेली नहेरूँ ? के म तिम्रो आँसु नपुछूँ ? के म तिमीलाई दुख्दा नदुखूँ ? भन त ! घाम नारायणी र राप्तिको काखबाट विलय हुन थाल्यो ।