आफ्नै निर्णयबाट पछि हटे बालेन, ४ वडाध्यक्षलाई पुरानै जिम्मेवारी-Sutra News

आफ्नै निर्णयबाट पछि हटे बालेन, ४ वडाध्यक्षलाई पुरानै जिम्मेवारी

बिहिबार, ५ असार २०८२

बिहिबार, ५ असार २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ आफैंले गरेको निर्णयबाट पछि हटेका छन् । मेयर साहले ४ वडाध्यक्षबाट खोसेको जिम्मेवारी फिर्ता गरेका छन् ।



मेयर साहले गत १ जेठमा सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर वीरेन्द्र प्रजापति, सुशासन समिति संयोजकबाट ख्यामराज तिवारीलाई हटाएर दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट आशामान संगतलाई हटाएर विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोकेका थिए । यस्तै, मचाराजा महर्जनलाई विधायन समितिको संयोजकबाट हटाएर वडा-१६ कि अध्यक्ष रोजिना श्रेष्ठलाई दिएका थिए ।

तर, नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए । उनीहरुले मेयर साहलाई आफूखुसी नगर्न चेतावनी दिएका थिए ।

पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिइरहेका छन् । उपमेयर सुनिता डंगोलको अगुवाइमा कार्यालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर साहले निर्णय फिर्ता लिएका हुन् ।

वडा नं. १७ का अध्यक्षसमेत रहेका मानन्धरले मेयर साहले निर्णय फिर्ता लिएको बताए । मानन्धरका अनुसार मेयर साहले आफैं एकल शैलीमा यसअघि निर्णय गरेका थिए ।

‘उहाँले केटाकटी शैली देखाउनु भएको थियो, विस्तारै सच्चिँदै हुनुहुन्छ”, उनले भनेका छन्, “यो निर्णय त कार्यपालिकाबाट अनुमोदन भएकै थिएन, निर्णय गर्नुभयो, फिर्ता भयो । अहिलेको मुख्य कुरा कार्यपालिका बैठक बसाल्ने र नीति तथा कार्यक्रमको लागि तयारी गर्ने हो । जसको लागि वातावरण बन्दैछ भन्ने बुझौं ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट