

“उ खानेको …खानेहरू हो तिमीहरूको बुद्धिको घैँटो कहिले खुल्छ ?” एकाएक भाइरल भएको रमाको यो बोली प्रतीकात्मक रूपमा हाम्रो देशका कार्यकारी प्रमुख सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित शब्द हो । सुन्दा पनि समाजलाई अपाच्य हुने यस्तै खाले फोहोरी शब्दहरूको व्यापार गरेर टिकटक र अरू सामाजिक सञ्जालमा एकाएक प्रख्यात भएकी रमा बस्नेत यतिबेला साइबर ब्युरो अपराधका कारण प्रहरी नियन्त्रणमा छिन् ।
रमा बस्नेतमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत फौजदारी कसुरहरू ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’, ‘सार्वजनिक अधिकारीको अख्तियारीको अवज्ञा सम्बन्धी कसुर’, ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुर’ र ‘गाली बेइज्जती सम्बन्धी फौजदारी कसुर’ आकर्षक हुन हुन्छ ।
उनले आफ्नो टिकटक पेजमा नेपालका कार्यकारी प्रमुखलाई यसरी अपाच्य शब्द र श्राप प्रयोग गरेकी छिन् कि टिकटक प्रयोग गर्ने विश्वको कुनै पनि मुलुकको नागरिकले आफ्नो देशको कार्यकारी प्रमुखलाई यस्ता शब्दले गाली बेइज्जती र हुर्मत लिने शायदै कोही होलान् । अन्त कहीँ पाइन्न नेपालमै छ छुट भने जस्तै जे हुन्छ नेपालमै हुन्छ । हुन त टिकटकको आविष्कारक चीनको धेरै संघ र प्रान्तमा टिकटक चलाउन नै रोक छ ।
हङकङमा टिकटक चलाउन पाइँदैन । चीनका नागरिकले आफ्नो राष्ट्रपतिलाई त्यसरी सामाजिक सञ्जालमा मनलाग्दी गाली गर्ने हो भने हदैसम्मको सजायँ आकर्षित हुन्छ । हाम्रो नेपाली समाज लोकतान्त्रीकरणका नाउँमा यसरी अभद्र, अशिष्ट, अश्लील, असामाजिक, फोहोरी र छुद्र हुँदै गयो कि हामी फूलको सुगन्ध पन्छ्याएर दुर्गन्ध मन पराउनेतर्फ लाग्यौँ । अहिलेका हामी युवा जमात वेदान्त भन्दा यस्तै गलत फोहोरी शब्द सुन्दा र हेर्दा आनन्दित हुन थाल्यौं । यो अवनति तर्फको यात्रा हो । प्रधानमन्त्री, मन्त्री र केही मुट्ठीभर नेताले मात्रै राम्रो गर्न चाहेर हाम्रो देशको उन्नति हुँदैन, जबसम्म हामी जनता नै खराब छौं ।
कुनै बेला ‘भेलुबाजे’का असामाजिक हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र नै बुझाउन परेको कुरा मिडियामा आएका थिए । हामीलाई लोकतन्त्रको उपयोग सामाजिक सञ्जालमा नाङ्गो हुन र अरूलाई गधा गाली गर्न मात्रै पो आएको रहेछ जस्तो लाग्छ कहिलेकाहीँ त ।
हामीले ‘भेलु बाजे’ नामले भाइरल भएका मीनबहादुर बुढाको फोहोरी शब्द खुलेआम सुन्यौँ, सिक्याैं, हेर्यौं । हो, त्यसैको जन्मान्तरण हुन् रमा बस्नेत । जो कसैको बहकाउमा बोल्नु मात्रै होइन, सामाजिक सञ्जालमा नाङ्गिन पनि तयार छन् र नाङ्गीरहेका छन् ।
भेलु बाजेको मृत्यु भएको एक वर्ष पुग्न लाग्यो होला, उनी अझैसम्म सामाजिक सञ्जालमा भने जीवित छन् । हामीलाई पुराण, कुरान, वेद उपनिषद्, त्रिपिटक सुन्नु छैन, हामीलाई त सुन्नु छ र हेर्नु छ रमा बस्नेतहरूको फोहोरी गाली र भेलुबाजेका अन्धा फ्यानहरूको मृत ताली ।
अब सम्भवतः प्युठानमा भेलुबाजेको अर्धकदको सालिक निर्माण हुनसक्छ, किनकि हामी फोहोरी युगका अवचेत मस्तिष्कमा छौं ।
अहिले टिकटकर रमा बस्नेत पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
रमाले टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्था लक्षित तथ्यहीन विषयहरू प्रस्तुत गरेको पाइएपछि साइबर ब्यूरोले पक्राउ गरी अनुसन्धान थालेको हो । भक्तपुरबाट गत आइतबार पक्राउ परेकी रमालाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर साइबर अपराध कसुरमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानका क्रममा रमाका ३÷४ वटा आइडी समेत रहेको पाइएको छ ।
भ्रष्टाचार कसैलाई गाली गरेर निर्मूल हुँदैन वा समुन्नतिका लागि गाली आवश्यक कुरा नै होइन, यो कुरा रमाले बुझ्न सकिनन् । अहिलेको हाम्रो समाज कसैको टाउकोमा जुम्रा देख्दा हियाउने र कुकुरको जिउमा उपियाँ देख्यो भने कुकुरलाई नै खिस्याउने प्रवृत्ति उन्मुख छ । लोकतन्त्रपछिको खुला समाजमा हामीलाई यो स्वतन्त्रता कुकुरलाई घ्यु नपचेको जस्तै भएको छ । समाज रूपान्तरणका नाउँमा हामी कतै जंगली र बर्बर त हुँदै छैनौँ ? समाजशास्त्रका प्राध्यापकहरूको पनि यही चिन्ता छ ।
कसैलाई नमान्नु, ऐन, नियम, कानुन नमान्नु, कुनै सिद्धान्त वा नेतृत्वलाई अस्वीकार गर्नु, कसैलाई ‘झोले’ उपनाम दिनु, जे मुखमा आउँछ त्यही बोल्नु उत्तर आधुनिक बन्नु वा पश्चिमा हिप्पी बन्नु भन्ने बुझिँदो रहेछ । ताली दिँदैमा कोही नेता मात्रै हुँदैन कहिलेकाहीँ जोकरको कुरालाई पनि ताली दिइन्छ । अरूलाई जथाभाबी अपशब्द प्रयोग गरी गाली गर्दा एकदम खुसी भएर ठूलो काम गरे जस्तो गरी प्रफुल्ल हुँदा अरू कसैलाई ठूलो चोट लाग्न सक्छ भन्ने हेक्का नराख्ने रमा बस्नेतहरू लोकतान्त्रिक व्यवस्थाको दुरुपयोगका उपज हुन । लोकतन्त्रले हामीलाई निकै धेरै अधिकार त दिएको छ तर अरूलाई पनि सम्मान गर्नुपर्छ भन्ने कर्तव्यका कुरा प्रति चाहिँ हामीले आँखा चिम्लिएकै हो ।
राष्ट्रको कार्यकारी प्रमुखलाई तथानाम गाली र अपशब्द प्रयोग गर्ने रमालाई उनका मातापिताले पक्कै पनि यस्तो संस्कार त दिएनन् होला ? अहिलेको हाम्रो समाज धेरै अराजक तिर गएको छ । अधिकारका नाउँमा जे पनि गर्न पाइन्छ र जे पनि भन्न पाइन्छ भन्ने भ्रममा यदि कोही छ भने कुनै न कुनै दिन उ दण्डित अवश्य हुन्छ ।