

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वमा नेकपा (एमाले)को टोलीले गत १० देखि साता व्यापी चीन भ्रमण ग¥यो । चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँको सरकारको निमन्त्रणमा भण्डारीसहितका एमाले नेताहरू चीन गएका थिए ।
जेठ १० मा चीन प्रस्थान गरेकी भण्डारी जेठ १९ मा फर्किएकी थिइन् ।
भण्डारीसँगै चीन भ्रमणमा गएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धिमूलक र फलदायी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । भ्रमणले दुई देशबिचको सम्बन्धलाई झन् मजबुत बनाएको दाबी मन्त्री भण्डारीले गरेका थिए ।
“भ्रमणले दुई देशबिचको सम्बन्ध थप मजबुत बनाएको छ,” मन्त्री भण्डारीले भनेका थिए, “नेपाल–चीनबिचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्व सहमतिको कार्यान्वयनका लागि भ्रमण थप उपलब्धिमूलक भयो ।”
‘सद्भाव’ भ्रमणको रूपमा बताइए पनि भण्डारी नेतृत्वको भ्रमणलाई राजनीतिक रूपमा हेरिएको छ । उनको भ्रमण गरिएको स्वागत र भेटवार्ता सामान्य थिएन ।
भण्डारी नेतृत्वको टोली फर्किएसँगै थप नेताहरू टोली बाँधेर चीन भ्रमणमा गए । उनी आए लगत्तै कांग्रेस नेता बलबहादुर केसी नेतृत्वको १७ सदस्यीय टोली चीन भ्रमणमा निस्किएको थियो । केसी नेतृत्वको टोली जेठ ३० मा चीन प्रस्थान गरेको थियो ।
केसी नेतृत्वको टोली चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा गएको हो । टोलीमा केसीसहित नेतृ रिना उप्रेती, नेताहरू मनोहरनारायण श्रेष्ठ, दिपेनकुमार श्रेष्ठ, विष्णु मुस्कानलगायत छन् ।
केसीको टोली चीन भ्रमणमा रहेकै बखत प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमालेका उपमहासचिव विष्णु रिमाल चीन भ्रमणमा गएका छन् । उनी आकस्मिक रूपमा १ असारमा चीन गएका हुन् ।
यसअघि नेताहरूको भ्रमणलाई सार्वजनिक गरिने परम्परा भए पनि रिमालको भ्रमणलाई भने सरकार र एमालेले गोप्य राखेको छ ।
ओलीको भारत भ्रमणको तयारीसँग रिमालको आकस्मिक चीन भ्रमणलाई जोडेर हेरिएको छ । चीनसँगको सम्बन्धमा विश्वासको वातावरण बन्दै गर्दा भारत भ्रमणले पार्न सक्ने प्रभावलाई ध्यानमा दिइ भ्रमण गरिएको बुझ्न सकिन्छ ।
सँगै, भण्डारीको भ्रमणको निरन्तरताको रूपमा पनि रिजालको भ्रमणलाई जोडेर एमाले वृत्तमा चर्चा गरिएको छ ।
यद्यपि, एकपछि अर्को गरी भइरहेको भ्रमण सामान्य छैन । आगामी असार १० देखि नै उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा जाँदै छन् । बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा सहभागी हुन जाने बताइए पनि पौडेलको भ्रमणमा क्रममा पनि राजनीतिक भेटवार्ता हुने सम्भावना छ ।