बिचौलियाको घेराबन्दीमा शासन !-Sutra News

बिचौलियाको घेराबन्दीमा शासन !

बुधबार, ४ असार २०८२

बुधबार, ४ असार २०८२

आजकल सिंहदरबारभित्रको जुनसुकै मन्त्रालय होस् वा सिंहदरबार बाहिरको सर्वोच्च अदालत होस् वा अरू कुनै पूर्ण सरकारी वा अर्धसरकारी वा संस्थान होस्, त्यसको वरिपरि बिचौलिया हुन्छन् ।



‘दलाल’ शब्दकै परिष्कृत रूप हो, बिचौलिया । बिचमा बसेर चलखेल गर्ने व्यक्तिका सन्दर्भमा भनिएको हो । यो हिन्दी भाषीले प्रयोग गर्ने शब्द पनि हो । न्यायालयभित्र बिचौलियाको चरम रूप देखेर नै यो शब्द जन्मिएको होला शायद । अहिले यो शब्दको पर्याय व्यक्तिहरू छ्यापछ्याप्ती छन् ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीका शब्दमा, न्यायाधीश र झगडियाबिच लेनदेनमा मुद्दा मिलाउँछु भनी संलग्न हुने व्यक्तिलाई बिचौलिया भनिन्छ । अर्थात् यिनीहरू न्यायाधीश र झगडिया बिचका सम्पर्क सूत्र हुन् । र बिचका खुँखार खेलाडी पनि हुन् । यस्ता प्रवृत्तिका व्यक्तिहरू न्यायाधीशको घर खोज्दै आइपुग्छन् । न्यायाधीशका घरपरिवारसँग सम्पर्क बढाउँछन्, लोभ देखाउने गर्छन् । लोभिनेहरू सजिलै बिचौलियाको फन्दामा पर्छन् ।

यस्तो लाग्छ कि तिनीहरू त्यहीका कर्मचारी नै हुन्, जहाँ दैनिक काम परेर सेवाग्राही जान्छन् । खानेपानी विभाग देखि घरेलु विभागसम्म, उच्च अदालतदेखि विद्युत् प्राधिकरणसम्म बिचौलियाको बोलवाला हुन्छ ।

प्रधानमन्त्री कार्यालय वरिपरि होस् कि अर्थमन्त्रालय वरिपरि होस्, कालो कोटमा सजिएका, हातमा एउटा ब्याग भिरेका, केही कागजका फाइलहरू च्यापेका झट्ट हेर्दा चट्ट परेका वकिल जस्ता देखिने व्यक्तिहरू बिचौलिया हुन भनेर पहिचान गर्न सुरुमा गाह्रो हुन्छ ।

तिनका नजिकै परियो भने खुसुक्क सोधपुछ गर्छन् ‘हजुरको केही काम थ्यो हजुर ? सरुवा, बढुवा, कुनै आयोजना, ठेक्का, ठेक्कामा पैसा निकासी नभएको ? या प्रधानमन्त्रीज्यूलाई भेट्ने कि अर्थमन्त्रीज्यूसँग भेट्ने कि ? जागिर पो खाने होकि वा कतै संस्थान आयोजनातिर बोर्ड डाइरेक्टर खाली छ भने हामी कुरा पु¥याउँछौ, हजुर जस्तो योग्य मान्छे नभए अरू को हुन्छ हजुर ?’ यस्ता शब्द बोकेर बाचेका हुन्छन् यिनीहरू । यी सबै काम मिलाइदिए बापत बिचौलियाले दह्रो कमिसन लिन्छन् । ठाडै भन्छन्, ‘मन्त्रीको पिएले यति लिन्छन् अनि सम्बन्धित हाकिमले यति लिन्छन् धेरै जनालाई ख्वाउन पर्छ हजुर ।’

यस्तो लाग्छ यिनीहरू भनेका जादुका छडी हुन् । यिनीहरूले चाहे भने जस्तोसुकै काम पनि हुन्छ । यिनीहरूलाई सरकार परिवर्तन हुनु नहुनु, देशको विकास हुनु नहुनुसँग सरोकार छैन । कोही मन्त्री फेरिँदैमा यिनीहरूलाई केही फरक पर्दैन । गहिरिँदै खोजी गर्दै जाँदा ऋषि धमलाको कार्यक्रममा अन्तर्वार्ता दिनका लागि पनि बिचौलियाको प्रयोग भएको सुनियो । नेता बन्ने रहर र सपना पालेर बाचेकाहरू बिचौलियालाई घुस ख्वाएर छिटोभन्दा छिटो धमलाको कार्यक्रममा अन्तर्वार्ता दिन चाहन्छन् भन्ने कुरा समेत सुनियो ।

सिंहदरबार परिसरभित्रका बिचौलिया

नयाँ योजना स्वीकृत गर्नेदेखि पुराना अधुरो आयोजनामा बजेट विनियोजन गर्न योजनासम्मका काम यिनले फत्ते गर्दिन्छन् । अधिकृत वा सम्बन्धित आयोजना प्रमुख वा सम्बन्धित जनप्रतिनिधि आएर काम हुन्न ।

राजनीतिक विचारधारा फरक भए कै कारण पनि योजना अलपत्र पर्न सक्छ । बरु बिचौलियाको कुनै राजनीतिक खेमा हुन्न वा भए पनि उसले देखाउँदैन । पैसा लिनदिन गर्ने अनि आफ्नो काम गर्ने । यहाँ नो राजनीति । काम भइहाल्छ । अहिले राजनीति धार मिल्दैमा काम हुन्न । पैसाले बोल्छ काम हुने कि नहुने भनेर । अदालत वरिपरि बिचौलियाको धुइरो हुन्छन् । खास गरेर मुद्दामा मेलमिलापको परिस्थिति ल्याउन बिचौलियाको ठुलो हात हुन्छ । मिलाइदिए बापत मुद्दा हेरेर लाखौँ लाख होइन करोडौँको डिल हुन्छ ।

प्रधानमन्त्री कार्यालय आसपासमा घुम्ने बिचौलीयाहरू करोडौँको डिल गर्छन् । अझ बजेट भाषण सुरुहुनु पुर्व करिब दुई महिना अगाडि देखि यिनीहरू व्यापक सलबलाउँदा रहेछन् । आजकल कतिपय योजनामा बिचौलिया मार्फत बजेट विनियोजन हुन्छ भन्ने कुरा हामीलाई पत्याउन गाह्रो पर्छ तर आफ्नो प्रोजेक्ट वा आयोजनामा सराकारी बजेट राख्न वा रातो किताबमा नयाँ योजना पार्न बिचौलियाको हात हुन्छ । जिल्ला जिल्लाका जनप्रतिनिधिहरू, गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका अध्यक्ष तथा मोफसलका कार्यालयका सचिवहरू देखि प्रदेश सांसदसम्म यिनै बिचौलियाको सरण पर्नुपर्ने बाध्यता छ ।

बिचौलियाको अर्थ मध्यस्थकर्ता, दलाल वा एजेन्ट हो । यो शब्द कुनै पनि पक्ष बिना दुई पक्षहरू बिच या दुई पक्षहरू बिच मध्यस्थता गरी काम गर्न गराउनका लागि प्रयोग हुन्छन् । मध्यस्थता गराएर काम भए बापत यिनीहरूले कमिसन लिन्छन् । सिंहदरबार भित्र गाउँका सोझासाझा मान्छेले सजिलोसँग प्रवेश पाउँदैनन् । कतिपय अवस्थामा जनप्रतिनिधि पनि गेटमै घन्टौ रोकिनुपर्छ तर भिआइपि भैसकेका बिचौलियालाई मन्त्रीका पिएहरुले प्रवेश पास सजिलोसँग उपलब्ध गराइदिएका हुन्छन् ।

रसुवा घ्याङफेदीबाट एउटा आयोजना सम्बन्धी काम लिएर आएका एक जना व्यक्ति तिन दिनसम्म सिंहदरबार भित्र प्रवेश गर्न गेट पास नपाएर पुनः बिचौलियाको सरण पर्न परेको कुरा बडो दुखका साथ बताउँदै थिए । सिंहदरबारको दक्षिणी गेटमा धाउनु धाए, आफ्नो मान्छे कोही थिएन त्यसैले हैरान भए र अन्तमा बिचौलिया भेट्दा देवदूत भेटेजस्तो भो ।

गाउँ गाउँमा सिंहदरबार पुगिसक्यो भन्यो गणतन्त्रले तर हामी साधारण स्थानीय जनता सिंहदरबार खोज्न काठमान्डु नै आउनुपर्छ त्यसमाथि पनि हामीलाई सिंहदरबार पस्नु स्वर्ग पस्नु जतिकै गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट