भ्रष्टाचार नियन्त्रण : राजनीतिक हस्तक्षेप र कमजोर कानुन-Sutra News

भ्रष्टाचार नियन्त्रण : राजनीतिक हस्तक्षेप र कमजोर कानुन

मंगलबार, ३ असार २०८२

मंगलबार, ३ असार २०८२

भ्रष्टाचार भनेको शासनमा रहेका व्यक्तिहरूले गर्ने अनैतिक आर्थिक व्यवहार हो, जो व्यक्तिगत लाभको लागि सार्वजनिक पद प्रयोग गर्ने प्रवृत्तिबाट सुरु हुन्छ । अहिले नेपालको राजनीतिमा भाँडभैलो चलिरहेको बेला भ्रष्टाचार धेरै मानिसहरूको बानीको विषय बनेको छ । यो यति गहिरो छ कि भ्रष्टाचार एक सामाजिक मानक बन्न पुगेको छ । त्यसैले भ्रष्टाचारले नैतिकताको असफलतालाई जनाउँछ । राजनीतिकरूपमा उचाइ प्राप्त गरिसकेका व्यक्तिहरू भ्रष्टाचारको कारण पतन बनेका उदाहरण थुप्रै छ । नेपालका ठुलो नेतादेखि कर्मचारीतन्त्रको उच्च तहमा पुगेका खम्बा भनिएकाहरू समेत भ्रष्टाचारको कारण भकाभक ढलिरहेको अवस्था छ ।



नेपालमा भ्रष्टाचारका कारणहरू

पारदर्शिताको अभाव : सफलताको नजिकै पुगेको नेपालको खुला अर्थनीति अहिले आएर एक प्रकारले असफल अवस्थामा पुगेको छ । केही महिना अगाडि अमेरिकी राष्ट्रपति ट्रम्पले नै नेपाललाई दिएको सहयोग रकमको खुल्ला दुरुपयोगको बारेमा विश्वलाई बताइदिइसकेका छन् । जब हामी दातृ निकायले दिएको रकम त खुलेहाम भ्रष्टाचार गर्छौ भने अरू के बाकी रहला ?

सरकारी सार्वजनिक प्रशासनमा पारदर्शिताको व्यापक अभाव छ, त्यसैले हरेक वर्ष बेरुजु बढिरहेको छ । भ्रष्ट अभ्यासलाई राजनीतिले थप अवसरहरू प्रदान गरिरहेको छ । जब विकास कार्यहरू र निर्णयहरू सार्वजनिक छानबिनबाट जोगिन्छन्,गलतलाई राजनीतिले छोपिरहेको छ । राजनीतिक आडमा भएको सबैभन्दा डरलाग्दो भ्रष्टाचार अहिले भिजिट भिसा प्रकरणले छर्लङ्ग पारेको छ । यसमा सरकार समेत मिलेर भ्रष्टाचार गरेको भन्ने करिब करिब प्रमाणित भएको छ । यसको जरा कति गहिरो छ भनेर छानबिन गर्दै जाने हो हुने छानबिन गर्ने अधिकार प्राप्त संस्था आफै फस्ला भन्ने त्राहि छ । विगत ७ वर्ष देखि चेक इन सिस्टममै नयाँ प्रविधि जडान गरेर भिजिट भिसामा जाने हरेक नेपालीसँग र पैसा असुलेको भन्ने कुरा आइरहेको छ ।

कमजोर कानुनी संरचना : कानुन र नियमहरू लागू गर्न जिम्मेवार धेरै संस्थाहरू या त कमजोर छन् वा तीनले सम्झौता गरिरहेका छन् । यसमा कानुन प्रवर्तन संस्थाहरू, न्यायपालिका र निरीक्षण निकायहरू समावेश छन् । कमजोर संस्थाहरूले भ्रष्ट व्यक्तिहरूलाई जबाफदेही बनाउन असफल भइरहेको अवस्था छ । अख्तियार दुरुपयोग निवारण आयोगले खुद्रे व्यापारी वा खुद्रे भ्रष्टाचारीलाई कारबाही गर्ने तर अरब र खरबको खेल खेल्ने भ्रष्टाचारीलाई कारबाही गर्न डराउने वा उनीहरूसँग नै मिलेमतो गर्ने प्रवृत्तिका कारण भ्रष्टाचार बढिरहेको अवस्था छ । कानुन फितलो वा कमजोर भएपछि भ्रष्टाचारीलाई अझै थप प्रोत्साहन मिल्न सक्छ ।
भ्रष्ट व्यक्तिलाई अपर्याप्त सजायको कारण दण्डहीनताको धारणाले भ्रष्टाचारलाई थप प्रोत्साहन दिन सक्छ । भ्रष्ट व्यवहारमा संलग्न व्यक्तिहरूले सजायबाट बच्न सकिन्छ भन्ने विश्वासले गर्दा यसमा बढी व्यक्ति संलग्न हुने सम्भावना हुन्छ ।

कम तलब र प्रोत्साहन : आर्थिक अभावका कारण हरेक वर्ष राज्यले कर्मचारीको तलबमा वृद्धि गर्न सक्ने अवस्था रहन्न । ठुला र पहुँचमा पुगेका कर्मचारीलाई भ्रष्टाचार गरेको अकुत सम्पत्तिले पुगेकै छ तर साना कर्मचारी सधैँ अभावमा बाचिरहने हुनाले उनीहरूकै उक्साहटमा कहिलेकाहीँ भ्रष्टाचार हुन्छ ।

सार्वजनिक सेवामा संलग्न कर्मचारीहरूको कम तलब, विशेष गरी तल्लो तहको पदमा बस्नेहरूले उनीहरूलाई घूस खोरी र भ्रष्ट अभ्यासहरूको लागि बढी जोखिममा पार्न सक्छन्, किनकि उनीहरूले भ्रष्टाचारलाई आफ्नो आयको पूरकको माध्यमको रूपमा हेर्छन् । भ्रष्टाचार गर्न अभिप्रेरित गर्ने तत्त्व कम तलबमान पनि हो किनकि जागिर मात्रै खाएर परिवार पाल्न सक्ने हैसियत कमैको मात्र हुन्छ ।

नेपालको जटिल आर्थिक वातावरण, जसमा विभिन्न इजाजत पत्र, अनुमति र स्वीकृतिहरू समावेश छन्,यिनै कुराले पनि भ्रष्टाचारका लागि अवसरहरू सिर्जना गर्न सक्छन् । हाम्रोमा धेरै पेपरवर्कको झन्झटिलो प्रशासन छ । एउटा फाइल लिएर सेवाग्राही घुमिरहेको हुन्छ । उसको दुख र अज्ञानताको फाइदा कर्मचारीले लिन्छ । यस वातावरणसँग सम्झौता गर्न व्यवसायीहरूले घूसको सहारा लिन पर्ने बाध्यता छ । सजिलोसँग हुने कामलाई धेरै घुमाउरो तरिका बनाइदिएर जटिल अवस्था सिर्जना गरिदिनुको कारण घुस खानलाई नै हो भन्ने कुरा बुझ्नुपर्छ ।

राजनीतिक हस्तक्षेप : प्रशासनिक मामिलामा राजनीतिक हस्तक्षेपले सरकारी संस्थाहरूलाई उनीहरूको स्वायत्ततामा सम्झौता गर्न बाध्य पार्न सक्छ । राजनीतिज्ञहरूले व्यक्तिगत वा दलीय लाभका लागि कर्मचारीहरूलाई भ्रष्ट गतिविधिमा संलग्न हुन दबाब दिन सक्छन् । केही सन्दर्भहरूमा भ्रष्ट आचरणको सांस्कृतिक स्वीकृति हुन सक्छ, जसले भ्रष्टाचारलाई निरन्तरता दिन्छ । ‘सबैले गर्छ’ भन्ने धारणाले नैतिक सम्झौता बिना नै व्यक्तिहरूलाई भ्रष्टाचारमा संलग्न गराउन सक्छ ।

आर्थिक सुरक्षा मानिसको पहिलो चासो र चिन्ता हो । जबसम्म व्यक्ति आर्थिक रूपमा आफूलाई सुरक्षित भएको महसुस गर्दैन तबसम्म उसले धन कमाउन खोज्छ । र सोझो हिसाबले पैसा कमिन्न भन्ने सोचाइ अहिले हरेक कर्मचारीको दिमागमा छ । यसैगरी, सामाजिक र आर्थिक असमानताले भ्रष्टाचारलाई बढवा दिन सक्छ, किनकि पैसा र शक्ति भएका व्यक्तिहरूले आफ्नो प्रतिष्ठित जीवन अरूलाई देखाउँछन् र यसको सामाजिक प्रभावका कारण पनि थप भ्रष्टाचार भइरहेको छ ।

जब निजामती सेवाका पदहरूलाई राजनीतिक समर्थन वा घूसका लागि स्थानान्तरणको लागि पुरस्कारको रूपमा प्रयोग गरिन्छ, उच्च तहमा भ्रष्टाचारको अवसरहरू उल्लेखनीय रूपमा बढ्छन् ।निजामती कर्मचारीहरूको तलब निजी क्षेत्रको तुलनामा कम हुन सक्छ, केही कर्मचारीहरूले तलबको भिन्नताको लागि क्षतिपूर्ति गर्न घूसको सहारा लिन्छन् । फाइल स्वीकृत गर्नमा ढिलाइ भ्रष्टाचारको मूल कारण हो किनभने फाइलहरू छिटो स्वीकृत गर्न आम नागरिक दोषी अधिकारी र अधिकारीहरूलाई घुस दिन बाध्य छन् ।

शक्तिको पूजा गर्ने समाजमा सरकारी अधिकारीहरूलाई नैतिक आचरणबाट विचलित हुन सजिलो हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्न धेरै कानुन बने पनि कमजोर कार्यान्वयनले भ्रष्टाचार नियन्त्रणमा बाधा पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट