

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंले गरेकाे निलम्बनकाे कारबाहीविरूद्ध निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे उच्च अदालत पुगेका छन्। आफूमाथि गैरकानुनीरूपमा पदबाट निलम्बनकाे निर्णय गरिएकाे भन्दै पाण्डे अदालत पुगेका हुन् ।
पाण्डेले दायर गरेकाे रिटमाथि अदालतले बुधबार सुनुवाइ हुने जनाएकाे छ ।
गत चैत २१ आफूलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा प्रमुख प्रशासकीय अधिकृत गुरगाईंले पाण्डेलाई जेठ ६मा ७ बुँदे स्पष्टीकरण साेधेका थिए । जुन स्पष्टीकरण चित्तबुझ्दाे नभएकाे भन्दै उनले जेठ २० मा ६ महिनाका लागि निलम्बनको पत्र थमाएका थिए ।
महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ । साेही व्यवस्थालाई टेक्दै उनले यस्ताे कारबाही गरेका थिए ।