

अमेरिकन राइट दाजुभाइले सन् १९०३ मा पहिलो पटक आकाशमा चरा जस्तै उड्ने हवाई जहाजको आविष्कार नगरेका भए आज विश्वको प्रगति यो गतिमा अवश्य हुने थिएन । संसारलाई राजनीतिले होइन, सिर्जना र आविष्कारले नै प्रगति पथमा अगाडि लिएर गएको छ ।
सन् १७६९ मा जब बाफबाट शक्ति पैदा हुन्छ भन्ने कुरा निकोलसले बाष्प इन्जिनको आविष्कार गरेपछि दुनियाँमा एक प्रकारले हलचल पैदा भयो । बाष्प इन्जिन आविष्कार भएको करिब २ सय वर्षपछि मात्रै हवाई जहाजको आविष्कार भएको थियो । यान्त्रिक युगमा दुनियाँ प्रवेश गर्दा मानव जीवन आज प्रगतिको त्यो उच्चतम बिन्दुमा पुगेको छ कि मानिस अब पृथ्वीमा मात्रै होइन दोस्रो ग्रहमा समेत बस्ती बसाल्ने सोचमा आइपुगेको छ ।
इतिहासमा हवाई सेवा र सुरक्षा चुनौती
सन् १८८६ मा जर्मन इन्जिनियर कार्ल फ्रेडरिख बेन्जले ३ पाङ्ग्रे गाडीको आविष्कार गरेका थिए । इन्जिन शक्तिको स्रोत हो, जब यसको आविष्कार भयो तब यो सन्सार आधुनिक विज्ञानका कारण प्रगतिको त्यो घडीमा पुग्यो कि आज सुपरसोनिक हवाई जहाजको विकास सम्भव भएको हो ।
सन् १९४५ देखि २०२१ सम्म संयुक्त राज्य अमेरिका, रसिया, कोलम्बिया, फ्रान्स, मेक्सिको, भारत र युरोपमा सबैभन्दा धेरै हवाई दुर्घटनाहरू भएको इतिहास छ । १९८५ मा जापान एयरलाइन्सको उडान नम्बर १२३ मा एकै पटक ५२० जना यात्रु बोकेको जहाज दुर्घटना भएको थियो ।
१९५८ देखि १९६८ सम्ममा हवाई उडानमा ठूलो विकास हुँदै गयो । उड्डयन सुरक्षा र दुर्घटना अनुसन्धान प्रक्रियाहरूमा सुधार पनि हुँदै गयो । १९६३ मा, अमेरिकामा निर्देशक बबी ओमेलको नेतृत्वमा नागरिक एरोनोटिक्स बोर्डले ओक्लाहोमामा राष्ट्रिय विमान अनुसन्धान विद्यालय खोल्यो । त्यसपछिका दिनहरूमा हवाई सुरक्षा सम्बन्धमा विश्वको चासो बढिरहेको छ । जनवरी १९६५ मा क्यानाडामा भएको तेस्रो ठुलो हवाई दुर्घटना पछि अनुसन्धान बैठकले दुर्घटनास्थललाई विश्वव्यापी रूपमा आधार बनायो । र प्रस्ताव नागरिक एरोनोनॉटिक्स बोर्ड निर्माण भयो । १९०३ मा हवाई जहाजको आविष्कार भएपछि १९४५ देखि व्यापारीक उडान सुरु हुनु र त्यसपछिका दिनहरूमा जहाजहरू दुर्घटनामा पर्न थाल्नुले हवाई सुरक्षा चुनौतीमा नयाँ–नयाँ नीति निर्माण हुन थाले, हवाई यातायात विकासलाई आश्चर्यजनक प्रगतिका रूपमा विश्वले हेर्न थाल्यो ।
नेपालको अनुभव
सन् १९०३ देखि २०२५ सम्मको यो १२२ वर्षको यात्रामा हवाई यातायात मानव जीवनको अपरिहार्य प्रगतिको साक्षीका रूपमा उपस्थित भएको छ । नेपालको इतिहासमा हवाई सेवा यात्राको इतिहास केवल ६७ वर्षको मात्रै छ ।
विं.सं. २०१५ सालमा शाही नेपाल वायुसेवा निगमको रूपमा स्थापित हालको नेपाल वायुसेवा निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक कम्पनी हो ।
नेपाल वायुसेवा निगमले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा आफ्नो नियमित उडान सञ्चालन गर्न थाल्यो । डगलस डिसी–३ ‘डकोटा’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो ।
२०७७ असार २९ सम्ममा निगमद्वारा कुल ७ विमान सेवामा प्रयोग गरिएको थियो । वि.सं २०६९ देखि निगम लगायत नेपालका सबै वायुसेवा प्रदायक युरोपेली मुलुकमा समेत उडान भर्दै आएकोमा केही समय देखि राजनीतिक चलखेलका कारण सेवा विस्तार खुम्चिएको अवस्था छ । नेपाल साना विमान बाहेक ठुला हवाई दुर्घटना सन् १९९२ मा थाई एयरको विमान रसुवाको घ्याङ फेदीमा दुर्घटना भएको थियो जसमा ११३ जनाले आफ्नो जीवन गुमाए अनि त्यही वर्ष पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना हुँदा १६७ जनाले आफ्नो अमूल्य जीवन गुमाए । हेलिकप्टर र अरू साना दुर्घटनाहरू पनि भएका छन् ।
आकाश सुरक्षित कि जमिन ?
सिधै भन्नुपर्दा जमिनभन्दा आकाश धेरै सुरक्षित छ । यसको मतलब होइन कि हवाई यातायात दुर्घटना नै हुँदैन तर, जमिनमा गुडिरहेका गाडीहरू जति लापरबाही ढंगले सञ्चालन हुन्छन्, त्यो प्रक्रियामा हवाई जहाज सयौँ गुणाले सुरक्षित हुन्छ । गाडी यातायातमा कम्प्रोमाइज हुन्छ, पाङ्ग्रा हावा कम भए पनि केही हुन्न, वर्षा, बाढी, हिलो, धुलो बाटो बिग्रिएको चालकले लागू पदार्थ खाएको, अत्यधिक ट्राफिक जाम भएको, अत्यधिक गतिमा गुडाएको इत्यादि कुरामा जमिनमा गुड्ने सार्वजनिक होस या निजी अत्यधिक दुर्घटनामा परिरहेका हुन्छन्, तर आकाशमा ती कुरा हुन्नन् । जमिनमा चालकले ओभर टेक गर्छ दुर्घटना निम्त्याउँछ, आकाशमा पनि जहाजको उड्ने आफ्नै बाटो हुन्छ त्यो बाटो मिस गर्न चालकलाई अनुमति नै हुन्न । हवाई जहाज जहाँ–जहाँ पुग्छ, त्यहाँ त्यहाँ एयर ट्राफिक कन्ट्रोलको नियन्त्रणमा हुन्छ ।
जमिनमा रहेको एयर ट्राफिक कन्ट्रोल रूमबाट जहाज नियन्त्रित हुन्छ । एउटा एटिसी अफिसरले आकाशमा उडान भरिरहेको पाइलटलाई कारबाही गर्न सक्छ ।
जमिनमा गुड्ने बस चालकले ट्राफिकको इसारा कतिपय अवस्थामा बेवास्ता गरेर हिँड्ने गर्छन् । जमिनमा जति लापरबाही हुन्छ त्यसको ठिक विपरीत आकाशमा करिब जिरो लापरबाही हुन्छ । त्यसैले पनि हवाई यात्रा भन्दा जमिनको यात्रा बढी असुरक्षित हुन्छ ।
किन जहाज दुर्घटनामा पर्छन् ?
हवाई सुरक्षा नीतिमा दिन प्रतिदिन परिमार्जित हुँदै जान्छन् । ब्ल्याक बक्सको जाँच परीक्षाले उडान गर्दा जहाज कसरी के कारण दुर्घटना भयो भन्ने कुरा पत्ता लाग्छ । दुर्घटना हुँदाको समयमा पाइलट र एटिसि टावरको बिच कस्तो कुरा भयो ? र, चालकले कस्तो रिपोर्टिङ गर्न भ्यायो ? वेदरको कारण हो या यान्त्रिक गडबडी भएर जहाज दुर्घटना भएको हो त्यो बारेमा जहाजमा भएको ब्ल्याक बकस भित्र कुराकानीले दुर्घटनाको कारण पत्ता लाग्छ ।
कहिलेकाहीँ मुटु बन्द अर्थात् हर्ट अट्याकको कारण मानिस घर्लप्प ढल्नु र उडान भर्दै गरेको जहाज धर्तीमा खस्नु उस्तै हो । मानिसमा शारीरिक गडबडी,प्लेनमा यान्त्रिक गडबडी । भुईँमा हुँदासम्म १०० प्रतिशत इन्जिनियरिङ ठिक नभएसम्म जहाजलाई उडान गर्ने अनुमति हुँदैन, तर आकाश मार्गमा पुग्नासाथ इन्जिन फेल खान्छ,जस्तो सद्धे मान्छेको मुटु फेल खान्छ । प्रायः जसो अहिलेसम्मको हवाई दुर्घटनाको इतिहास अध्ययन गर्दा टेकअफ (भुईँ छोडेर आकाश मार्ग लिँदै गर्दा)को समयमा र ल्यान्डिङ ( आकाश मार्गबाट जमिनमा उत्रँदै गर्दा)को अवस्थामा जहाज बढी दुर्घटना भएको पाइएको छ । यो समय भनेको जहाजको सबै यन्त्रहरूले आआफ्नो ठाउँबाट अनिवार्य काम गर्नुपर्ने हुन्छ । आफूले उडाइरहेको जहाजको यान्त्रिक कस्तो रूपमा छ त्यो ककपिटमा रहेको पाइलटलाई स्वयंलाई अवगत हुन्छ । यदि आफ्नो फ्लाइट असुरक्षित लाग्यो भने आफू नजिक रहेको एटिसि टावर अधिकृतलाई खबर गर्छ र बचाउको नीति अवलम्बन गर्न थाल्छ ।
नजिकै रहेको विमानस्थलमा अवतरणको अनुमति माग्नेदेखि उडान इन्जिनियर/प्राविधिकसँग सरसल्लाह लिनेसम्म काम त्यही अवधिमै हुन्छ । कतिपय प्राविधिक गडबडी छ भने सामान्य अवस्थामा ल्याउने काम समेत आकाशमै पनि हुन्छन् । तर, भवितव्यता भन्ने कुरा प्रकृतिको हातमा छ । नियमित आकस्मिकता । समग्रमा भन्दा स्थल मार्ग भन्दा हवाई मार्ग ९० प्रतिशतले सुरक्षित छ ।