थप आक्रामक शैलीमा उत्रिए इजरेल र इरान, के छ पछिल्लाे युद्धकाे अवस्था ?-Sutra News

थप आक्रामक शैलीमा उत्रिए इजरेल र इरान, के छ पछिल्लाे युद्धकाे अवस्था ?

आइतबार, १ असार २०८२

आइतबार, १ असार २०८२

काठमाडाैं । इजरेलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रह्यो भने दुवै तर्फबाट एक अर्काको देशमा गोलाबारी जारी छ। इजरेली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले शनिवार राति मध्य इजरेलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ।



इजरेल डिफेन्स फोर्सेस आईडीएफले पनि राति नै तेहरानमा हवाई आक्रमण गरेको बताएको छ। उसले इरानको रक्षा मन्त्रालयसहित इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरूलाई आफूले निसाना बनाएको बताएको हो।

इरानको सरकारी टेलिभिजनका अनुसार इजरेलमा ‘व्यापक ड्रोन’ आक्रमण सुरु गरेको छ।

पछिल्लो इरानी हमलामा परेर मध्य इजरेलमा कम्तीमा चार जनाको ज्यान गएको र १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ। तेल अभिभको दक्षिणमा रहेको बात याम क्षेत्रमा एउटा भवनमा इरानले प्रहार गर्दा ती व्यक्तिहरूको मृत्यु भएको बताइएको हो।

इजरेलको आकस्मिक सेवाका अनुसार मारिनेमा ६९ र ८० वर्षका दुई महिला, एक जना १० वर्षे बालक एक जना बालिका रहेका छन्।

इरानले तम्राह क्षेत्रमा पनि आक्रमण गरेको इजरेली सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि धेरै इजरेली समाचार संस्थाहरूका अनुसार देशको उत्तरस्थित हाइफा नजिकैको आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण छ।

त्यसलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। इरानले रातभरि दुई पटक गरेर कैयौँ क्षेप्यास्त्रहरू इजरेलमा प्रहार गरेको थियो।

इरानको तेल मन्त्रालयका अनुसार इजरेलले तेहरानको शाहरान तेल डिपो र त्यहाँस्थित इन्धन भरिएका ट्याङ्कीहरूलाई निसाना बनाएको छ। यद्यपि उसले स्थिति नियन्त्रणमा रहेको जनाएको छ।

अर्कोतर्फ इरानले प्रहार गरेको क्षेप्यास्त्रका कारण इजरेलको हाइफा अइल रिफाइनरीमा आगो लागेको भिडिओ आएको छ र त्यसलाई बीबीसीले पुष्टि गरेको छ।

इरानको सरकारी टेलिभिजनले आइफा र तेल अभिभलाई लक्षित गर्दै इजरेलमा १०० भन्दा बढी क्षेप्यास्त्रहरू प्रहार गरेको बताएको थियो।

यसैबीच, आइतवार हुने भनिएको अमेरिका-इरान परमाणु वार्ताको अर्को चरण अगाडि नबढ्ने भएको छ। उक्त वार्ताको मध्यस्थता गरिरहेको ओमनका विदेशमन्त्री बद्र अल्बुसैदीले त्यसबारे जानकारी दिएका हुन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यो आइतबार मस्कटमा हुने तय भएको इरान-अमेरिका वार्ता अब हुने छैन तर कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र बाटो हो।”

यसअघि इरानका विदेशमन्त्रीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अमेरिकासँग वार्ता जारी राख्नु “न्यायपूर्ण नहुने” बताएका थिए। बीबीसीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट