

बारपाक मिलनटाेलकी शीला घले, खिम्गु गाउँकी आशामाया घले र पोखरी टोलकी घाममाया घले त्यो दिन फेरि मलाई भेट्न आए।
भुकम्प पछिको पुन: निर्माणका लागि एउटा आइएनजिओको प्रतिनिधित्व गरेर गएको छु म। थुप्रो दातृ निकाय सल्बलाएका छन् गाउँमा तर कामले खासै प्रगति हासिल गरेको थिएन।
“जो पनि आउँछन्, गफ गर्छन्, अन्तर्वार्ता लिन्छन्, जान्छन्। हाम्रो गाउँको भातु मोत्रै खान आकान”
आशा मायाले साह्रै बिरक्ती पोखिन्।
“मन्तरीदेखि राष्ट्रपति साम्मु आइन् क्यार। काम त केही हुन्न। गाउँ-गाउँ, टोलि-टोलिको लर्को खोइ क्यान आउँदा हुन् ? केही बुझ्या होइन। सदरमुकामबाट गुनासो संकलन गर्न आउँछन्। तिन्लाइत राम रमाइलो पो भाछ। भत्ता तिन्का पाक्छन तर, हाम्लाई केही न क्यै। गुनासो संकलन पोको पारेर लग्यो सहर गयो फुकायो। दुखीको आँसु र घाउ देखाएर भिख माग्छन् आइएनजिओ, एनजिओ र सरका । सुनिन्छ भुकम्प पीडितका नाउँमा आएको करोडौं रकम भ्रष्टाचार भएको छ रे, तर हाम्रो ढालेको घर अझैसम्म उठेको छाइना पो यस्तो पनि हुन्छता कहि ?
अस्ति सदरमुकाम सिडियोको पिएलाई फोन गारेको युरोपेली युनियनको टाेली आउँदै छा रे ! जो-जो आए पनि के काम ? आबु त हामी कालो झन्डा देखाउनु मात्रै बाँकी छा। दातृ निकायले दिएको सहयोग रकम मात्रै सदुपयोग हुने हो भने सरकारले आफ्नो पैसानै खर्च गर्न पर्दैनथ्यो, जस्को घर ढालेको छा खुरुखुरु आएर हेर्नू रकम ढालेको घर अगाडि आएर बाड्नु नी, साक्किगोनी जो पीडित छा, उस्ले नपाउनु अनि बारपाकमा घर छा भनेर सदरमुकाम बस्नेलाई बोलाइ-बोलाइ सायोग गार्नु यो ता स्थानीय निकायलाई जिम्मेवारी बनाउन नासाकेको हो सर यो ता मेरो बिचारमा होइ ? ”
खिम्गु गाउँकी आशामाया घलेले लगातार बोलेको मैले सबै रेकर्ड गरे। गाउँ सिङो जुर्मुराएका छन् यतिबेला। भुकम्पले सारा गाउँलेलाई दुखी, आतंकित, घरवारबिहीन र आफन्तबाट छुटायोनै तर सँगै चेतनशील पनि बनाएछ भन्ने कुरा मैले बुझे।
उता कुना पट्टि मौन बसेकी शीला घलेलाई सोधे मैले- “शीला ! तिमी चुपचाप छ्यौ नि, कहिले जाने सहर ? अब रिजल्ट हुन कति दिन बाँकी छ रे ? एसएलसी पास गरेसी यतै जागीर पो खाने कि बरु ?”
“सहर जाने सपना बिचमै टुंगियो सर।”
“किन र ? अस्ति त भन्दैथ्यौ काठमाडौं जाने उतै पढ्ने।”
“आमा बाबाको म एक्लि छोरी बाबा घाइते हुनुभाथ्यो पालिले थिचेर। दुवै खुट्टा भाचिएको थिए। उपचार त्यति राम्रो भएन पन्ध्र दिनअघि बित्नु भो। म त बाबाको बरखीमा छु सर !”
“हरे शिव ! कस्तो दुखको खबर सुनायौ शीला तिम्ले।”
“अब म त टुहुरी भएनि सर ! बाबाको सपना थियो मलाई नर्स बनाउने।”
“सपना देख्न छोडनु हुन्न शीला।”
“कहिले पूरा नहुने सपना किन देख्नु र ?”
“सपनाहरू पूरा हुनलाई देखिन्छन् नि।”
“पूरा गर्नको लागि सामर्थ्य पनि हुनुपर्छ। एक्ली गरीब आमाले मलाई अब कसरी खर्च धान्न सक्छिन र सर ?”
“रिपोर्टिङ गर्यौत सम्बन्धित निकायमा ?”
“हजूर गरे।”
“भुकम्प पीडित घाइतेको मृत्यु भएको परिवारलाई पनि सरकारले सहयोग गरिरहेको छ नि। तिमी त झन पढेलेखेको केटी चनाखो हुनुपर्छ नि।”
“जो जतिसुकै चनाखो भए पनि मृत्युले लाटो र चनाखो भन्दैनरेछ सर ! लास भइसकेपछी गिद्द्लाई खुवाउने शरीर त हो, कस्को पो सहयोग चाहियो र ! सहयोग भनेको लुटपाट गर्दै हिड्ने जाली फटाह र जान्ने-सुन्नेले त पाउने रहेछन नि !”
घाममाया घलेकी फुपूकी छोरी रैछन् शीला घले। गालाको भिरबाट तप्किरहेको आँसु पुछिदिइन् उन्ले।
“खानु त पुगिहाल्छ रुखो सुखो आ…. नानी आँसु नदेखा आफ्नो कमजोरी अरुलाई देखाएर के फाइदा ? दुखीको चुलोमा आगो बाल्न कोहि आउदैनन आफैले बाल्नुपर्छ।”
म पनि एक्छिन भाव्हबिहल भए।
शीला घले जस्लाई म हिमकन्या भनेर सम्बोधन गर्थे, उनैको बाबा बितेको कुराले खै किन हो, मलाई यति धेरै भावुक बनायो। अगाडि उभिएको बुद्ध हिमाल पनि रोए जस्तो लाग्यो। शीलाले आँसु पुछी। सरलाई चिया बनाएर ल्याउछु भनी उ तल ओर्लि।
घाममाया घलेले फापरको रोटी बनाएर ल्याइन्।
फापरको रोटी चिया र लोकल आलुको तरकारी हामी सबैले मीठो मानेर खान थाल्यौ। अतिथिलाई रक्सी र मासुले सत्कार गर्नुपर्ने रहेछ। तर मलाई दुवै चिज नचल्ने। मैले मासु नखाएकोमा खिन्न मान्दै थिए उनीहरू।
मेरो मोबाइलमा टिआइ नेपालको जिल्ला अधिकृतको फोन आयो। टिआइ नेपाल आफै नीति-निर्माण र कार्वान्यन तहमा छैन तर यस्ले बितरण तहमा न्याय सङ्गत ढंगले काम भयो की भएन भनेर काम गर्छ र माथिल्लो निकायमा रिपोर्टिङ गर्छ। उहाँलाई त्यहाँ का प्रायः स्थानीयले राम्रोसँग चिन्दारहेछन्। टिआइ नेपालको एउटी असल जिल्ला अधिकृतका रूपमा उहाँले आफ्नो पहिचान बनाउनु भएको रहेछ। बारपाकमा थुप्रैपटक जनगुनासो संकलन र माथिल्लो दातृ निकाय समक्ष पेश गरेका रिपोर्टिङको आधारमा कामहरू भैरहेका रहेछन्। शीला घलेले भनिन्।
रुपिङ होटेलको दिदीले एउटा गुनासो गरिन्। अस्ति उनी काठमाडौंबाट गोर्खा आउँदा बाटोमा एकजना गाउँले भेटिछन्।उन्को काठमाडौंको बनस्थलीमा पनि घर रहेछ। गाउँमा जग्गा मात्रै देखाको भरले घर भत्कियो भनेर सर्जमिन गराइ भुकम्प पीडितको सुबिधा लिइरहेका रहेछन्। यो सरकारको कस्तो नीति हो ? जो साचो भुकम्प पीडित हो, उ सुबिधाबाट बन्चित छ र नक्कली भुकम्प पीडितले मिलिभगतमा सुबिधा लिइरहेका छन्। यस्को छानबिन हुन सकिरहेको छैन।
र, यहि कारण युरोपियन युनियनका र अरु दातृनिकायले दिइरहेका सुबिधाको यस्तो दुरुपयोग भएपछि भुकम्प पीडित सम्बन्धि सम्पुर्ण कार्यक्रम नै रद्ध गर्ने संभावना बढीरहेको छ सर, यो सम्बन्धि एउटा रिपोर्ट हजुरले तत्काल माथिल्लो निकाय समक्ष पेश गर्नुपर्यो।
दिदीको कुरा नसकिदै शीलाले अरु थपिन्- “गुनासो संकलन गरेर लिएर गएका मान्छेले भन्दा गुनासो नै नगरेका मान्छेले सुबिधा लिएको देखियो यो कसरी हो ? मैले बाबाको उपचार गर्न सकिंन, बाबा बित्नु भो तर अरु हुनेखाने मान्छेहरुले पहिलो-दोस्रो किस्ता लिएर भोजभतेर गरिरहेका छन्। नियम किन गरिबलाई मात्रै लागू हुन्छ ?”
“भुकम्पका निहुँमा कति धनी भएका छन्। कयैन ब्यापारीले भुकम्पकै नाउँमा कमाएका छन्। एउटा निहुँ त चाहिदो रहेछनी सबलाई यहाँ। बारपाकको नाम भजाएर कतिले बिदेशबाट सहयोगको लागि रकम जम्मा गरे। तर ती रकम उठाउने नै धनी भए। बिदेशीले दिएको चामल पनि पीडितलाई सहि ढंगले बितरण गर्न नसकेर कुहाएर फाल्यो सरकारले। भोकमरीमा भात खान नपाएका पीडित जनता कति छन् बस्तीमा तर त्यही अनुदानमा आएको चामल लिएर कतिले रक्सी बनाएर ब्यापार गरे। हुनेखाने र पहुँच भएका मान्छेलाई यो देशमा जति भुकम्प आए पनि जति अनिकाल परे पनि केही आपत्ती छैन सर !”
“हिउँ जस्तै गोरी हिमकन्याको बिचारलाई सलाम।”
अलिकति प्रशंसा गरे मैले शीलाको- “आज त म होटेल नबसेर होमस्टेमा जानी हो। कस्कोमा जाउ खै ? कसैले जाउ पनि भन्दैनन हो ?”
खिम्गु गाउँकी आशामायाले भनिन्- “मेरोमा जाउन हो सर।”
शीलाले फेरि “मेरोमा जाउ ” भनिन्। एक्छिन हानथाप भो।
अन्तमा शीलासँगै जाने भए म। उन्लाई अलिकति सम्झाउनु पनि थियो। निरासाले घेरेका मान्छेहरुलाई अलिकति हौसलाले पनि धेरै महत्वपूर्ण काम गर्छ। बिचरी भर्खर परिक्षा दिएर बसेकी।
पोखरी टाेलमा शीलाको मामाघर रहेछ।
मामाकै निर्देशनमा शीलाले शिक्षा-दीक्षा हासिल गरेकी रहिछन्। बुबा बित्दा पनि उन्कै मामाले सहयोग गरेछन्। मामा बुद्धिमान घले भुपु ब्रिटिश लाहुरे। बेलुकी अरु सबैसँग बिदाबादी भएर म शीलाको मामाघरमा अतिथी बन्न गएँ। लिवाचे टाेलकी ऐरानी घले पनि त्यहि भलाकुसारी गर्दैरैछिन्। म पुगेपछि उनी खुसी भइन् र बोल्न थालिन्। दिउँसो एउटा एनजिओले बोलाएछ मिटिङ सकेर त्यही बाटो भएर उभो जान लागेको रे!
“आच्यु हाम्रो सर पो ! यतै हुनुहुँदो रहेछ सदरमुकामबाट कहिले फिर्नु भो कुन्नी ?”
ग्रामीण बोलिमा कस्तो मीठोपन हुन्छ है ! शहरमा कोहिसँग कसैको मतलब रहन्न। साँच्चै जिन्दगी भनेको पहाडी जीवन पो हो। अलिकति बिकट र दुख छ र मात्रै पो है !
ऐरानी घलेले शीला घलेलाइ सम्झाएर गइन्।
“ल नानी सरलाई राम्रोसँग खुवाइ पियाइ गराउनु है।”
सुर्यले बुद्द हिमालको शीरमा पहेलो रङ्गको ढाकाटोपी लगाइदियो। वारि पहाड पारी हिमाल। वारि घुर्मैलो साँझ। पारी चाहिँ हिउँको टुप्पोमा दीयो बले जस्तो कस्तो मनमोहक दृश्य। यो साँझको दियो बाल्ने बेला हो।
पहिलो चोटि मैले शीलाकोआमालाई भेटे। बिधवा भैसकेकी यो उमेरमा कस्तो नरमाइलो नसुहाउँदो घटना। तर के लाग्छ। जिन्दगी एकै छिनमा के हुन्छ, कुनै टुंगो हुँदैन शीला, उस्की मामाकी छोरी र माइजू भएर मिलिजुली खाना बनाउन लागे। शीलाले उस्को आमालाई मेरो परिचय दिइन्। र फेरि म शीलाकी आमासँग गफिन थाले। मामा पनि धेरै भलाद्मी रहेछन्। भुइचालोमा मामाको कलिलो छोरा परेको कुरा सुन्नुपर्दा ज्यादै नरमाइलो अनुभूति भयो। कतिका घरका खुसी छिनिएको छ। र पनि मान्छेले मान्छेलाई बिभेद गर्छ। मानिस जहिले पनि आफू मात्रै अजम्बरी छु भन्छ। प्रकृतिले कहिले विभेद गर्दैन। किन सिक्तैन मानिसले प्रकृतिबाट ?
शीला घलेकी आमा भन्दै थिइन्- “भुइचालोले मलाई बिधवा बनाएर गयो यहि एउटाी छोरी छे। भाइको कलिलो छोरा पनि बित्यो। भाइको छोराको पिर हुँदाहुँदै फेरि मेरा घाइते श्रीमान पनि बित्नु भो। चोट माथी चोट किन थपिदिन्छन् देउताले पनि। शीला आज अलिक खुसी छे। खोइ किन हो ? सर आएदेखि यस्को मलिन अनुहारमा हासो पो देख्छु म।”
शीलाले मकैको भात र फापरको साग बनाएर ल्याइन्। चौरी गाइको पियोर दूधसँग मुछेर मकैको भात खानुको मजा अर्कै थियो।
“हातमा के जादु छ तिम्रो शीला ?
“के भो र सर ?”
“कति मीठो छ नि मकैको भात र फापरको साग।”
“मीठो छ त भन्न परिहाल्यो नि ?”
“के भनेकी, मीठो भएर त मीठो भनेको नि ?”
“नमिठाे भए पनि मीठो भएर खानु हुँदोरहेछ खुसी लाग्यो ?”
“सबैभन्दा मीठो के हो था छ शीला ?”
“भन्नुन के हो सर ?”
“भोक !”
“ह्या त्यो पो हो ? म त अरु नै केही महत्वपूर्ण कुरा भन्न लाग्नुभो भनेर मक्ख परेकी, कस्तो ढुक-ढुक बढेको थ्यो मेरो तपाईंलाई के थाहा ?”
“के कुरा भन्दिए हुन्थ्यो भनेर सोचेकी थ्यौ र ?”
“केही होइन। कुरा पनि सोचेर बोल्छन त ?”
“आमोइ कुरा पनि नसोची बोल्नु हुन्छ र ?”
“सोचेर बोल्ने मान्छेकाभित्र एउटा कुरा बाहिर अर्को कुरा पो हुन्छ ?”
हामी कुरा गर्दै थियौ। बटुकाभरी महि खन्याएर शीलाकी आमा लिस्नु चढेर माथी चोटामा अचार लिन गइन्। मामा छिटो-छिटो खाएर बाहिर गोठ जानू भो। हिउँ जस्ती हिउँकन्या शीला र म गफिन थाल्यौ फेरि। खाना खाएपछि मलाई माथी जस्ताले छाएको बार्दलीमा ओछ्यान् लगाइ दिइन्। बत्तिको धिमा उज्यालोमा पारी मनिडाडाका घरहरुबाट उज्यालो आइरहेको थियो। अलिकति पारी बुद्द हिमाल पनि अध्यारोमा लम्पसार निदाएको छ।
हिउँको सिरानी, हिउँकै तन्ना अनि हिउँकै बर्को ओढेर निदाएको बुद्द हिमालले फेरेको चिसो श्वास मन्द गतिमा मतिर आइरहेको थियो। तातोपानीको थर्मस राखेर शीला तल गइन्। होमस्टे भन्नासाथ स्थानीय परिवारसग बसेर उनीहरूले आफू जे खान्छन् त्यही खाना खाने र उनीहरूको संस्कार संस्कृतिको बारेमा जान्ने बुझ्ने अनि उनीहरू कै घरमा सुत्ने हो।
अतिथी सत्कारमा कुनै कमि राखिनन् शीलाले।
भोलिपल्ट बिहानै मलाई सदरमुकाम आउनु थियो। हिड्ने बेलामा शीलाले फूलको माला र टीका लगाइ दिइन् र हातमा बसको टिकट पनि। उन्का चम्किला आँखा ओसिला थिए।
“सर अब फेरि कहिले आउनुहुन्छ ?”
“आउँछु नि हिमकन्या हेर्ने निहुँ गरेर भए नि आउँछु।”
“को रे छे त्यो भाग्यमानी हिमकन्या ?”
“तिमी !”
शीला एक्छिन् निहुरिरही। गाला राता भए उन्का। केही बोलिनन्। भैतिर हेरिरहिन्। एक्छिन मौनता छायो। बुद्द हिमालको उज्यालो उन्को गालाभरी चम्किरहेको थियो। माला लगाइदिएपछी पनि उन्ले एउटा गुलाफको फूल पछाडि लुकाएर राखेकी रहिछ। मलाई दिइन्।
“तपाईंको बारपाककी हिमकन्याको एउटा कोसेली।”
उन्को ओठमा खुसीको हिउँ पग्लिरहेको थियो। बस हर्न बजाउँदै माथी बाटोमा आइपुग्यो। मैले भने -“बस आयो म जान्छु है अब ?”
“हरेक गोधुली साँझमा ताराहरु चम्किन्छन् सम्झना बोकेर चादनीको, हरेक मिर्मिरे बिहानीमा बिलिन्छन् सपना रोपेर सुर्य किरणमा !……कस्तो मीठो कविता छ हजुरले लेखेको मैले हिजो डायरीमा देखेको !”
हिड्ने बेलामा हिमकन्याले कति मीठो वाचन गरिन् त्यो मेरो छोटा कविता। म भुतुक्क्कै भएँ। बसको झ्यालबाट हात हल्लाउँदै म बिदा भएँ। एउटा पहाडले नछेकिएसम्म उनी मलाई हेर्दै हात हल्लाउँदै बाइ-बाइ गर्दै थिइन्। म बसको सिटम थुचुक्क बसे र सोचिरहे …के फेरि जिन्दगीमा हिमकन्यासँग भेट होला त ?