कतै इतिहासका भीम मल्ल जस्तै त बनाइँदै छैनन् बालेन ?-Sutra News

कतै इतिहासका भीम मल्ल जस्तै त बनाइँदै छैनन् बालेन ?

बिहिबार, २९ जेष्ठ २०८२

बिहिबार, २९ जेष्ठ २०८२

भीम मल्ल आजभन्दा ३७० वर्ष अगाडि कान्तिपुरका राजा प्रताप मल्लका तत्कालीन सेना नायक (प्रधान सेनापति) थिए । त्यो बेलाको कुटनीति शास्त्र बुझेका कूटनीतिक ज्ञातासमेत थिए भीम मल्ल । कान्तिपुरमा जन्मेका काजी भीम मल्लले राज्य विस्तार तथा व्यापारको कामसमेत गरी कान्तिपुर राज्यको आर्थिक समृद्धिका लागि अथाह योगदान समेत पुर्‍याएका थिए । तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले उनलाई आफू विरुद्धको गाथगाथी (राजगद्दी) ताकेर भक्तपुरका राजा जितामित्र मल्लसँग मिलेको आरोपमा मृत्युदण्ड दिइएका थिए ।



नेपालको इतिहास नै त्यसरी निर्माण भएको छ कि खराब मान्छे सत्तामा र असल मान्छे बाटोमा । भीम मल्ल मात्रै होइन, भीमसेन थापाको पनि त्यही हविगत भएको छ । सोझा र राष्ट्रप्रति बफादार रहने व्यक्ति जहिल्यै सत्ताको आँखाको तारो हुन्छ ।

नेपाली इतिहासमा काजी भीम मल्लको योगदानको बारेमा अतुलनीय बयान गरिएको छ । नेपाल भोटको व्यापार उन्नति, कूटनीतिक सम्बन्ध बिस्तार, देखि छिमेकी देशहरुसँगको कूटनीतिक निर्माण तथा नेपाल मण्डलको रक्षाका निमित्त अहोरात्र खटिएका भीम मल्ललाई एक दिन राजा प्रताप मल्लको आदेश पालक सैनिकद्वारा वसन्तपुर दरबारको मूलद्वारमै काटियो । यो दुःखद घटना वि.सं. १७०६ माघ ३ गते घटेको थियो ।

नेपाली इतिहासमा भीम मल्लले खराब काम गरेको तथ्य कतै पनि भेटिन्न । उनी निर्दोष एवं कान्तिपुर राज्य तथा राजाप्रति पूर्ण समर्पित थिए । काजी भीम मल्लकी धर्मपत्नी भुवनलक्ष्मी मल्लले ‘देशको भलाई गर्न चाहने कुनै पनि व्यक्तिको यो देशमा कहिल्यै पनि राम्रो नहोस्’ भन्ने श्राप दिएर पतिको चितामा बसेर सती गएकी थिइन् ।

यो देशमा राम्रो काम गर्नेको पछाडि खराब काम गर्नेहरूको विरोध हुन्छ, किनकि राम्रो काम गर्नेको लोकप्रियताको कारण खराब काम गर्नेको अवमूल्यन हुन्छ । यहाँ खराब मान्छेसँग कुनै डर छैन जति असल मान्छेसँग डर छ । कुलमान घिसिङको क्रेज देखेर सरकार आफै त्राहिमान भयो । अहिलेको सरकारले असलहरूलाई पहिलो निशाना बनाएर काम गर्दै छ । अहिले मेयर बालेनको हकमा पनि यही नीति लागू भइरहेको छ । कान्तिपुर महानगरका अहिलेका मेयर र आजभन्दा ३७० वर्ष पूर्वका काजी भीम मल्लले कान्तिपुरको समृद्धिका लागि गरेको योगदान करिब उस्तै उस्तै छ । युवा बालेन आफै इन्जिनियर हुन ।

बालेन साह मेयर भइसकेपछि कान्तिपुर महानगरको छवि कति उज्यालो भयो र युवा जगतमा उनको लोकप्रियता कति चुलियो त्यसको तुलना आजभन्दा ३७० वर्ष अगाडि कान्तिपुर नगरमा काजी भीम मल्लले पुर्‍याएको योगदानको चर्चित इतिहासको पाना खोज्नुपर्छ र निर्दोष भीम मल्ललाई कसरी तत्कालीन राजाले छक्काएर हत्या गरे इतिहासले भनेकै छ । अहिले सत्तामा भएका पार्टीहरू हात धोएर बालेन सिध्याउ अभियानमा लागेका छन् र उनीमाथि अख्तियारको मुद्दा सुरु भएको छ । बालेन नेपालका ठूला नेता र ठूला पार्टीका लागि एक चुनौतीपूर्ण पहाड भएर उभिएका छन् । बालेनको एक इशारामा राप्रपाले अस्ति गरेको जनआन्दोलन भनेर नाम दिएको सडक आन्दोलनको भन्दा सयौँ गुणा मानिस सडकमा उर्लन सक्छ । उनका समर्थक त्यति धेरै छन् अहिलेका ठुलो पार्टीका नेताहरू कल्पना गरे भन्दा बाहिरको कुरा हुन जान्छ ।

बालेनसँग कुनै चुनौती छैन, उनी आफै खराबहरूका लागि चुनौती बनेका छन् । नेपालमा परम्परागत राजनीति अब असफल भैसकेको छ । टेस्टेड नेता र नेतृत्वलाई अहिलेका युवाहरूले क्रमशः नरुचाउने दिन आइसकेको छ । बालेनसँग नेपालका वर्तमान सबै पार्टीहरूलाई डर छ कि उनले पार्टी खोलेर राजनीतिमा आउने हुन कि भन्ने । अहिलेको सरकार समृद्धितर्फ होइन असल मान्छेलाई सिध्याउन तर्फ गोताखोर लाउँदै छ ।

सरकार बालेन सिध्याउ अभियानमा हात धोएर लागेको छ । उनी र उनका समर्थकतर्फ अब अनेकौँ झुटो मुद्दाहरू लगाउन सुरु भएको छ । यहाँ बालेनलाई देवत्वकरण गर्न खोजिएको होइन । जसरी महावीर पुन, डाक्टर सन्दुक रोइत, विद्युत् प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङ जस्तै मेयर बालेन पनि आफ्नो कामले चम्किएका हीरा हुन जो नेपाली इतिहासमा कसैले पनि कलंकित रूपमा देख्न चाहँदैनन् ।

अहिलेका सत्ताधारी खास गरेर दुई पार्टी एमाले र नेपाली काङ्ग्रेस जसरी बालेनको विरुद्धमा हात धोएर लागेका छन्, त्यसको विरुद्धमा एन्टि मोर्चा पनि तयार हुँदै छ र बालेनलाई पार्टी खोल्न बाध्य पारिँदै छ । अहिलेको युवा जत्थाले सबैभन्दा रुचाइएका बालेन हुन उनलाई रुचाइएको उनको अनुहार र उनको ब्याटल गीतले होइन उनी २०७९ मा मेयर भइसकेपछि उनले गरेको कामले गर्दा नै हो । सरकार जति बालेन विरुद्ध जान्छ त्यति नै बालेनको पक्षमा जनमत तयार हुन्छ ।

बालेन बलियो हुनको पछाडि वर्तमान सरकारले गरेको भ्रष्टाचारको फाइल निरन्तर खोलिँदै जानू पनि हो । सरकार जति भ्रष्ट हुँदै जान्छ बालेन उति नै लोकप्रिय हुँदै जानेछन् । सरकार विरुद्धको मोर्चामा यदि बालेनले आह्वान गरे भने सरकार आफैलाई गाह्रो हुने छ । सरकारले यदि बालेनलाई इतिहासको भीम मल्ल बनाउन खोज्यो भने पुराना भनिएका पार्टीहरू ८४ को चुनावमा आफै सक्किने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट